भैरहवा-रुपन्देहीको भैरहवाबासीले लामो समयदेखि छाडा चौपायाको समस्या झेल्नुपरेको छ । सडकमा चौपाया जम्मा हुँदा यातायात सञ्चालनमा अवरोध पुग्ने गरेको छ । छाडा चौपायाले सहरको सौन्दर्यीकरणमा असर पुराउनुका साथै दुर्घटना बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्ल्लो ३ वर्षमा भैरहवा क्षेत्रमा १० वटा दुर्घटना छाडा चौपायाका कारणले भएका छन् । आव २०७५/०७६मा १ वटा, २०७६/७७ मा ७ वटा र २०७७/७८मा २ वटा दुर्घटना भएकोमा जसबाट १३ वटा चौपायाको मृत्यु र ४ वटा घाइते भएका छन् । दुर्घटनाबाट ५ जना यात्रु समेत घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक दिवस जिसीले जानकारी दिए ।
भैरहवाको मुख्य बजार बैंकरोड, गल्लामण्डी, विपीपथ, लुम्बिनीरोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराजमार्ग लगायतका स्थानमा पशु चौपायाका कारण आवगमनमा पनि अवरोध हुने गरेको छ ।
छाडा चौपायाको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नागरिक समाजको चर्को दबाबका बीच समस्या समाधानमा चासाे देखाएकाे थिएन ।
चौतर्फी दबाबका कारण अबको एक वर्षमा समस्या समाधन हुने योजना बनाएको नगरपालिकाले जनाएको छ । छाडा चौपाया व्यवस्थापनलाई मध्यनजर गर्दै नगरपालिकाले आन्तरिक स्रोतबाट नै बजेट विनियोजन गरेको हो ।
हालै मात्रै प्रस्तुत गरेको नगरपालिकाको २०७८–७९को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार छुट्याइएको छ ।
छाडा पशु चौपायाले रुपन्देहीमा दुर्घटनाको जोखिम बढी रहेको र सौन्दर्यता माथि पनि प्रश्न उठ्ने गरेकोले चौपाया व्यवस्थापनलाई दीर्घकालिन योजना सहित समाधान गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताए ।
‘हामीले भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि २–२ लाख बजेट छुट्याएका छौ।’ उनले भने ‘नगरपालिका क्षेत्रमा दुर्घटनामा परेका चौपायाको उपचार र छाडा चौपाया व्यवस्थापनको यातायातमा सो रकम खर्च हुनेछ।’
यस्तै सिद्धार्थनगरकै वडा नम्बर ११ सिसवामा रहेको सार्वजनिक जग्गामा कान्जी हाउस (पशु बन्दी गृह) निर्माण गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।
नगरपलिकाको स्वामित्वमा करिब ११ विघा जग्गा सो क्षेत्रमा छ, त्यसमध्ये केही जग्गा चिस्यान केन्द्रका लागि प्रयोग हुने बाँकी ठाउँ कान्जीहाउसको लागि छुट्याइएको मरासिनीको भनाइ छ । ‘कान्जीहाउस निर्माणका लागि साउन महिनाको सुरुवातसँगै प्रक्रिया अघि बढाउछौ।’ उनले भने ‘एक वर्ष भित्र नगरभित्र रहेका छाडा चौपायालाई त्यहा राखेर तिनीहरुका संरक्षण, उपचार र पालनपोषण हुन्छ।’
छाडा चौपायाले दुर्घटना बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले तत्कालका लागि छाडा चौपाया धनीको पहिचान गर्ने अभियान समते चलाएको छ ।
‘हामीले केही चौपाया धनीलाई पहिचान गरिसकेका छौ, तथ्याङक संकलन जारी छ। छिटै नै नगरपालिकासँग समन्वय गरेर सम्झाई बुझाई गर्ने वा कानुन बमोजिम कारबाही गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय लिन्छौं।' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले भने ।