सैनामैना -रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आज साइकलयात्रा गरिएको छ ।
नगरपालिकाको करिब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएको सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए । साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ७० व्यक्ति सहभागी रहेका थिए ।
स्थानीय मुर्गिया बजारबाट शुरु भएको यात्रा गर्न करिब सात घण्टा लाग्ने अनुमान गरिएको छ । उनीहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकनसमेत गर्नेछन् ।
“यसबाट पर्यटन प्रवद्र्धन हुनाका साथै ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पहिचान हुनेछ”, नगरप्रमुख कार्कीले भने। सो नगरपालिकालाई पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्रका रुपमा मानिँदै आएको छ। रासस