सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिकामा शनिवार एकैदिन तीन महत्वपूर्ण आयोजनाहरुको शिलान्यास गरिएको छ ।
नगरको समग्र विकासका लागि मेरुदण्डको रुपमा मानिएका आयोजनाहरुको निवर्तमान उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र नगर प्रमुख चित्र बहादुर कार्कीले शिलान्यास गरेका हुन् ।
पुर्व अर्थमन्त्री पौडेलले पश्चिमको पशुपतिनाथ भनेर चिनिने श्री पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाम र सैनामैनाको मुर्गियामा बन्ने १५ शैयाको आधारभुत अस्पतालको भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् ।
त्यसैगरी नगर प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकाको वडा नं ८ र ९ को नदी उकास जग्गामा निर्माण हुने विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण कार्यको शिलान्यास गरे ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले एकै दिन पर्रोहा बोलबम धाम मन्दिरको पुन निर्माण कार्य र १५ सैयाको अस्पताल निर्माणको शिलान्यास हुनु सैनामैनाको विकासको इतिहासमा महत्वपूर्ण उपलब्धि रहेको बताए ।
उनले नगरमा रहेका महत्वपूर्ण आयोजनाहरु मध्ये पर्यटकीय सम्भावना बोकेको यस धामलाई आर्कषण धाम र साँस्कृतिक केन्द्रको रुपमा विकास गर्दै धामको महत्वपूर्ण उचाइलाई अझै माथि उठाउन आफुले प्रयास गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
पौडेलले धामको पुन निर्माणको कार्य प्रभाकारी ढंगले समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । उनले आयोजनालाई सम्पन्न गर्नका निम्ति केन्द्रिय तहबाट थप स्रोत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्माण सम्पन्न गर्न नगर सँगै नगरवासी समेत चनाखो बन्नुपर्नेमा जोड दिए । सैनामैनालाई आधुनिक र व्यस्थित शहरकोे रुपमा विकास गर्न चाहेको पौडेलको भनाई छ ।
ऐतिहासिक महत्व बोकेकोे बोलबम धाम क्षेत्रको समग्र विकास गर्ने गरि गुरुयोजना तयार गरि पहिलो चरणमा मन्दिरमा पुनःनिर्माणको काम सुरु भएको सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको भनाई छ ।
हाल पर्रोहा बोलबम धाम मन्दिर क्षेत्रमा रहेका भौतिक पूर्वाधारहरु केहि जिर्ण र अव्यवस्थित रहेकोले यि संरचना हटाई नयाँ मन्दिरको निर्माण गर्न लागिएको सैनामैना नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सुरज न्यौंपानले जानकारी दिए । उनका अनुसार मन्दिरमा रहेका बाँकी संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने भएकोले नयाँ मन्दिर निर्माणको गुरुयोजना तयार गरिएको हो ।
२३ कठ्ठा जग्गामा निर्माण हुने मन्दिरको मुल मन्दिर प्यागोडा शैलीमा निर्माण हुनेछ । जस अन्तर्गत प्यागोडा शैलिको मुल मन्दिरमा कलात्मक काठ, ढुङ्गा, दक्षी इट्टाको प्रयोग हुनेछ भने दुई तामाको छाना सहित मन्दिर बन्नेछ ।
नयाँ बन्ने मन्दिरमा रुद्धाभिषेक गर्न सतल, चारै तिर पञ्चायन मन्दिर ( प्यागोडा शैली ), पानीको फोहोरा, अग्नी शाला, पर्खाल, सटर भवन, कलात्मक गेट, चन्द्रामा आकारको १०८ शिवलिङ्ग रहेको कुण्ड, प्रशासनिक भवन, पाँच सय केजीको घण्ट, हनुमान थान, ५७ फिटको त्रिशुल डमुरु, आश्रम, पाठशाला लगायत रहनेछन् । ५४ फिट उचाई रहेको प्यागोडा शैलीको दुई तला मुल मन्दिरको क्षेत्र ११४० वर्ग फिट रहनेछ ।
नेपाल सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत साझेदारीमा करिब ७ करोडको लागतमा बोलबम क्षेत्र विकास परियोजनामा स्वीकृत भएको थियो ।
जसअनुसार ६ करोड ९९ लाख लागत अनुमान गरिएकोमा ६ करोड ५७ लाख ९६ हजार ३६ मा धर्म आर आर जेभिले ठेक्का सम्झौता लिएको छ । २०७८ साल असार ३ गते ठेक्का लिएको कम्पनीले २०७९ मंसिर २९ गते निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।
१५ शैयाको अस्पतालको निर्माण सुरु
रुपन्देही क्षेत्र न.२ का संघीय सांसद समेत रहेका पौडेलले १५ शैयाको अस्तालको शिलान्यास गर्दै सम्पुर्ण नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्यका साथ सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अघि बढाएको बताए ।
सैनामैनाको जीवनस्तरलाई माथि उठाउन र नगरका जनताको औसत आयु बृद्धि गर्नका लागि आधारभूत अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने पौडेलको धारणा छ ।
अस्पताल निर्माणका लागि सरकारले बजेट प्रबन्ध गरेको बताउँदै उनले निर्माण हुने क्रममा भुक्तानी क्रमिक रुपमा हुँदै जाने बताए । पौडेलका अनुसार स्तरीय सेवा प्रदान गर्ने योजनासहित आधारभूत अस्पताल निर्माण हुन लागेको हो ।
उनले भने – “अस्पतालमा डाक्टर, नर्स र दक्ष जनशक्ति हुन्छन्, जसले गर्दा नगरवासीले पर्याप्त सेवा सुविधा सहित उपचार प्राप्त गर्नुहुनेछ ।” महत्वपूर्ण आयोजनाको समयमै गुणस्तरीय तरिकाले निर्माण सम्पन्न गर्न उनकोे आग्रह छ ।
सैनामैनाका महत्वपूर्ण आयोजनाहरु मध्ये लामिरह बहुउद्देश्य बाध, सैनामैना चक्रपथ लगायत विकासका आयोजनाहरुको निर्माण हुने प्रक्रिया समेत अघि बढेको पौडेलले जानकारी गराए । उनले व्यवस्थित नगरको रुपमा अगाडि बढाउनका लागि तीनै तहका सरकारलाई स्थानीय नागरिकले साथ दिन आवश्यक रहेको समेत औल्याए ।
अस्पताल निर्माणले नगरकोे बिकास तथा विस्तारमा थप सघाउ पु¥याउने नगर प्रमुख कार्कीको विश्वास छ । उनका अनुसार निर्माण हुने अस्पताल भवन भित्र बहिरङ्ग विभाग( ओपीडी) अन्तरङ्ग विभाग ( आपिडी, अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवा लगायतका इकाई रहनेछन् ।
कुल ११ करोड ३६ लाख लागत रहेको उक्त अस्पताल २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनी विच सम्झौता भएको हो । यसको संरचना ५० शैयाको अस्पताल निमार्ण गर्न सक्ने क्षमताको रहेको छ ।
एसेम्बल प्लान्ट
यता नगरको वडा नं ८ र ९ को नदी उकास जग्गामा निर्माण हुन लागेको विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण कार्यको शुभारम्भ गर्दै नगर प्रमुख कार्कीले नगरको विकासको महत्वपूर्ण आयोजनाका रुपमा लिइएको बताए ।
नगरप्रमुख कार्कीका अनुसार भडसी, भडसा र शङ्करपुर गरी तीनवटा टोलको करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाले सुन्दर यातायात प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिएको हो ।
सैनामैनामा नेपालको इतिहासमै पहिलो पटक ठूलो वैदेशिक र स्वदेशी लगानीमा एसेम्बल प्लान्टको निर्माण कार्य सुरु भएको कार्कीले दाबी गरे ।
कार्कीका अनुसार सैनामैना नगरपालिका र सुन्दर यातायात प्रालि बिच भएको सम्झौता अनुसार निर्माण प्रक्रिया सुरु गरिएको हो ।
सुन्दर यातायातको भगिनी कम्पनी सुन्दर अटो इन्जिनियरिङमार्फत यो प्लान्ट सैनामैनामा स्थापना हुन लागेको हो ।
प्लान्टलाई नगरको गौरवशाली आयोजनाका रुपमा लिएको बताउँदै कार्कीले एक वर्ष भित्र साढे ३ अर्ब भन्दा बढीको लगानी सहित कम्पनी स्थापना भइ सञ्चालनमा आउने जानकारी दिए ।
प्लान्टको सञ्चालनले स्थानीय, प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै कार्कीले ठूलो मात्रामा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुने कार्कीको भनाई छ ।
सैनामैना नगरपालिका प्रमुख कार्की र सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापाकावीच निर्माण गर्नै कार्य सम्झौता भएपछि नेपालमा पहिलोपटक नगरमा एसेम्वल प्लान्ट स्थपनाको लागि काम सुरु भएको हो ।
अध्यक्ष थापाले विद्युतीय गाडी आयात गरेर चलाउनुभन्दा आफ्नै देशमा एसेम्बल प्लान्ट स्थापना गर्न सकियो भने सानादेखि ठूला सबै सवारी साधन बनाउन सकिने र मूल्य पनि कम पर्ने बताए । प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुनेछ ।
चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा २० देखि २२ लाख रुपियाँ सस्तो पर्ने कम्पनीले जनाएको छ ।
स्वदेशमा नै प्लान्ट बनेपछि सवारी बिग्रिँदा वा पार्टपुर्जा चाहिँदा विदेशको भर पर्नुपर्ने बाध्यता हट्नेछ । प्लान्टमा प्रत्यक्ष रूपमा ३ सय जनाले रोजगारी पाउनेछन् । जसमा २ सय ५० जना नेपाली कामदारले प्रत्यक्ष रुपमा रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।