भैरहवा -रुपन्देहीको मर्चवारमा तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गतका घर समयमा निर्माण सम्पन्न नहुँदा २४ परिवार अलपत्र परेका छन। कोटहीमाई गाउँपालिकामा विपन्न परिवारका लागि निर्माण हुनुपर्ने घर निर्माण कम्पनिले समयमा सम्पन्न नगर्दा विपन्न परिवार बिचल्लीमा परेका हुन्। घर बन्ने आशमा रहेका ती परिवारहरुले त्रिपाल र छानाको घरमा जसो तसो जिवन गुजारीरहेका छन्। घर बन्ने आशमा ओत लाग्ने ठाँउ नै भत्काएर घर निर्माणमा लागेपनि निर्माण कम्पनिको लापरवाहीले अहिले उनीहरु अरुको घर र त्रिपालको ओतमा बस्न बाध्य भएका छन् ।
तराई–मधेश समृद्धि कार्यक्रम अन्र्तगत कोटहीमाईमा २४ घर निर्माणको जिम्मा अन्सुमन निर्माण सेवा कम्पनिले लिएको थियो । घर निर्माणको लागि २०७७ मंसिर ८ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । ६ महिना १८ दिन अर्थात २०७८ जेठ २५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ६१ लाख ४ हजार लागतमा बनाउने सम्झौता भएको थियो । तर ८ महिना बितिसक्दा समेत कुनै पनि घर निर्माण सम्पन्न भएको छैन ।
‘हामीले घर पाउने आशमा आफु बस्दै आएको घर उजाडेर निर्माणका लागि दिएका थियौं। तर अझै पनि कहिले घर बन्छ निश्चित छैन।’ कोटहीमाई –१ परस्पुरका ६० वर्षीय राम उजागिर हरिजनले भने । श्रीमती, छोरा बुहारी र नातिनातिनीसहित ६ जना परिवार रहेको हरिजन गाउँपालिकाले टीनको घर बनाउने भएपछि पुरानो घर भत्काएर अहिले घर अगाडी त्रिपालले बनाइएको टहरामा बस्दै आएका छन ।
कोटहीमाई–१ कै तिवारीपुर टोलमा दैनिक ज्यालादारीमा काम गरी फुसले बनाइएको छानोमा ७ परिवारसहित बस्दै आएको बलिराम राजभरको पीडा पनि उस्तै छ । ३ महिनादेखि निर्णाधिन जस्तापाताको एककोठे घर उस्तै छ ।
यस्ता दुखेसो २४ घर परिवारकै छ, निर्माण कम्पनिका प्रतिनिधी महिना दिनभयो हेर्न आएको छैन निर्माण कार्य परैको कुरा हो । सम्पर्क गर्न खोज्दा आफूूसंग पैसा छैन, पैसा भएपछि बनाइदिन्छु भनेर जवाफ दिने गरेको अनिल राजभरले बताए।
निर्माण सम्पन्न हुनुपर्ने घर अहिले कुनै जग मात्र पुरेर बसेको छ भने कतै पर्खाल ठडाएर छाडिएको छ । ‘जनप्रतिनिधीहरुलाई यसबारे अवगत हुँदा समेत हामी विपन्न परिवारलाई कसैले साथ दिएको छैन, निर्माण कम्पनिलाई जानकारी गराइदिन्छौ भन्ने आश मात्र दिएका छन्’ कोटहीमाई–३ कुडसरका त्रिलोकी धोबीले सुनाए ।
गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले आफ्नै छोरालाई ठेक्का दिएर गरिब घरपरिवारसंग खेलवाड गरेको कोटहीमाई–१ का स्थानीय चन्दन तिवारीले आरोप लगाए । यस्तो लापरवाहीबारे गाउँपालिकाको प्राविधिक शाखालाई पटकपटक जानकारी गराए पनि कामप्रति कुनै वास्ता नभएको तिवारीको भनाइ छ । गाउँपालिका अध्यक्षचन्द्रभुषण यादवलाई जानकारी भए पनि ठेकेदार आफ्नो छोरा भएकोले आफ्नो कर्तव्यबाट पन्छिन खोजेको तिवारीले बताए ।
घर निर्माणको लागि गाउँपालिका अध्यक्ष यादवकै छोरा विकास यादवले ठेक्का पाएका छन् । निर्माण कार्यको म्याद पार गरेर नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि सबै घरहरु अलपत्र रहेको कोटहीमाई गाउँपालिकाका इञ्जिनियर अरबिन्द कुमार यादवले बताए।
निर्माण कम्पनीले कोरोना महामारी, निषेधाज्ञा र वर्षाको कारण ढिलाई भएकोे भन्दै म्याद थप गर्न निवेदन दिए पनि म्याद थप भएको छैन । कम्पनीले गरेको कार्यको मुल्यांकन गरी गाउँपालिकाले करिब ५० प्रतिशत मात्र भुक्तानी गरिसकेको इन्जिनियर यादवले बताए।
कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले गरीब घर परिवारको समस्याबारे आफुलाई पनि जानकारी आएको सुनाए। ‘गाउँपालिका अध्यक्षको छोरोको निर्माण कम्पनी हो, उनले जति काम गरेका छन्, प्राविधिकको मूल्यांकन अनुसार त्यति मात्र भुक्तानी गरिएको छ ।’ उनले भने ‘सबै घर समयमै सम्पन्न गर्नुपर्ने हो । कम्पनीले के कति कारणले काम गर्न नसकेको हो गाउँपालिका अध्यक्षसंग सल्लाह गरेर आवश्यक परे कानूनी कारवाहीमा पनि जानुपर्ला।’
गाउपालिका अध्यक्ष यादवसँग भवनबारे बुझदा आफुलाई यसबारे केही जानकारी नभएको भनि कुरा गर्न खोजेनन्। निर्माण कम्पनिका संचालक विकास यादवलाई पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्।