बालबालिका अबोध हुन्छन् । निश्चल हुन्छन् । छलकपटरहित सफा मनका हुन्छन् । खिलखिलाएको कोमल पूmल जस्ता हुन्छन् । तर आदिम कालदेखि नै बालबालिकाको अबोधपनको फाइदा उठाउँदै समाजमा उनीहरूमाथि अनेक प्रकारका शोषणहरु हुने गरेको छ । बालबालिकाको शोषण अहिले नेपाली समाज तथा गाउँघरमा पनि बग्रेल्ती देखापर्न थालेको छ । त्यसो त पहिला यस्ता घटनाहरु नहुने होइनन्, हुन्थे ।
तर यस्ता घटनाहरु छोपिन्थे, दबाइन्थे र बाहिर प्रकाशमा त्यति धेरै आउँदैन्थे । पहिला पहिला नैतिक मूल्यमान्यतामाथि बढी नै जोड दिइने हुनाले त्यस्ता घटना निकै कम हुन्थे । हिजोआज भने आधनुकिकरणसँगै नैतिक मूल्य, मान्यता र आदर्शमा ठूलो ह्रास आएको छ । त्यसैले सडक बालबालिका होऊन् या घरपरिवारमा बस्ने बालबालिका होऊन्, असुरक्षित छन्, उनीहरु शोषणमा पर्ने, पीडित हुने घटनामा निकै वृद्धि भएको विभिन्न तथ्यांकहरुले देखाएको छ ।
मानसिक शोषणः
बालबालिकालाई धम्क्याउने, त्रसाउने, डराउन दिने तथा खिसीटिउरी गर्ने, बेइज्जती गर्ने तथा ब्लैकमेल गर्ने जस्ता कार्यहरु बाल मानसिक शोषण अन्तर्गत पर्दछन् । यस किसिमको शोषणले बालबालिकाको मनमा चोट पर्ने र मानसिक समस्याहरु जन्माउने संभावना हुन्छ । नेपाली समाजमा कलिला बालबालिकाहरुले यस किसिमको शोषण घर भित्र, घर बाहिर, स्कूलमा समेत भोगेको देखिन्छ ।
शारीरिक शोषणः
बालबालिकाहरु स्वाभावैले चञ्चल हुन्छन् । उनीहरुको चञ्चलतालाई ठूला भनिएका अभिभावकले रुचाउँदैनन् । अनि शान्तिसँग बस्ने उपदेश दिन्छन् । त्यति गर्दा पनि मानेनन् भन्ने ठाने भने अभिभावकले पिट्ने, कोठामा थुनिदिने, खाना नदिने, हातखुट्टा बाँधेर राखिदिने आदि जस्ता अपराधिक कार्यहरु गर्न पनि पछि पदैनन् ।
यस्तो गर्नु भनेको बालबालिकाको नजरबाट आफू गिर्नु त हुदै हो, भविष्यमा घरमै एउटा विद्रोही पाल्नु पनि हो । अज्ञनताका कारण खासगरी हाम्रो गाउँघरमा यस किसिमको शोषण भइरहेको देखिन्छ । बाँध्ने, निर्घात कुटपिट गर्ने तथा आगोले पोलिदिने लगायतका कार्यहरु शारीरिक शोषण भित्र पर्दछन् भने बालबालिकाको शरिरमा नीलडाम देखिनु, कोतारेको दागी भेटिनु, हातखुट्टा भाँचिनु शारीरिक शोषणका उदाहरणहरु हुन् ।
यौन शोषणः
सामान्यतः यौन शोषण भन्नेबित्तिकै बालिकाहरुमाथि हुने शोषण बुझिन्छ तर बालकहरु पनि यौनिक रुपमा उत्तिकै शोषित हुन्छन्, हुने गरेका छन् । युनिसेफले गरेको एउटा अनुसन्धानअनुसार हाम्रो समाजमा बालिकामाथि हुने यौन शोषण भने निकै डरलाग्दो छ । घरपरिवारकै र आफन्तले नै यस्तो काम गरिरहेका हुन्छन् ।
बच्चाहरुलाई लोभ्याएर, कुनै सामानको लाभ देखाएर, त्रसाएर, धम्क्याएर बच्चाको गोप्य अंगमा छुने आदि विभिन्न घृणित कार्यहरु गरी शोषण गरिरहेका हुन्छन् । बालबालिकालाई अश्लिल चलचित्र, फोटो वा विज्ञापनमा प्रयोग गराउने जस्ता क्रियाकलापहरू पनि बाल यौनशोषण अन्तर्गत नै पर्दछन् ।
यस्ता क्रियाकलापहरू बालबालिकालाई झुक्याउ“दै अनेक प्रलोभन देखाएर अथवा दवावमा पारेर गरिन्छ । कतिपयले भने बालबालिकालाई उनीहरूको विश्वास जितेर नजिकको अभिभावकको रुपमा प्रस्तुत गरेर पनि यौनजन्य क्रियाकलाप गर्ने गरेका छन् । बालबालिकाले नबुझ्ने गरी बालबालिकाको इच्छाविपरीत तथा उनीहरुलाई बेफाइदा हुने कार्य सबै शोषण कार्य हुन् ।
बाल यौन शोषणमा यौन मात्र नभएर रक्सि, लागुपदार्थ जस्ता पदार्थहरुको पनि धेरै दूरुपयोग हुने गर्छ । बाल यौन शोषण हालैमा बढ्दै गइरहेको समस्या हो । १३ देखि १५ बर्षसम्मका नवयुवाहरु सबभन्दा असुरक्षित भएको मानिन्छ तर यो भन्दा साना उमेरका नानीहरु पनि खतरामा भएको भेट्टाइएको छ ।
बाल वेश्यावृत्तिः
बाल वेश्यावृत्ति र व्यावसायिक बाल यौनशोषण एक अर्कासँग सम्बन्धित रहेका हुन्छन् । बालबालिकामाथि गरिने व्यावसायिक यौनशोषणलाई बाल वेश्यावृत्ति भनिन्छ । बालबालिकालाई उनीहरूको मञ्जुरी लिई वा नलिई गरिने यौनजन्य कार्य गराउनु नै बाल यौनशोषण हो । बालबालिकालाई बाल वेश्यावृत्तिमा लगाउनु जघन्य अपराध हो र यो अपराध मानव बेचविखन तथा ओसारपसारको अपराधभित्र पर्छ ।
बाल वेश्यावृत्तिमा परेका बालबालिका यौन संक्रमणमा विभिन्न रोगबाट ग्रस्त हुनुका साथै उनीहरूको जीवनसमेत बर्बाद हुने स्थिति सृजना हुन सक्छ । तसर्थ कानुनले यसको कडा सजायको पनि व्यवस्था गरेको छ । यद्यपि यस्ता अपराधिक कार्यमा लगाउने पीडकले पीडितलाई कानुनी पहुँचभन्दा टाढा राखेका हुन्छन् ।
विशेषगरी मानव बेचविखन ओसारपसारका तरिकाको मध्यमबाट बालबालिकालाई झुक्याई ललाईफकाई प्रलोभनमा पारेर डरत्रास देखाउ“दै आफ्नो परिवारबाट अलग राखी यौनजन्य कार्यमा संलग्न गराइन्छ ।
बालबालिका बेचबिखनः
कुनै पनि उद्देश्यले बालबालिका बेच्न वा किन्ने, बालबालिकाका अंग झिक्ने, कुनै पनि फाइदा लिएर वा नलिएर उनीहरुलाई वेश्यावृत्तिमा लगाउने जस्ता क्रियाकलापहरू गराउने जस्ता कार्यहरू बालबालिका बेचबिखन अन्तर्गत गर्दछ ।
बालबालिकामाथि यौनशोषण तथा श्रमशोषणको माध्यमबाट आर्थिक उपार्जन गर्नका लागि पनि बालबालिका बेचविखन तथा ओसारपसारका कार्यहरू हुने गरेका छन् । बालबालिकाको स्वतन्त्रताको हनन् गर्दै उनीहरूमाथि हुने यौनशोषण, श्रमशोषणका साथै अन्य दासपूर्ण व्यवहारहरू बालबालिका बेचविखन र ओसारपसार अपराधको एउटा स्वरुप हो ।
सुरुसुरुमा देह व्यापारमा संलग्न गराउनका लागि महिला तथा बालिकाको मात्र बेचबिखन हुने गरेको थियो भने अहिले आएर व्यक्तिको श्रमशोषण गर्ने, मानव अंगको व्यापार गर्ने, बालबालिका र महिलालाई व्यवसायिक रुपमा नै प्रयोग गरेर यौनशोषण गराई फाइदा लिने गरिन्छ ।
यस्ता कार्य अविभावकको स्वीकृति लिएर वा नलिएर दुवै तरिकाले गरिन्छ । बालबालिकाको यौन शोषणको कार्य स्वभाविक रुपमा मानव मानव बेचविखन तथा ओसारपसारको अपराध हो र १६ वर्षमुनिका बालिकालाई उसको सहमतिमा नै यौनसम्पर्क गरेमा पनि नेपालको कानुनले त्यसलाई बलात्कारको अपराध मान्दछ ।
बालश्रम शोषणः
आदिमकालदेखि नै बालबालिकामाथि हुने गरेको अर्को शोषण हो बालश्रम शोषण । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ । बालश्रमिकको रुपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, असजग र गरिब परिवारका पाइन्छन् । बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँदछ ।
किनकी बालश्रमको कारणले बालबालिकाले शिक्षाबाट हासिल गर्नुपर्ने ज्ञान, तालिम र सीप गुमाउँदछ । बाल ऐन २०४८ ले १६ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ र उनीहरूलाई बालश्रमिकको रूपमा काम गर्न कडा प्रतिबन्ध लगाएको छ । यद्यपि १४ देखि १६ वर्षका बालबालिकाले प्रतिदिन निश्चित ६ घण्टा मात्र काम गर्न पाउँदछन् । उनीहरूले लगातार ३ घण्टा काम गरेपछि आधा घण्टा आराम गर्न पाउनु पर्दछ ।
कुनै पनि रोजगारयुक्त कार्य जसले बालबालिकाको बाल्यकालमा दखल दिन सक्छ, स्कुल जानबाट रोक्छ वा मानसिक, सामाजिक र शारीरिक रुपमा असर गर्नेलाई नै बालश्रम भनिन्छ । संसारभरि नै बालश्रम कानुन विपरित मानिएको छ ।
कानूनले १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउनु गैरकानुनी घोषणा गरेको छ तथापि श्रमको कुनै पनि क्षेत्र बालश्रम र शोषणबाट मुक्त हुन सकेको छैन । बालबालिकालाई काममा लगाउनुको मूल कारण नै श्रम सम्बन्धी ऐन कानुनको अपर्याप्तता र अप्रभावकारी कार्यान्वयन हो ।
आजका बालबालिका भोलिका कर्मठ नागरिक हुन् । बालबालिका परिवारका मात्र होइन, समाज र राष्ट्रका पनि मेरुदण्ड हुन् । त्यसैले मेरुदण्डलाई हुर्काउँदा परिवारले, समाजले तथा राष्ट्रले धेरै कुराको ध्यान दिनुपर्ने हुन्छ । जबसम्म समाज शिक्षित हुँदैन, तबसम्म यसप्रकारका शोषणहरु भइनैरहन्छ ।
जान्ने बुझ्ने ठूला व्यक्तिले त आफूमाथि भएको शोषणलाई प्रतिवाद गर्न सक्छन्, विरुद्धमा बोल्न सक्छन् तर बालबालिकाले त आफूमाथि शोषण भइरहेको समेत चाल पाउँदैनन् । आफूलाई अप्ठेरो परेको कुरा अरुलाई गुनासो पनि गर्न सक्तैनन् । गुनासो गरे पनि पत्याइदिने व्यक्ति कोही हु“दैनन् । त्यसैले बालबालिकाले आफ्ना अभिभावकहरुसँग केही भन्न खोजेमो तिनका कुराहरु ध्यानपूर्वक सुन्नुपर्छ ।
उनीहरुलाई यस प्रकारको शोषण भयो भने कसरी त्यसबाट उम्कने तथा मुख खोल्ने आदिको शिक्षा पनि दिनुपर्छ । सकेसम्म बालबालिकाहरुलाई एक्लै छाड्नु हुँदैन । बालबालिकाले यो मान्छेसँग बोल्दिन, म एक्लै घरमा बस्दिनँ भनेर प्रतिक्रिया जनाएमा यसको संकेत बुझ्नुपर्छ । स्कुलमा वा स्कुल बसमा वा घरमा एक्लै काम गर्नेस“ग बस्न नखोजेमा अभिभावकले जबरजस्ती गर्नु पनि हुँदैन ।
धेरै बालिका यस्तै बेला शोषित भएका छन् । मामा, काका वा हेल्पर जो भए पनि यदि बालबालिकाहरुले मन नपराएको संकेत पाइयो भने अभिभावक सतर्क हुनुपर्छ । उनीहरुको मनोभाव बुझ्नुपर्छ ।
यस्तो अवस्था के कारणले हुन्छ भनी बुझ्नुपर्छ । कतै त्यहाँ बालबालिकामाथि जबरजस्ती त गरिएको छैन ? कतै उनीहरु बलात्कृत त भएका छैनन् ? शंका गर्नुपर्ने हुन्छ । अभिभावकले त्यस्ता आशय नबुझ्दा समाजमा शोषण र बलात्कारका धेरै घटना भएको देखिएको छ ।
त्यसैले बढीभन्दा बढी समय आफ्ना सन्तानलाई दिने, उनीहरुका कुरा सुन्ने गर्दा अभिभावकलाई आफ्ना सन्तानले विश्वास गर्छन् । उनीहरुले नयाँ कुरा सुनाउँछन्, पीडाका कुरा सुनाउँछन् । यसबाट धेरैजसो समस्या समाधान हुनसक्छ । प्रमुख कुरो यस किसिमका यौन क्रियाकलाप र शोषणहरुबाट बालबालिकालाई बचाउन सरकारले कडा कानुन बनाउन र शोषणका बारेमा सजग गराउन जनचेतना फैलाउन आवश्यक छ ।
बक्समा राख्ने ।
बाल शोषण र यौन पर्यटक
इन्ड चाइल्ड प्रोस्टिट्युसन इन एशियन टुरिजमले २०१६ मा गरेको ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम शीर्षकको अध्ययन प्रतिवेदनमा विगतमा पश्चिमा देशका र धनीहरूबाट मात्र बाल यौनशोषण हुने गरेकोमा अहिले बालबालिका जुनसुकै देशका जोसुकै अपराधीको निशानामा परेको उल्लेख छ । धार्मिक पर्यटक समेत यस्तो घृणित अपराधमा संलग्न हुने गरेको प्रतिवेदन बताउछ ।
उक्त अध्ययनले नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यालगायतका बालबालिका अमेरिकी र क्यानेडियन पीडकको निशानामा पर्ने खतरा औंल्याएको छ । नेपालमा एकदशक लामो माओवादी सशस्त्र द्वन्द्वले धरासायी बनाएको पर्यटन व्यवसायलाई उकास्ने नाममा गरिएको जायजरनाजायज प्रवद्र्धनले पनि यस्तो आपराधिक मनोवृत्तिलाई हौस्याएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।
यौन पर्यटकलाई खुशी पार्न केही व्यवसायीले बालबालिका प्रयोग गरेको हुनसक्ने कतिपय बताउँछन् । चर्चित बेलायती म्यागजिन द इकोनोमिस्टले २००८, जनवरीमा माओवादी द्वन्द्वका कारण नेपालमा यौन व्यवसायीको संख्या बढेको र यौन पर्यटक आकर्षित भएको रिपोर्ट प्रकाशित गरेको थियो । दक्षिण एशियाका सेक्स ट्रेडविद् जोन फ्रेडरिकलाई उद्धृत गर्दै पत्रिकाले यौन पर्यटनमा नेपाल थाइल्याण्डकै अवस्थामा पुगिसकेको उल्लेख गरेको छ ।