लुम्बिनी– २५६४औँ बुद्धपूर्णिमाकै अवसर पारेर अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन आयोजनाको तयारी थियो।
५ हजारभन्दा बढी अट्ने क्षमताको सुविधा सम्पन्न सभाहलमा कार्यक्रम गर्ने योजना। लुम्बिनीमा विदेशी पर्यटक बढाउन प्रवर्द्धनात्मक कार्यक्रमको खाका तयार भएको थियो। लुम्बिनी आउने पाहुनाको स्वागतका लागि फूलहरु फुलिसकेका थिए। हरेकवर्ष राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विदेशी नियोगका अधिकारीहरु, बौद्धमार्गी मुलुकका १० हजारभन्दा बढी पाहुनाहरु आइसकेका हुन्थे। लुम्बिनी दुलहीजस्तै सिंगारिएको हुन्थ्यो।
लुम्बिनीमा चहलपहल बढेको हुन्थ्यो।तर, कोरोना संक्रमणको महामारी फैलिदै फैलिदै नेपालसम्म आइपुग्यो, अरु फैलिने डर भयो। सरकारले लकडाउनको घोषणा गर्यो। २०७६ चैत ११ गतेदेखि जारी रहेको लकडाउनका कारण वैशाख २५ को २५६४ औँ बुद्धपूर्णिमाका सबै औपचारिक कार्यक्रमहरु स्थगित भए। व्यक्ति व्यक्तिबीचको सम्पर्कका कारण कोरोनाको संक्रमण फैलिनसक्ने जोखिमका कारण बुद्धपूर्णिमामा ५० जनाभन्दा कम व्यक्ति सहभागी भए।
मायादेवी मन्दिरअगाडि लुम्बिनी विकास कोषले सीमित बौद्ध भिक्षुहरुका बीचमा छोटो कार्यक्रम गर्यो। मन्दिर परिसर प्रवेश गर्नुअघि सबै भिक्षुहरुको तापक्रम मापन गर्नुका साथै मास्क र पन्जा लगाउन अनिवार्य गरिएको थियो।
राष्ट्रपति, प्रधानमन्त्री, संस्कृति तथा पर्यटनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्षको मन्तव्य वाचन गरेर सुनाइयो। अनि लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले शान्तिको कामना गर्दै छोटो मन्तव्य दिए। उनले विश्व शान्तिको कामना गर्दै कोरोना संक्रमणको जोखिम टरेर जाओस् भन्ने कामना गरे।अन्तर्राष्ट्रिय भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयसहितका करीब २५ जना भिक्षुहरुले बुद्धको मूर्तिलाई नुहाइदिए, फूल अर्पण गरे र प्रार्थना गरे।
यहीबीचमा केही भिक्षुहरु मायादेवी मन्दिर परिसर आसपासमा बसेर प्रार्थना गरेका थिए। बुद्धपूर्णिमाको यो सानो कार्यक्रम सकिँदा अन्य समयमा बौद्धमार्गीहरु र पर्यटकहरुको भीडभाड हुने लुम्बिनी सुनसान थियो। प्रार्थनापछि कुरा गर्दै विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कोरोना संक्रमणको जोखिम भएकाले संक्षिप्त कार्यक्रम आयोजना गरेको बताए।
'हामीले लाखौं पर्यटकहरु, बौद्धमार्गीहरु यहाँ ल्याएर भव्य कार्यक्रम आयोजना गरेर लुम्बिनीको विश्वभर प्रचार गर्ने योजना थियो, हामीले तयारी पनि गरिरहेका थियौँ, लकडाउन बढाउँदै लग्नुपर्ने र भीडभाड गरेर कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम रहेकाले सबै कार्यक्रम स्थगित गरेर सामान्य कार्यक्रम गर्नुपर्ने बाध्यता भयो, हामीले कोही कसैलाई पनि निम्ता गर्न पाएनौँ’, उनले भने।
अन्तर्राष्ट्रिय भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीमा कोरोना संक्रमणको जोखिमका कारण सामान्य कार्यक्रम आयोजना गरेर सम्झिनुपरेकोमा दुःख व्यक्त गरे।‘यहाँ भव्य कार्यक्रम आयोजना गरेर बुद्धपूर्णिमा मनाउने थियौँ’, उनले भने, ‘तर कोरोना संक्रमणका कारण हामीले त्यसो गर्न सकेनौँ. घरघरमै बसेर बुद्धपूर्णिमा मनाऔँ, बुद्धका उपदेशहरु अनुसरण गरौँ।’
विकास कोषले बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोगको दिन बुद्धपूर्णिमाको अवसरमा बिहीबार बेलुका ७ बजे २५६४ वटा दीप प्रज्ज्वलन गर्ने जनाएको छ।