बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको चेङ्दुबाट गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि प्रस्ताव गरेका छन् ।
चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिटसिएटिभ (बिआरआइ) सिचुवान अन्तर्राष्ट्रिय मैत्री शहरहरूको सम्मेलनमा भाग लिन गएका मुख्यमन्त्री पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उनले सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताए ।
उनले भ्रमण विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदान प्रदानका लागि फलदायी भएको बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वका ३२ देशका ४३ वटा प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा माननीय मुख्यमन्त्री पोखरेलले नेपाल—चीन सम्बन्ध र सहकार्यका बारेमा बोल्दै चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको चर्चा गरे ।
राष्ट्रपति सी चिनफिङले अघि सारेको बिआरआइ एक विश्वव्यापी अभियान भएको,यसमा आबद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ संभावनाहरू खोज्न लाभदायक हुने विचार मुख्यमन्त्रीले व्यक्त गरे ।
मुख्यमन्त्री नेपाल फिर्ता भएपछि केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै माननीय मुख्यमन्त्रीज्यूले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दुतावास खोल्ने बताउनुभयो । सम्मेलन पश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।'
सम्मेलनको संस्कृति तथा पर्यटन सत्रमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी लगायतका पर्यटकीय स्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणको लागि निमन्त्रणा गरे । प्रदेश ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले महत्वपूर्ण रहेको उनले जानकारी दिए।
पोखरेलले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीय स्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझाव दिए । भ्रमण टोलीका अन्य सदस्यहरूद्वारा कृषि, ऊर्जा र पूर्वाधार सत्रमा सहभागिता जनाएका थिए । भ्रमण दलमा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा.विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी थिए ।
त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफल समेत भएको थियो । भेटमा विशेष गरी बिआरआइ अन्तरगत पर्यटन, जडिबुटी, उद्योग, आइटि र छात्रवृति आदानप्रदान गर्ने विषयमा गहन छलफल भएको विज्ञप्तिमा जनाइएको छ।
चिनियाँ मोडेलको औद्योगिक ग्राम खोल्न सकिने, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नम्बर ५ ले सिक्न सक्ने संभावनाका विषयमा पनि छलफल भएको र नेइजियाङ शहरमा आयोजित औद्योगिक प्रवर्द्धन सम्मेलनमा मुख्यमन्त्रीेले प्रमुख आतिथ्यता ग्रहण गर्दै प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र संभावना तथा नेइजियाङ शहरसित गर्न सकिने सहकार्यका संभावनाका विषयमा चर्चा गरे ।
मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजित सहभागी ५ राष्ट्रका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा द्विपक्षीय सम्बन्ध, सहकार्य र हितका बारेमा छलफल भएको थियो । उनले विमानस्थल, सडक, रेल र इन्टरनेटले गर्दा दुरी निरन्तर छोटिदैं गएको सन्दर्भमा सिचुवान प्रान्त तथा यसका शहरहरूसित प्रदेश नम्बर ५ तथा यसका शहरहरूले सहकार्य गर्ने प्रशस्त संभावनाहरू उजागर भएको तथा निकट सम्बन्ध स्थापना गर्न धेरै सहयोग पुगेको विश्वास व्यक्त गरे । पर्यटकीय पूर्वाधार,औद्योगिक ग्राम र प्रविधिको प्रयोग गरी गरिएको विकास प्रदेश नम्बर ५ को सन्दर्भमा पनि लाभदायक रहेको उनले बताए । असोज २७ गते चीन गएका मुख्यमन्त्री पोखरेलसहितको टोली कार्तिक १ गते स्वदेश फर्किएको हो ।