बुटवल-लुम्बिनी प्रदेशको मुकाम बुटवलको सडक यतिबेला खाल्डा खुल्डीले अस्तव्यस्त छ। राजमार्ग चौराहदेखी गोलपार्कसम्म सवारी लिएर हिड्न निकै कष्ट हुने गरेको छ। पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, ट्राफिकचोक लगायत बुटवलका मुख्य स्थानका राजमार्गमा खाल्डै खाल्डा छन्।
बुटवल मिलनचोक बस्ने अन्जु गैरेले स्कुटर लिएर यात्रा गर्दा धुलो र हिलोको निकै समस्या बेहोर्नु परेको बताइन । ‘घाम लाग्दा धुलो उडेर हैरान पार्छ। पानी परेको बेला हिलोले सास्ती हुन्छ।’ उनले भनिन् ‘चौराह र अस्पताललाईनको बाटोमा त स्कुटर चलाउँदा निकै तनाव हुन्छ ।’ कहिलेकाँही त सडकको खाल्डामा स्कुटरको चक्का अड्कीएर तान्नै मुस्कील हुने गैरेले बताइन् ।
ठूला गाडीलाई पनि सडकका खाल्डा खुल्डीले हैरान पारेको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक चेतनारायण बेलबासेले बस तथा माइक्रोबसलाई बुटवलमा यात्रा गराउन निकै समस्या परेको सुनाए। ‘सरर गाडी हिड्न नपाउँदा गाडी भित्रका यात्रुहरुलाई पनि घच्याक र घुचुक हुने, विरामी र अशक्तलाई पनि झन समस्या हुन्छ।’ उनले भने ‘खाल्डा खुल्डीमा हिडीरहन पर्दा गाडीको गेरबक्स र इन्जिन पनि चाँडै खराब हुन्छ।’ बेलबासेले आफ्नो निजी गाडी लिएर हिड्दा सडकका खाल्डाले निकै समस्या बेहोरेको बताए।
खाल्डा खुल्डीको कारण बुटवलका सडकमा पटक पटक दुर्घट्ना भइरहेको छ। दुर्घट्नासँगै ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डील्लीनारायण पाण्डेयले बताए । ‘सानागाडीहरु खाल्डामा पर्दा जाम हुन्छ। अगाडि हिडेका गाडीहरु खाल्डा देख्दा झ्याप्प ब्रेक हान्छन्। त्यो बेला पछाडीको गाडी गएर ठोकिन्छ। मोटरसाइकलहरु खाल्डामा परेर पल्टिरहेका छन्।’ उनले भने ‘खाल्डै खाल्डाको बाटोमा गाडीको गती सुस्त हुँदा जाम पनि भइरहेको छ।’ राजमार्ग चौराह, मिलनचोक, पुष्पलाल पार्क लगायतका ठाउँमा बेला बेलामा सवारी जाम भइरहने पाण्डेयले बताए।
सडकको अवस्था विजोग हुँदा पनि प्रदेश सरकारका पदाधिकारी, सांसदहरु, सरकारी निकायका अधिकारी र बुटवल उपमहानगरपालिका मुकदर्शक भएर बसेका छन् । उनीहरुले निर्माण कम्पनीलाई दोष देखाउने गरेका छन्।
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले सडकको अवस्था सुधार्नको लागि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराइरहेको बताए। ‘सडककै लागि २ वटा बैठक राखें, निर्माण व्यवसायीलाई काम गर्छु भनेर कबुल गराएँ । हिड्यो, फेरि सिडीओलाई भनेर उसलाई उपस्थित गराइयो, फेरी हिड्यो।’ उनले भने ‘त्यसपछि म काठमाडौँ गएर तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई त्यसको फाइल तानेर काम गराउनुस भनेर पहल गरेर आएको हो ।’
खाल्डाखुल्डीको समस्या हुनुमा डिभिजन सडक कार्यालय बुटवलले पनि निर्माण कम्पनीलाई नै दोष देखाएको छ। कार्यालयका प्रमुख जयलाल मरासीनीले खराब ठेकदार पर्दा काम लगाउन समस्या भएको बताए। ‘हामीले काम लगाउने ठेकदार नै गतिलो परेन। अरु ठाउँका ठेक्कामा पनि उसको काम राम्रो देखिएको छैन। अस्ती जिल्ला प्रसासन कार्यालयमा उपस्थित गराइयो।’ उनले भने ‘पटक पटक पत्र लेखेर काम सुचारु गर्न भनेको छु । सिडीओ सापले पनि भन्नुभयो। अब काम गरेन भने उसलाई गाह्रो हुन्छ।’
सडकका अरु काम छोडेर पहिले खाल्डा मर्मत गर्न आफूले भनेको मरासिनीले बताए। उनले बर्षा भएन भने अबको एक हप्तामा बुटवलका खाल्डा खुल्डीको समस्या केही हल हुने बताए । राजमार्ग चौराहदेखी गोलपार्कसम्मको सडक विस्तारको जिम्मा कञ्चनजंगा विरुवा जेभिले पाएको छ । ठेकदारले काम नगर्दा र सरकारी निकायले काम गराउन नसक्दा यात्रुहरुले दुःख पाइरहेका छन्।