बुटवल-अधिकांश घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी देखिएका छन्। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या दिनहुँ बढ्दो छ।
छिनमै चर्को घाम, छिनमै पानी पर्ने नसुहाउँदो मौसम कायमै छ, जसका कारण बिरामी संख्या बढ्दो छ। बिरामीमा ज्वरो, रुघा, शरीर दुख्नेलगायतका लक्षण देखिएपछि कोरोना संक्रमणको त्रास बढेको छ।
कहिले वर्षा र कहिले चर्को घामसँगै मौसम परिवर्तनले भाइरल ज्वरोको प्रकोप बढेको छ। अस्पतालहरुमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई केही सातादेखि भ्याइनभ्याइ छ।
टाउको दुख्ने, उच्च ज्वरो आउने, रिंगटा लाग्ने, रुघाखोकीसँगै हाँच्छ्यु आउने, आँखा रातो हुने, घाँटी खसखस गर्ने, जीउ दुख्ने, जाडो लागेर ज्वरो आउने यसको लक्षण देखिएको हो।
उमालेको पानी पिउन, मास्क लगाउन, चिसो, धूलोधूवाँबाट बच्न र पानी तताएर बाफ लिन चिकित्सकहरूले सल्लाह दिइरहेका छन्।
कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्न थालेका छन्। बिरामीमा उच्च ज्वरो तथा रुघाखोकीजस्ता लक्षण देखिएको छ। पीसीआर जाँच गर्दा यस्ता केही बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको चिकित्सकहरु बताउँछन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठक कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी आउने क्रम बढेको बताउँछन्।
लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले पछिल्लो एक हप्ता यता भाइरल ज्वरोका विरामी बढेका बताए । ‘हप्ता दस दिन जति भयो। सामान्य रुघा, खोकी र ज्वरोका विरामी बढेका छन्।’ उनले भने ‘यसरी ज्वरो आएर पनि कोभिड नेगेटिभ देखिएका धेरै हुनुहुन्छ ।’
रुघाखोकी र ज्वरोको समस्या कोरोना संक्रमण र भाइरल दुबैमा देखा पर्ने लक्षण हो । तर लक्षणको अवस्था भने केही फरक हुने लुम्बिनी प्रादेशिक अस्पतालकाका कोरोना फोकल पर्सन समेत रहेका डा. पाठक बताउँछन् । ‘सामान्य भाइरलमा ३ दिन जति बढी नै सताउँछ । त्यसपछि घट्दै गएर ५ दिनपछि ठीक हुँदै जान्छ।’ उनले भने ‘कोभिडको ठीक उल्टो हुन्छ । सुरुको ३ दिन जति खासै केही लक्षण देखिँदैन । चौथो, पाँचौ दिनबाट ९–१० दिनसम्म असर बढी देखिँदै जान्छ।’
कोभिड भएकाहरुमा जिउ दुख्ने समस्या बढी हुन्छ। भाइरलमा त्यो समस्या कम हुने डा. पाठकले बताए । कोरोना संक्रमण हुँदा बास्ना र स्वाद पनि हराउने गर्दछ । ‘भाइरल भएर रुघा लागेकाहरुलाई पनि बास्ना हराउने समस्या हुन्छ । तर स्वाद चाँही हराउँदैन ।’ डा. पाठकले भने।
असार लागेपछि केही घटेको कोरोना संक्रमणदर पछिल्लो समय फेरि बढ्न थालेको छ । अहिले कोरोनाको परिक्षण हुन छाडेकाले लक्षण नदेखिएका तर कोरोना पोजेटिभ भएका धेरै जना समाजमा हुन सक्छन् । त्यस्ता संक्रमितलाई भाइरल भयो भने थप सताउन सक्छ ।
त्यसैले भाइरलको लक्षण देखिँदा पनि सचेत हुन र पिसिआर परिक्षण गराउन बरिष्ठ फिजिसियन डा. नन्दु पाठकको सुझाव छ । ‘सुरुमा रुघा, खोकी, ज्वरो देखिएमा आफूलाई कोभिड भयो भनेर सोँच्नुपर्छ। अनि आफूलाई आइसोलेट गरिसक्नुपर्छ’-उनले भने ‘त्यसको २–३ दिन पछि पिसिआर गर्न सल्लाह दिन्छु। कोरोना पोजेटिभ आयो भने छुट्टै बस्ने, नेगेटिभ आयो भने परिवारसँगै बसे भयो।’
ज्वरो आउँदा दुबै अवस्थामा झोलिलो पदार्थ र सिटामोलको प्रयोग गर्नुपर्ने डा. पाठकले बताए।
अस्पताल तथा निजी क्लिनिक भरिभराउ रहेकाले चिकित्सकसँग स्वास्थ्य जाँच गराउन बिरामीले घण्टौं पालो कुर्नुपर्ने अवस्था छ।
बिरामी सबैमा ज्वरो, भोक नलाग्ने, जीउ दुख्ने र नाकबाट पानी आउने समान लक्षण छ।
कतिपय पोस्ट भाइरलका बिरामी पनि आइरहेको उनले बताए। तीमध्ये कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने गरिएको उनले बताए।
शरीरमा पानी कम भएर कमजोर अवस्थामा आएका बिरामीलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार गर्ने गरिएको उनले बताए।
कसरी छुट्याउने ?
मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ। तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन। मनमा के राख्नपर्यो भने रुघाखोकी या कोभिड जे भएपनि म सतर्क र सुरक्षित रहन्छु। त्यसैले सतर्क रहनुपर्छ। सावधानी अपनाउनुपर्छ। सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो।
रुघाखोकीका लक्षणहरुसहित अरु थप लक्षण देखापरेमा ती व्यक्तिहरुलाई शंकाको घेरामा राख्न सक्छौं। यदि होइन भने रुघाखोकी लागेका मान्छेलाई परामर्श र घरेलु उपचारबाटै पनि ठीक हुन्छ।
खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण कोरोना भाइरसको शंका गर्न सकिन्छ।
त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन्। रुघाखोकी लागेमा त्यति कडा हुँदैन। नाकबाट पानी बग्ने, सामान्य हल्का ज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ। अर्कोचाहिँ मौसमी फ्लु भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ।
यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ। अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ। कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन्। तर यो छुट्याउनको लागि त्यो मान्छे कहाँ–कहाँ गयो, संक्रमण फैलिएको ठाउँबाट आएको–नआएको, क–कसको सम्पर्कमा आयो त्यो बुझ्नुपर्ने हुन्छ।
सुरुमा रुघा, खोकी, ज्वरो देखिएमा आफूलाई कोभिड भयो भनेर सोँच्नुपर्छ। अनि आफूलाई आइसोलेट गरिसक्नुपर्छ। त्यसको २–३ दिन पछि पिसिआर गर्नुपर्छ। कोरोना पोजेटिभ आयो भने छुट्टै बस्ने, नेगेटिभ आयो भने परिवारसँगै बसे भयो।
ज्वरो आउँदा दुबै अवस्थामा झोलिलो पदार्थ र सिटामोलको प्रयोग गरौं। तर रुघाखोकी लाग्दैमा सुरुमा कोरोना नै सोच्नुपर्छ भन्ने जरुरी छैन। मौसम परिवर्तन भइरहेको छ। मनमा धेरै त्रास नलिऊँ। सावधानी अपनाइ राख्यौं, कसरी सर्छ भनेर जान्यौं भने बच्न सकिन्छ।
सुरक्षित रहौं, सतर्कता अपनाऔं, आतंकित नबनौं। मास्क लगाउन नछोडौं। अरु सावधानीका उपाय अपनाउन पनि नछाडौं। लापरबाही गर्दै नगरौं। सकेसम्म सुरक्षित बसौं। भीडभाड हुने ठाउँमा नजाउँ। भीडभाड हुने काम पनि नगरौं। कोरोना भाइरससँग मिल्दा लक्षण देखिएका छन् भने स्वास्थ्यकर्मीको परामर्श लिउँ। पीसीआर परीक्षण गराउँ।