बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ दीपनगर स्थित सिद्देश्वर मैदानलाई रंगशाला बनाइने गरी योजना अघि बढेको छ । बुटवलमा अहिले सिद्देश्वर चौर बाहेक अन्य खुल्ला मैदान फेला पार्न गाह्रो छ । सिद्देश्वर माध्यमिक विद्यालयको २ विघा भन्दा बढी जग्गा रहेको यो चौरलाई बुटवलको टुंडिखेल मानिन्छ । शहरको खुल्ला स्थानको रुपमा रहेको यो ठाउँ मासिएमा बुटवलमा अब खुल्ला ठाउँको अभाव हुने छ । सिद्देश्वर मैदानलाई रंगशालाको रुपमा विकास गर्न विद्यालय र उपमहानगरपालिका बिच सम्झौता भइसकेको छ । ‘व्यवस्थापन समितिबाट निर्णय भएर उपमहानगरसँग एक खाले सम्झौता भइसकेको छ ।’ विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण भण्डारीले भने ‘केन्द्रबाटै योजना पर्नेवाला छ भनेर हामीलाई भनिएको छ । मिनि स्टेडियम बनाउने कुरा सुनेका छौं ।’
बुटवल उपमहानगरपालिकाको पछिल्लो कार्यपालिकाको बैठकले रंगशाला निर्माणको लागि ड्रइङ डिजाइन र लागत अनुमान तयार गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । रंगशाला निर्माणको लागि उपमहानगरपालिकाले ३० प्रतिसत बेहोर्ने गरी आवश्यक बजेट विनियोजनको लागि युवा तथा खेलकुद मन्त्रालय लगायत सम्बन्धीत निकायमा सिफारिस गरि पठाउने निर्णय गरेको थियो । जस अनुसार केन्द्र र प्रदेश सरकारमा प्रस्तावना पठाइसकेको उपमहानगरपालिकाका आर्किटेक मधु ज्ञवालीले बताए ।
सिद्देश्वर मैदानमा झण्डै पाँच सात हजारले फूटबल हेर्न मिल्ने गरी रंगशाला बनाइने उपमहानगरपालिकाको योजना छ । मैदान र प्याराफिट बाहेक अन्य संरचना र व्यापारिक सटरहरु पनि बन्ने गरी प्रस्ताव तयार भएको उपमहानगरपालिकाका आर्किटेक ज्ञवालीलले जानकारी दिए । ‘अन्तराष्ट्रिय स्तरकै खेल हुन सक्ने खालको मैदान बन्ने छ । तर दर्शक क्षमता केही कम हुन्छ ।’ उनले भने ‘मैदान र प्याराफिट बाहेक टेबलटेनिस, व्याटमिन्टन लगायतका खेलको लागि २ वटा बहुउदेशीय हल समेत बन्ने छ ।’ प्याराफिट मुनि सडक तर्फ ३०–४० वटा जति सटरहरु बन्ने गरी प्रस्ताव तयार भएको ज्ञवालीले बताए । रंगशालाको लागि अहिले प्रस्ताव मात्र गरिएकोे डिजाइन भने बजेट आएपछि बन्ने उनको भनाइ छ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको प्रस्तावमा सिद्देश्वर मैदानमा रंगशाला बनाउने गरी योजना अघि बढाइएको हो । सिद्देश्वर मैदान भएको वडा मेयर सुवेदीकै घर भएको वडा पर्दछ ।
संरचना निर्माणले शहरको खुल्ला मैदान मासिन लागेको भन्दै नगरपालिकाको निर्णयको आलोचना पनि सुरु भएको छ । खुल्ला मैदान नै ढाकिने र मासने गरी रंगशाला निर्माण गर्ने पक्षमा बुटवल ७ का वडाध्यक्ष कमल प्रताप थापा सहमत देखिँदैनन् । ‘अन्य संरचना र सटरहरु बनाउँदा विद्यालयलाई आम्दानी त होला । तर भोली यहाँ व्यापारीक क्षेत्र बन्ने र मैदान साँघुरिने त होइन भनेर हामी चिन्तित छौं ।’ उनले भने ‘अहिले मानिसहरुलाई खुल्ला तरिकाले ओहोर दोहोर गर्न, विहान व्यायाम लगायतका गतिविधि गर्न सहज भएको छ ।’ वडाध्यक्ष थापाले मैदानलाई खुल्ला नै राखेर पनि खेल मैदानको रुपमा विकास गर्न सकिने र त्यसो हुँदा वातवरण पनि नविग्रने बताए । उनले स्थानिय नागरिकसँग बृहत छलफल विना खुल्ला मैदानलाई जथाभाबी चलाउन नहुने विचार व्यक्त गरे ।
सिद्देश्वर मैदानमा बेला बेलामा दलहरुका आमसभा समेत हुने गरेको ठाउँ हो । अहिले धेरै जसो दलका गतिविधीहरु बुटवलको ट्राफिक चोकमा हुने गरेका छन् । सवारी आवगमन नविथोलीने गरी कार्यक्रम गर्न मिल्ने ठाउँ शिद्देश्वर मैदान मात्र हो । बुटवल दिपनगर निवासी नेकपाका पुराना नेता तथा बुद्धिजिवि देबेन्द्र घिमिरेले तत्कालको व्यापारीक स्वार्थ हेरेर खुल्ला ठाउँ मास्न नहुने बताए । ‘वडा वडामा खुल्ला ठाउँ चाहिनुपर्ने हो । त्यस माथी भएको एउटा खुल्ला ठाउँ पनि मास्नु कत्ति पनि उपयुक्त होइन ।’ उनले भने ‘खुल्ला ठाउँ रहिरहने गरी मैदानको विकास गर्नुपर्छ ।’
नेपाली कांग्रेस बुटवल ७ का वडा सभापति कृष्ण ज्ञवालीले बुटवलमा अब खोजेर नपाइने मैदान भएकाले सिद्देश्वर मैदानलाई खुल्लै ठाउँको रुपमा छोड्न उपयुक्त हुने बताए । ‘अरु कार्यक्रम गर्न बुटवलमा ठाउँ अभाव भइरहेको छ । यसलाई खुल्ला ठाउँको रुपमा छोड्नु राम्रो हुन्छ ।’ उनले भने ।