तालिवानले यसअघिको आफ्नो शासनकालमा अफगानिस्तानमा अफिम खेती र अवैध लागु औषधको कारोबारमा रोक लगाइएको दाबी गर्दै आएको छ।
सन् २००१ मा तालिवान अफगानिस्तानको शासनबाट बाहिरिँदा अफिम खेतीमा उल्लेख्य कमी आएको भए पनि त्यसपछिका बर्षहरूमा तालिवान नियन्त्रित क्षेत्रहरूमा यसको खेती निकै बढेको छ।
धेरै तहको प्रशोधन गरेर अफिमका बोटहरूलाई पनि हेरोइन जस्तै उच्च नशालु लागु औषध सरह बनाउन सकिन्छ।
अफगानिस्तानमा कति अफिम उत्पादन हुन्छ?
संयुक्त राष्ट्रसङ्घीय लागु औषध तथा अपराध कार्यालय (युएनओडीसी) का अनुसार अफगानिस्तान विश्वकै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देश हो।
अफगानिस्तानको अफिमले विश्वको ८० प्रतिशत आपूर्ति धान्ने गरेको छ। युएनओडीसीले सन् २०१८ गरेको एक अनुमानमा अफिम उत्पादनले देशको अर्थतन्त्रमा ११ प्रतिशत योगदान पुर्याएको पाइएको थियो।
अफगानिस्तानमा आफ्नो कब्जा कायम गरेपछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने “हामीहरू यसअघि सत्तामा रहेको बेला कुनै लागु औषधको उत्पादन थिएन। आफ्नो शासनकालमा अफिमको तस्करी रोक्ने भन्दै उनले थपे “अब पनि हामीले अफिमको खेतीलाई शून्यमा ल्याउनेछौँ।”
अमेरिकाको विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा तालिवान शासनको सुरुवाती समयमा अफिम खेती निकै बढेको थियो। सन् १९९८ मा करिब ४१,००० हेक्टर भूमिमा भइरहेको खेती सन् २००० सम्म आइपुग्दा ६४,००० हेक्टरमा फैलिएको थियो।
तालिवान नियन्त्रित हेलमण्ड प्रान्तमै यसको खेती मुख्यगरी फस्टाएको थियो। विश्वमा उत्पादन हुने अवैध अफिममध्ये हेलमण्डको उत्पादनले मात्र ३९ प्रतिशत हिस्सा ओगटेको छ।
तर अचानक सन् २००० मा तालिवानले आफू नियन्त्रित क्षेत्रहरूमा अफिमको बोटहरू रोप्न रोक लगायो।
सन् २००१ को मे महिनामा प्रकाशित एक राष्ट्रसङ्घीय प्रतिवेदनले ‘तालिवान नियन्त्रित क्षेत्रहरूमा लगाइएको अफिम खेती प्रतिबन्धले करिब करिब सफलता हात पारेको देखिएको’ जनाएको छ।
अफिम खेतीमा तालिवानको प्रतिबन्धसँगै सन् २००१ र २००२ मा विश्वभर अफिम र हेरोइनको बरामदमा उल्लेख्य गिरावट आएको थियो। तर त्यस लगत्तै परिस्थिति फेरियो।
हालै बाहिरिएको अफगानिस्तानको सरकार नियन्त्रित क्षेत्रहरूमा पनि अफिम खेती भइरहेका थिए। तर यसको मुख्य उत्पादन तालिवान नियन्त्रित क्षेत्रहरूमै एकत्रित रहेको पाइन्छ।
उदाहरणको लागि तालिवानको नियन्त्रणमा रहेको दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा गत वर्ष सबैभन्दा धेरै भूमि अफिम खेतीमा प्रयोग भएको थियो।
अफगानिस्तानभरि नै अफिम खेती रोजगारीको मुख्य स्रोत हो। यूएनओडीसीले गरेको एक अफिम सर्वेक्षणका अनुसार सन् २०१९ मा करिब एक लाख २० हजार मानिसहरूले अफिमको बाली उठाउने काम पाएका थिए।
अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिवानले अफिम बालीमा कर लगाउनुका साथै यसको प्रशोधन तथा तस्करीबाट समेत अप्रत्यक्ष आम्दानी गर्ने गरेको छ। अफिम कृषकहरूबाट तालिवानले १० प्रतिशत खेती कर लगाउने गरेको बताइन्छ।
अफिमलाई हेरोइनमा परिणत गर्ने प्रयोगशाला र यो अवैध लागु औषधको तस्करीमा संलग्न व्यापारीहरू बाट समेत तालिवानले कर सङ्कलन गर्ने गरेको छ। अवैध लागु औषधबाट मात्रै तालिवानलाई वर्षमा १० करोड देखि ४० करोड अमेरिकी डलर आम्दानी हुने आकलन गरिएको छ।
अमेरिकी कमान्डर जनरल जोन निकोलसनले अफगान पुन निर्माण सम्बन्धी आफ्नो एक प्रतिवेदनमा लागु औषधले तालिवानको ६० प्रतिशत वार्षिक आय धान्ने बताएका छन्।
तर उनको आँकडामा केही विज्ञहरूले असहमति राखेका छन्।
अवैध लागु औषधको व्यापार सम्बन्धी अनुसन्धान गरिरहेका डेभिड मन्सफिल्ड भन्छन् “राष्ट्रसङ्घ र अन्यले भनेजस्तो कर प्रणाली त्यहाँ पहिचान गर्नै मुस्किल छ। त्यो प्रशासकीय र आर्थिक दुवै दृष्टिकोणले काम गर्नै नसकिने किसिमको छ।”
“अफिमको करबाट वर्षमा बढीमा चार करोड अमेरिकी डलर आम्दानी हुनसक्छ,” उनी भन्छन्।
अफगानिस्तानमा हुर्कने अफिमबाट बन्ने हेरोइनको ९५ प्रतिशत बजार युरोप हो। अनौठो के छ भने अमेरिकाको लागु औषध नियन्त्रण एजेन्सीका अनुसार अमेरिकामा आपूर्ति हुने हेरोइनको जम्मा १ प्रतिशत हिस्सा मात्रै अफगानिस्तानबाट भित्रने गरेको छ। अमेरिकामा अधिकांश लागु औषध मेक्सिकोबाट भित्रन्छ।
सन् २०१७ देखि २०२० को अवधिमा ९० प्रतिशत लागु औषध सडक मार्गबाट ढुवानी भएको अध्ययनहरूले देखाएका छन्।
तर पछिल्लो समय हिन्द महासागर हुँदै युरोप जाने मार्गमा समुद्रमा यसको बरामद हुने क्रम बढेको छ।
अफिम उत्पादन र यसको बरामद हुने प्रवृत्तिमा उतार चढाव देखिए पनि अफगानिस्तानमा अफिम खेतीमा आएको बढोत्तरीसँगै यसको बरामद हुने क्रम पनि उच्च देखिन्छ। तर अफिम बरामद हुने र पक्राउ पर्ने कुराले यसको खेतीमा खासै प्रभाव नपर्ने अमेरिकी जनरलले तयार गरेको प्रतिवेदनले देखाउँछ।
सन् २००८ यता बरामद भएको अफिम अफगानिस्तानले सन् २०१९ मा उत्पादन गरेको अफिमको जम्मा ८ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गरेको छ। - बीबीसीबाट