बुटवल – बुद्ध जन्मस्थल लुम्बिनी घुम्नुभयो ? घुम्नुभएको छैन भने घुमिहाल्नुस् ।
लुम्बिनी घुम्नका लागि यो समय सबैभन्दा उपयुक्त छ । न जाडो न गर्मी मौसममा लुम्बिनी घुम्न मजा आउँछ । हिडेरै पनि सबै विहारहरुमा पुग्न सकिन्छ ।
यो समयमा अरु धेरै देशबाट पनि पर्यटक घुम्न आउँछन् । आन्तरिक पर्यटकको संख्या पनि उत्तिकै छ ।
दसैँ–तिहारबिचको बिदामा बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक (नेपाली) पर्यटकको संख्या लाख नाघेको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार असोज १४ गतेदेखि कात्तिक १४ गतेसम्म १ लाख ४ हजार २ सय २५ नेपाली पर्यटकले लुम्बिनी घुमेका छन् ।
सूचना अधिकृत बस्नेतका अनुसार गत वर्ष सोही अवधिमा ८८ हजार ५ सय ८२ आन्तरिक पर्यटकले लुम्बिनी घुमेका थिए ।
भैरहवा हुँदै लुम्बिनी पुग्ने सडकमार्ग बिस्तारको काम सम्पन्न भएको भए पर्यटकको संख्यामा अझै वृद्धि हुनसक्ने अनुमान विकास कोषको छ ।
तर त्यसको पनि चिन्ता छैन । बुटवल या बुटवल पश्चिम हुनुहुन्छ भने सैनामैनाको रामापूर कलोनीबाट लुम्बिनी पुग्ने सजिलो बाटो छ । यो बाटोमा ग्रामीण परिवेश हेर्दै लुम्बिनी पुग्न सकिन्छ ।
यो बाटो अहिले भैरहवा लुम्बिनी सडकको गतिलो विकल्प हो । यही बाटो भएर लुम्बिनी पुग्नुस्, नयाँ अनुभूति हुनेछ ।
कस्तो छ यो सडक भिडियोमा हेर्नुस्
लुम्बिनी विकास कोषका अनुसार गत अक्टोबर महिनामा १८ हजार ५सय ७७ जना विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । त्यस्तै अघिल्लो वर्षको अक्टोबर महिनामा १८ हजार २ सय १८ जना, २०१७ को अक्टोबरमा १६ हजार ५ सय ९६ जना विदेशी पर्यटक लुम्बिनी भ्रमणको लागि आएका थिए ।
लुम्बिनी भित्रिएका पर्यटकमा भारतीयको संख्या पनि वृद्धि भएको कोषले जनाएको छ । सन् २०१९ को अक्टोवर महिनामा २० हजार ९सय ९ जना भारतीय पर्यटक आएका थिए भने २०१८ १६ हजार ९ सय ८ जना र २०१७ मा १५ हजार ९सय ८५ जना भारतीयले लुम्बिनी भ्रमण गरेका थिए ।