कमल पोख्रेल र म समवयका निकट साथी हौं । उहाँ र मैले २०३४ सालदेखि तौलिहवामा माध्यमिक तहको अध्ययन गरेका हौं । उहाँ तौलेश्वरनाथ माध्यमिक विद्यालयमा र म रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा पढ्थ्यौं । उहाँ सानैदेखि अलि स्वभिमान र स्वतन्त्र स्वभावको व्यक्ति हो ।उहाँले सानैदेखि कविता लेख्नुहुन्थ्यो । कविताबाट समाजका रुढिविरुद्ध विद्रोही स्वर ओकल्नुहुन्थ्यो । कतिपय समयमा कविताकै कारण उहाँले प्रशासनिक दमन पनि सहनु परेको थियो । उहाँ अतिआचारअर्थात अत्याचार खप्न नसक्ने तर सदाचरी व्यक्ति हो । उहाँमा स्वच्छन्दतावादी गुण छन् ।
कमल पोख्रेलको जन्म सन्धिखर्क ११ डिभर्नामा भएको हो । हाल उहाँ सन्धिखर्क १ पाणिनि चोकमा बस्नु हुन्छ । उहाँ बुबा कालिदाश पोख्रेल र आमा कौशल्या पोख्रेलको कोखबाट २०१६ सालमा जन्मु भएको हो । उहाँले जनज्योति मावि सन्धिखर्क, तौलेश्वर मावि तौलिहवा र सम्पूर्णानन्द विश्व विद्यालय वाराणासीमा पढ्नु भएको हो । उहाँले मध्यमा तहउत्तीर्ण गरी शास्त्रीसम्मको अध्ययन गर्नु भएको होे । त्यसपछिका दिनहरुमा उहाँले पैतीस वर्षसम्म निजामती कर्मचारीको रुपमा रहेर काम गर्नु भयो । निजामती कर्मचारीमा रहे पनि समय समयमा भएका लोकतान्त्रिक आन्दोलन तथा विद्रोहहरुमा उहाँको प्रत्यक्ष परोक्ष योगदान थियो ।
कमल पोख्रेलको जीवनसंगिनीको नाम कमला पोख्रेल हो । कमल कमला आदर्श जोडी हुनुहुन्छ । उहाँहरुका दुई सन्तान हुनुहुन्छ । छोरा विकास, छोरी संगीता र बुहारी सुजाता हुनुहुन्छ । नातिनी आयानप्रति पनि कविलेयो कृतिमा वात्सल्यभाव दर्शाउनु भएको छ । कृति प्रकाशनमा आफूलाई सल्लाह दिने सहयोग गर्ने साथीहरु हिमबहादुर लेकाली, राजेन्द्रकुमार आचार्य, कुलचन्द्र मरासिनी, ऋषि आजाद, विष्णु बस्याल विप्र, प्रदीप शाह, यदु पन्थी, तीर्थराज आचार्य, र पीताम्बर बन्जाडेलाई सम्झनु भएको छ ।
सानैदेखि साहित्य लेखनमा अभिरुचि भएका कमल पोख्रेलको पहिलो कृति आमा (२०३४)तौलेश्वरनाथ माध्यमिक विद्यालयमा पढ्दा छापिएको हो । त्यो कृतिको प्रकाशनपछि लामोसमयसम्म काव्य साधना र परिष्कार परिमार्जनका दिनहरु रहे । उहाँको अन्तरज्वार काव्यकलाका माध्यमबाट प्रवाहित हुन छोडेन । त्यसले प्रकाशनको लागि अनुकूल समय खोज्दै थियो । अन्ततः परिस्कृत कृतिको रुपमा जागीरे जिन्दगी (२०७६) प्रकाशित गर्नु भएको हो । उहाँका अन्य केही कृतिहरु प्रकाशोन्मुख अवस्थामा छन् । विभिन्न पत्रपत्रिकाहरुमा उहाँका काव्य कृतिहरु छरिएर रहेकाछन् ।
उहाँले शास्त्रीय छन्दमा कविताहरु लेख्नु हुन्छ । शास्त्रीय छन्दकवितामा खडेरी परिरहेको चालीसको दशकमा पनि उहाँले वियोगिनी, मन्द्राक्रान्ता, शिखरिणी, शार्दुलवीक्रिडित छन्दमा राम्रै कविता लेख्नु हुन्थ्यो ।
चालीसको दशकमा नेपालमा शास्त्रीय छन्द कवितालाई त्यति महत्व दिइँदैनथ्यो । राजनीतिक जागरण र आन्दोलनका क्षणहरुमा युवाहरुलाई उद्दीप्त पार्ने र आन्दोलनमा उतार्ने खालका विप्लवी खालका कविताहरु चाहिन्थ्यो । कवितामा भावाभिव्यक्तिको लागि सहज छन्दमा भन्दा गद्य कवितामा हुन्थ्यो । अनि गीतलाई पनि महत्व दिइन्थ्यो । त्यो समयमा छन्द कविहरु बढी शास्त्रीय कुरा लेख्थे । उनीहरुमा रुढि भावना थियो । तर कमललेभने छन्द साहित्यमा आधुनिक भावनाका कविताहरु सिर्जना गर्नुहुन्थ्यो ।
उहाँले शास्त्रीय छन्दप्रति भिन्दै धारणा राख्नुहुन्छ । छन्दशास्त्रीय होइन । त्यो सूत्र हो र संरचना हो । यो विशाल वटवृक्ष हो । त्यो हजार्रौ वर्ष रहन्छ । बरु यसबाट नित्य निरन्तर नयाँ नयाँ छन्दहरुको जन्म भइरहन्छ । अहिले पनि त्यो क्रम रोकिएको छैन । त्यसैले यसको नाम अगाडि शास्त्रीय विशेषण राखिरहनु आवश्यक छैन । उहाँको भनाइ छ ।
नेपालमा छन्द कविताको थालनी शक्तिवल्लभ अर्यालको पालादेखि शुरु भएको हो । शक्ति वल्लभ अर्यालदेखि भानुभक्त आचार्यको समयावधिसम्मलाई प्रवर्तन काल भनिन्छ । भानुभक्तदेखि लेखनाथसम्मको समयावधिलाई विकास काल भनिन्छ । लेखनाथदेखि देवकोटासम्मको समयावधिलाई उत्कर्ष काल भनिन्छ । मोहन कोइरालादेखि २०५० सम्मको समयावधिलाई शुषुप्तकाल र २०५० देखि आजसम्मको समयावधिलाई पुनर्जारण काल भनिन्छ । अहिले फेरि छन्द कवितामा ठूलो जागरण आएको छ । शास्त्रीय छन्दको साथसाथ छन्दमै टेकेर गजल विधाको विकास चरम उत्कर्षमा पुगेको छ । कमल पोखरेल पुर्जागरणकालमा छन्द कवि पनि हुन् ।
कमल पोखरेलले जीवन र जगतप्रति आफ्नो धारणा यसरी राख्नु भएको छ । मानिसलाई संसारमा जन्म लिन दुर्लभ छ । जन्मपछि विद्यार्जन गर्न झन दुर्लभ छ । काव्य साधना अरु दुर्लभ छ । यही दुर्लभ काममा लाग्नु नै जीवन हो ।
उहाँकाजागिरे जिन्दगी कवितामा लगभग ५ दर्जन कविताहरु रहेका छन् । धेरै कविताहरु शास्त्रीय छन्दमा लेखिएका कविता हुन । विशेषतः वियोगिनी छन्दमा लेखिएका कविताहरु धेरै सफल छन् ।ती कविताहरुमा पहिलो कविता आउ बुुद्ध हो । यो कवितामा कवि कमललेबुद्धको आरधना गर्नु भएको छ । अज्ञानता, अन्धकारको युगमा ज्ञानको दियो बालेर अधैर्यलाई धैर्य र अशान्तलाई शान्त प्रशान्त बनाउनको लागि बुद्धको अवतार भएको हो भन्दै उनीप्रति नतमस्तक हुँदै विष्णु भगवान समकक्षीठान्दै एसियाका प्रकाश भन्नु भएको छ ।कवि लेख्नुहुन्छ —
जसरी रवि रातमा सदा
त्यसरी नै तिमी ता गयौ हरे ।
तर यो विश्व भयो सधै भरै
जगदीश्वर विष्णु अंश हो ।
कमल पोख्रेलका कविताहरु रतिरागात्मक खालका पनि छन् । रतिराग मानवीय स्वभाव हो । यो प्राकृतिक वरदान हो । विपरीत लिङगीप्रति आकर्षण हुनु र उसको रागात्मकतामा रमाउनु पनि जिन्दगी हो । रतिरात्मकताबाट साहित्य निकै प्रभावित छ । गजल विधा त प्रेमी प्रेमीकाको संवाद हो । कवि लेख्नुहुन्छ —
आँखा छन् शशि झैँ चमक्क गरने राता दुबै ओंठ छन्
साडी झल्लरका लगाई लडकी लक्ष्मीरुपि बन्द छन् ।
कवि कमलको अझै पख लाम खुट्टे व्याङग्यात्मक कविता हो । लामखुट्टे राजतन्त्रको प्रतीक हो । यो कविता प्रतिकात्मक छ । यो कविता धेरै पहिला लेखिएको हो । विद्यार्थीकालमै राजा र राजतन्त्रलाई पख लामखुट्टे भन्दै कविता लेखेर वाचन गर्दा प्रशासनको धरपकडमा परेको कविता हो ।
उहाँ यसरी लेख्नुहुन्छ —
अब पनि आउलास घरमा बास हरायो लामखुटेटे तेरो गास
तेरो छात्तीमा रोप्नेछु भाला आयो लामखुट्टे तेरो काल ।
उहाँका कविताहरुमा प्रकृतिको वर्णन गरिएको छ । कवि प्रकृति प्रेमी हो । कविले प्रकृतिको प्रतिबिम्ब कलात्मक रुपमा उतार्नु भएको छ । विभिन्न ऋतुहरु र पहाड, हिमाल आदिको प्राकृतिक श्रृङगार र त्यसको छटाबाट विमुग्ध भएर चित्रात्मक रुपमा वर्णन गर्नु भएको छ । कवि लेख्नुहुन्छ —
सारा लाली गुराँस पुष्प वनमा शोभा तरुको दियो
मनमा राग भावना पनि कति गुन्जिरहेको थियो
डाँडा पर्वत र खोंच शान्त पहरा सौन्दर्यले घेरियो
त्यसैले ऋतुराजझैँ समयमा झल्को दिएको थियो ।
कमलका कविताहरुले समसामयिक युगका प्रतिनिधित्व गर्छन् । वैदेशिक रोजगार नेपालीहरुको नियति हो । स्वदेशमा रोजगार नपाएपछि जीवनलाई सुखमय बनाउने सपना बोकेर विदेश जानै पर्छ । पछिल्लोपटक विदेशबाट सीप, पूँजी र प्रविधि ल्याएर नेपालमा व्यवसाय गर्नेहरुको उल्लेख्य संख्या हुन थालेको छ । मुलुक बनाउन अब बन्द समाज बनाउनु हुँदैन । तर पनि स्वदेशको मायाको लागि उहाँले वैदेशिक रोजगारको विषयमा पनि टिप्पणी गर्नुभएको छ । उहाँले वैदेशिक रोजगारमा प्ुुगेका नेपालीहरुको अभिव्यक्तिलाई यसरी चित्रण गर्नुहुन्छ —
साहिला माइला विदेश कस्तो छ
छाती पिटी चोच्याउनु जस्तो छ ।
कवि कमल साहित्यकार भएको नाताले कविहरुप्रति कृतज्ञता प्रकट गर्नुहुन्छ । उहाँले आदिकवि भानुभक्त आचार्यको सम्झनामा अनुप्राशयुक्त कविता यसरी लेख्नु भएको छ —
लहरा, पहरा छहरा लाग्छ तिम्रै सम्झनामा
कुँहुँकुहुँ गर्दै काइली बोलाउँछ रामायणमा
हाम्रा भानु फेरि जन्म भन्दै आमा कराउँछिन्
तिम्रै सम्झनामा धर्ती लाग्छ गह भिजाउँछिन् ।
जागिरे जिन्दगी उहाँको महत्वपूर्ण कविता हो । कवि कमलले यही कवितालाई शीर्ष कविता छान्नु भएको छ । यो सिङ्गो कृतिको भाव बोक्ने कविता हो । यसमा जागिरे प्रवृत्तिको उछितो काढ्नु भएको छ । जागीर खाँदाको समयमा जागिरेहरुको दासमनोविज्ञानको विश्लेषण गर्नु भएको छ । धेरै कर्मचारीहरुमा स्वभिमान निभेको छ ।यस कवितामा चाकडी, चाप्लुसी र जीहजुरीको धन्दामा लागेका अवसरवादी धुपौरेहरुको घतलाग्दो चित्रण छ । स्वभिमान गुमाएको एक चौटा मासु र रक्सीमा भुलेर नेपाल आमालाई लात्ती लगाउनेहरुको लागि यो कविताले भत्भत्ती पोल्छ ।
कविले लेख्नुहुन्छ —
यस्तो अचम्म रह्यो यो जागिरे जिन्दगी
अगरबत्ती सल्काएर फूल चढाउनेहरुका पछि
केही नलाग्दो रहेछ मिलेर भेटी चढाउनेका पछि
रहेन, धूप नैवेद्य द्रव्य दरिद्रलाई चढाइसकेपछि ।
कवि कमलले सहिद शीर्षकको कवितामा सहिदहरुको विजयगाथा लेख्नु भएको छ ।उहाँले सहिदहरुलाई उच्च सम्मान दिनु पर्छ भन्दै सहिदको सम्मानमा लाग्ने बताउनु भएको छ । सहिदका सपनाहरु पूरा गर्नको लागि प्रण गर्नु भएको छ । कवि लेख्नुहुन्छ —
जसले बुझ्ने छैन केरकार गर्छु
तिम्रो रक्तिम कथा भनेरै छोड्छु
हिंड्न खोजे तिम्रो बाटो पुगेरै छोड्छु
भावनालाई कुल्चे भने उखेलेर हिंड्छु ।
कविले शान्ति कता हरायो शीर्षकमा शान्ति अमनचयनको खोजी गरिरहनु भएको छ ।अभावमा पिल्सिनु पर्दा रआत्म सम्मान गुमाउनु पर्दामान्छेको मनमा उत्पन्न हुनेविरक्ति र वेचैनी अशान्ति हो । त्यसैले हामीले कारण कार्य शृङखलाका आधारमा शान्ति स्थापना गर्न समाजमा धेरै काम गर्न बाँकी छ । अशान्तिका मूल कारणहरु अस्तित्वको अस्वीकार, पहिचान विहीनता, सम्मानविहीनता, अभाव, असमानता हुन । यिनै कारणले समाजमा अशान्ति ल्याउँछ । त्यसैले कविताले यो विषयमा नीब गाड्नु बाँकी छ ।
यो कवितामा कवि लेख्नुहुन्छ —
नेपालीले नेपालको आत्म रुवाएर
मृत्युको त्यो दाजु भाइको खबर सुनाएर
के गर्नलाई गर्छाैं दुष्ट काम देशै रुवाएर
शान्तिप्रिय देश मेरो अशान्ति फिंजाएर ।
काव्य कलामा पारङ्गत हुन साधना चाहिन्छ । साधनाले मात्र हुँदैन, कल्पना शक्तिका साथ सिर्जना चाहिन्छ । काव्य कलामा बिम्ब, अलङ्कार र प्रतीकहरु स्वतःस्फूर्त रुपमा उनिएर आउँछन् । त्यस्तो व्यन्जना सामथ्र्य प्राप्त गर्न धेरै मेहनत चाहिन्छ । कविका कविताहरु अझै माझिन बाँकी छन् । अझै छन्द शास्त्रीय मानकमा ढाल्न बाँकी छ । कविताहरु सरल र सरस छन् । शुद्धशुद्धिमा त्यति खोट देखिदैन । भाषिक शुद्धता र परिस्कारमा जोड दिएको छ । कुनै कुनै कविता अनुप्राशयुक्त पनि छन् । लामो जागिरे जीवनको परिणाम स्वरुप यो कृति बजारमा आएको छ । नयाँ नयाँ स्रष्टालाई लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल सरह हेरिनु हुँदैन । यसमा रहेका कविताले जे जति कुरा उठाएका छन् ती सबै मर्मस्पर्शी छनर सन्देशमूलक छन् । ११२ पृष्ठमा फैलिएको यो कृतिमा रहेका कविताहरु मध्यमकायका छन् भने केही छोटा पनि छन् ।हामी कवि कमल पोख्रेललाई हार्दिक बधाई तथा शुभकामना टक्र्याउँदै नयाँ कृतिहरु छिट्टै बजारमा आउन, पढ्न पाउँ भन्ने कामना गर्दछौं ।