मैले लिला गिरीलाई विगत सोह्र वर्षदेखि मात्र चिनेको छु । त्यसभन्दा अघि असल व्यक्तिको रुपमा नाम सुनेको थिएं । सरलता विनम्रतामा उहाँको नाम पहिलादेखि अब्बल थियो । हरेक कार्यकर्ताहरुलाई समान रुपमा सम्मान गर्ने, सम्बोधन गर्ने र सबैलाई एकसाथ मूलधारमा हिंडाउन सक्ने समावेशी कला र क्षमता पहिलेदेखि नै थियो । मूलतः उनमा सम्पन्न भनिएकाहरुको भीषण आकर्षणमा परेर तल्ला भनिएकारुलाई नजरअन्दाज गर्ने अभिजात स्वभाव पटक्कै थिएन । यही समतलीय स्वभावले उनलाई माथि उठायो । उनको लोभलाग्दो सात्विक शैली दुनियाँको लागि दृष्टान्त हुन सक्छ । यही प्रसङ्गमा निब गाडेको छु ।
लिला गिरी मन्त्री भए । मन्त्री भएपछि उनले परिवार,नाता कुल कुटुम्बलाई ध्यान दिएनन् ।आफन्तले आश गरेका थिए होलान् तर आश्चर्य अल्पसंख्यक समुदायका एक कुशल व्यक्ति कृष्ण कुमाललाई सिधै नियुक्त गरेर समावेशी आत्मालाई उजागार गरे । यो उनको वर्गीय पक्षधरता थियो र परीक्षा पनि थियो । उनी मन्त्री भएपछि गरिएका सुधारका कामहरु निकै राम्रा थिए । उनले कोरोनाजस्तो महामारी रोगसँग भिड्नको लागि मुलुककै लागि अब्बल सन्देश दिएका थिए । उनले सत्तामा पुगेर भ्रष्टाचारीहरुको खेदो खने । एक पटक पाणिनि उद्यान जितगढीमा कार्यक्रममा मजदूर सम्मान गर्न प्रस्ताव गरिएको थियो । खासगरी हाम्रो समाजमा मजुरहरुलाई कहीं पनि सम्मान गरिदैनथ्यो । उनले त्यसअभियानलाई साँस्कृतिकरण गरी मजदुरको आत्म सम्मान बढाउन र उत्पादनमा उत्साह ल्याउन महत्वपूर्ण हुने भन्दै मजदुरलाई प्रेमपूर्वक सम्मान गरे । यो पनि वर्गीय पक्षधरता थियो । उनले उद्यमीलाई मुलुक बनाउन सुरक्षित अनुकूल वातावरण दिने निम्नवर्गलाई उठाउने नीति बनाउने कुरामा ध्यान दिन्छन् । उनी आफू मात्र बदलिएका छैनन् पार्टीलाई बदल्न चाहेका छन् ।
केही दिन अघि अत्यन्त परिपक्व लाग्ने लिला गिरीको शान्त र स्निग्ध अनुहारमा गान्धीको छाया देख्छु भनेर पोष्ट गरेको थिएं । धेरैले यो भनाईलाई लाइक गरे । प्रतिक्रिया दिए । मन पराए । मैले विचार गरें उनी निकै सम्मानित नेता रहेछन् । उनको निर्विवाद नेतृत्व क्षमता र समत्वभावलाई मन पराउँदा रहेछन् । उनको आवश्यकता अझै पनि रहेछ ।
यो पटक पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलकोे गालीरहित निर्वाचन अभियानलाई व्यवहारमा उतार्न सब नेताहरुबाट कोशिस गरिएको छ । यो गालीरहित निर्वाचन अभियानको प्रभाव मुलुकभर परेको छ । आफ्नो आत्मगत सुधारका विषयमा वास्ता नगर्ने, अर्का दल र नेताको कुरा दोचार्ने, परनिन्दामा रमाउने, हिंसा बलमा उद्दत हुने बाहुबली र गालकहरुलाई काबुमा राख्न सक्ने हो भने नेपाली राजनीतिमा बुद्धको जन्मभूमि रुपन्देहीबाट नयाँ सन्देश जाने छ । यस अभियानमा लिला गिरीजस्ता सात्विक व्यक्तित्वहरु अघि आउनु पर्छ । उनी अघि आएका छन् । यस अभियानलाई आत्मसात गरेका छन् । यसबाट पार्टी पार्टीहरु बिच द्वन्द्व घटेको छ । रुपन्देही शान्त छ र शान्त बनाउन लाग्नु पर्छ ।
अहिले नेता मात्र हैन, उनीहरुमा बदलिएको स्वभावसँगै कार्यकर्ताहरु बदलिएका छन् । श्रेष्ठ व्यक्तिहरुको आचरण हेरेर समाजमा परिवर्तन आउने हुँदा श्रेष्ठहरु दृष्टान्त बन्नु पर्छ । यस अभियानमा लिला गिरीहरु निर्वाचन आचारसंहिता पालन गरौं, हामीले विपक्षीहरुलाई निन्दा नगरौं र खर्च घटाऔं,अनि सरल, साधा र मितव्ययी बनौं भन्दै कार्यान्वयनमा जान थालेका छन् । एमालेले विपक्षीहरुको आलोचना र निन्दा गर्दैन । शिष्ट शालीन र मुस्कानसहितको प्रचार प्रसार गर्छ । यस्तो प्रचार शैली आउनुमा लिलागिरीको अन्तरनिहित चाहनाले मूर्त रुप लिएको छ । लिलामा बुद्धवादका विशेषताहरु मौजूद छन् । त्यस्तै अर्का महत्वपूर्ण सरलतामा आनन्द मान्ने अपराजित व्यक्तित्व भोजप्रसाद श्रेष्ठको शैली र चिन्तन पनि यो अभियानको लागि महत्वपूर्ण बनेको छ ।श्रेष्ठ निकै लोकप्रिय नेता हुन् । उनी सहजै जित्छन् ।
रुपन्देही २ का नेताहरुले अब क्याडरबेश्ड पार्टी बनाउने काममा लागेका छन् । पार्टीलाई क्याडरबेश्ड बनाउनु पर्छ । यसले पार्टी जनतामा आधारित हुन्छ । निर्वाचनमा सीमित व्यापारी र उद्योगीसँग चन्दा लिएर हैरान पार्ने अनि बजारमा मूल्य बढाउने र उपभोक्ताको ढाड सेक्ने विकृति अब आउन दिनु हुन्न । यसले पार्टीको स्वामित्व पनि हुनेखानेमा जान्छ । यो पटक एमालेले पार्टीलाई क्याडरवेश्ड बनाउनको लागि हरेक क्याडरबाट रु. ५० देखि ५ हजार रुपैयाँसम्म लिने गरिएको बुझिएको छ । पार्टीमा आर्थिक रुपमा कमजोर भएकाहरुलाई आफूले दिन नसक्ने गरी स्वघोषणा गर्नको लागि अवसर पनि दिएको देखिन्छ । रुपन्देहीबाट थालिएको यो अभियान क्याडरहरुले आर्थिक सहयोग गर्ने मात्र हैन,पार्टीमा चुन्न र चुनिन पाउने जनवादी अधिकार थाल्ने पूर्वअभ्यासको संकेत हो भन्न सकिन्छ ।
अब चमक दमक आडम्बर हैन । सरलता विनम्रता र मुस्कानसहितको चुनावी प्रचार अभियान चलाउनु पर्छ । निर्वाचन अभियानमा समत्वभाव प्रकट हुनु पर्छ । बुद्धवादका अष्टाङ्गिक मार्ग, चारआर्यसत्य र पञ्चशीलसहितका व्यवहारहरु निर्वाचन अभियानमा मिलाउनु पर्छ । मिसाउनु पर्छ । नेताहरुले फूल माला, अबीर, खादाले ढाकिएर सयौं कार्यकर्तालाई अगाडि पछाडि लाएर शक्तिशाली देखाउने बर्बरकालीनराजशी शैलीमा कमी आएको छ । आउनु पर्छ । खासगरी लिला गिरीको सरल स्वभावसँग यो अभियान ठ्याक्कै मिल्छ ।
समत्वभाव भनेको पण्डिताः सम दर्शिना नै हो । पण्डितहरु समदर्शी हुनु पर्छ । सबैलाई बराबर रुपमा हेर्ने भावना नै समदर्शी भावना हो । पछिल्लो पटक हाम्रा मञ्च प्रणालीहरु बदलिएका छन् । त्यसमा पनि समत्वभाव देखाउन थालिएको छ । समत्वभाव भनेको समानतामा आधारित भाव हो । आफूले चाहेका सग्ला सग्ला अग्ला अग्ला व्यक्तिहरुलाई विनेर उच्चासनमा राख्नेकाम कम हुन थालेको छ । अनि फूल माला खादा अबीर लाएर बस्ने राजशी सान र शैलीका साथ आसन ग्रहण गर्ने अनि तलका रैतीलाई ताली बजाउन लगाउने कुप्रथा हट्न थालेको छ ।समान उचाई अर्थात गोलाकारमा राखेर समानताको बोध गराउने विषयमा लिला गिरीजस्ता भागवतीय स्वभाव भएका नेताहरुले अभ्यास गर्न थालेका छन् । उच्चाशनले व्यक्तिलाई घमण्डी बनाउँछ ।
अब ठूला भेलाहरुमा मन्च भाच्चिने गरी पचासौं सग्ला सग्लाहरुलाई छानेर बिनेर आसन ग्रहण गराउने सामन्ती शैली आफै भाच्चिन थालेको छ । लम्बेतान भाषण गरेर अरुको समय विनष्ट गर्ने सम्बोधनमा चिउँडो तानी तानी आफ्ना मन परेकाहरुलाई मात्र दश मिनट लाएर सम्बोधन गर्ने भद्धा सामन्ती शैलीमा परिवर्तन आउन थालेको छ । नेताहरुले समय विभाजन गरेर बोल्न थालेका छन् । सबैलाई आत्म सम्मान दिने समतलीय पद्धतिको शुरु भएको छ । एमाले बदलिएको छ । बदलिनु पर्छ ।
वास्तवमा अवैतनिक स्वयंसेवकहरुका अभियानहरु समतलीय हुनु पर्छ । यसले नेतालाई असल बनाउँछ । अनि पोर्ट फोलियो विवाद आउँदैन । पोर्टफोलियो होला, दक्षता, सीप, कौशलता फरक—फरक होला र छ पनि । तर देखिने गरी तल र माथिको व्यवहार गर्ने बर्बरकालीन राजशी शैली बन्द गरिनु पर्छ । त्यसबाट धेरैलाई अपमानबोध हुन्छ । वर्गीय खाडल अरु गहिरिन्छ । क्रान्तिकारी परिवर्तन भनेको राजालाई हटाएर राजशी शैली ग्रहण गरी साटो फेरेको अर्थमा लिने हैन । परिवर्तनले समानताको बोध गराउनु पर्छ । त्यसैले हामीले परम्परागत स्वभाव बदलेर सात्विक शैली अपनाउनु पर्छ । यस कुरामा परिवर्तन आउन थालेको छ ।
परिवर्तन सामन्ती सानमा रमाउने नेताहरुमा ढिला आउन सक्छ तर पार्टीलाई कमरेड्ली बनाउन नसके नयाँ पिढीमा अकर्षण घट्न सक्छ । नेपाली राजनीतिक वृत्तमा त्यस्ता अभिलक्षणहरु देखिन थालेका छन् । निर्वाचनमा पनि माथि र तलको व्यवहार देखाउनु विडम्बना हो । त्यसैले अभियानलाई समतलीय बनाउने विषयमा लिला गिरीको व्यवहारिक सुझ्बुझ राम्रो छ । उनी हाम्रो दृष्टान्त हुन्, मानक हुन् । सरल हुन र साधगी हुन् । विभेदरहित व्यवहारका नायक हुन् । उनी फेरि पनि यही साधगी दृष्टान्त लिएर प्रदेश सरकारमा नेतृत्व गर्न आउनु पर्छ । लिला गिरीजस्तै बनौं भन्ने उदाहरण दिन सकियोस् । उनलाई सफलता मिलोस् । हार्दिक शुभकामना ।