प्रतिबद्धता—पत्र भनेको बनिसकेका संरचनाहरुको संरक्षण,आवश्यकता अनुसार पुन ःनिर्माण, बन्दै गरेका संरचनाहरुको पूर्णताको लागि गरिएको प्रतिबद्धता अर्थात बचनबद्धता हो । यो आगामी दीर्घकालीन योजनाहरुको संकल्प सहितको फेहरिस्त हो । पहिला पहिला यसलाई घोषणा पत्रभन्ने प्रचलन थियो । अहिले यसलाई प्रतिबद्धता पत्र भन्न थालिएको हो । प्रतिबद्धता पत्रको अर्थ एक प्रकारको लक्ष भेदी संकल्प प्रस्ताव हो । जुन अल्पकालीन, दीर्घकालीन योजनाहरुको यात्रा पत्र पनि हो । यसै बाट विकासका लक्षहरु पूरा गरिन्छन् ।
बुटवल नेपालको गौरवलाग्दो सहर हो । यो अरु सहरको तुलनामा निकै व्यवस्थित सहर हो । यो सहरमा सबै आयामहरुको सम विकासको अवधारणा अघि बढेको छ । विशेषतः यो ट्रान्जिट प्वायन्ट पनि हो । दक्षिण भारतमा जाने बेलहियासम्मको शानदार सडक, बुटवल नारायणघाट सम्मको ६ लेनको सडक, बुटवल पोखरासम्मको डेडिकेटेड डबल लेनको सडक, बुटवल चन्द्रौटासम्मका सडकहरु बनिसकेका,बन्दै रहेका र बन्ने क्रममा देखिन्छन् । बुटवल यिनै सडकहरुको क्रस सिटी हो । आगामी बीस वर्षमा बुटवल र बुटवलका आसपासका सहरहरुको जनघनत्व बढेर बीस लाखपुग्ने अनुमान प्रक्षेपण गरिएको छ ।
यही पूर्वानुमानको तथ्याङ्कमा टेकेर भविश्यको लागि कालीगण्डकी डाइभर्सनजस्तो बहुउद्देश्यीय योजनाको खोजि भएको हो । त्यसैले भविश्यको लागि यस परियोजनाको डिपिआर हुन थालेको छ । यसबाट बुटवल काठमाण्डौ भन्दा अरु सुविधा सम्पन्न सहर बन्ने छ । यस्तो भविश्य देख्ने नेताको रुपमा विष्णु प्रसादपौडेल पाएका छौं । यस्तै दीर्घकालीन सोंच भएका नेताहरुको कारण हाम्रो बुटवल चम्किलो बन्दैछ ।
यस्तो सहरको परिकल्पना भइरहँदा बुटवलको शैक्षिक विकासको लागि के कस्तो कार्यक्रम लिनु पर्ला भन्ने विषयमा प्रतिबद्धता पत्रमा आधारित विषय खोतलेर संक्षेपमा प्रस्ताव गर्छु । विद्यालयका पूर्वाधार संरचनाहरु विकासको आधार हो । लैंगिकमैत्री अपाङ्गमैत्री भवन, स्वच्छ र सफाकोठाहरु, कम्युटर ल्याब, पुस्तकालय, खेल मैदान, बाउन्डरी, खेलकुँद सामाग्री, खानेपानी, क्यान्टिन, शौचालयहरु शिक्षाका आधारभूत संरचना हुन् । यी संरचनाहरु गुणस्तरीय शिक्षाप्राप्ति र शिक्षण सिकाइ क्रियाकलापका सहयोगी पक्ष हुन् । यी संरचनाहरुले शिक्षण सिकाई क्रियाकलापमा सकारात्मक प्रभाव पार्छन् । त्यसैले विद्यालयको भौतिक विकासका लागि यो प्रतिबद्धता पत्रमा निकै महत्व दिइएको छ ।
यो प्रतिबद्धता पत्रमा तिलोत्तमा नगरपालिकाका प्रस्ताव गरिएको मेडिकल कलेजको प्रस्ताव अघि सारिएको छ । यस मेडिकल कलेजमा स्वास्थ्य विज्ञान विषयकासबै प्रमुख विषयमा स्नातकतह, स्नातकोत्तर तह र विद्यावारिधि तहको लागि कक्षा सञ्चालन गर्ने लक्ष छ । यहाँ सुविधा सम्पन्न मेडिकल कलेज निर्माण गरिनेछ । यसले भोलिका दिनहरुमा यो प्रदेशको लागि आवश्यक जनशक्ति निर्माणमा सहयोग गर्नेछ ।
यस प्रतिबद्धता पत्रमा तामनगर स्थित कोरियन बहुप्राविधिक शिक्षालयको मुलुककै उत्कृष्ट प्राविधिक तथा व्यवसायिक विद्यालयको रुपमा विकास गर्ने लक्ष रहेको देखिन्छ । सहरीकरणको साथै आवश्यक जनशक्ति निर्माणको लागि यो बहु प्राविधिक विद्यालयले रोजगारी र स्वरोजगारीको विषयमा सकारात्मक प्रभाव पार्नेछ । त्यसरी नै बुटवल टेक्निकल इन्स्च्यूटलाई इन्जिनियर कलेजको रुपमा विकास गर्ने योजना रहेको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति गरी शैक्षिक गुणस्तरमा ध्यान दिइनेछ । बुटवल बहुमुखी कलेजको गुरुयोजना तयार गरी सुविधा सम्पन्न पूर्वाधार निर्माण गरी शैक्षिक स्तर बृद्धि गरिने लक्ष छ । देवदहमा बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस, प्रशासनिक भवन, अन्य संरचना निर्माण गर्ने लक्ष रहेको देखिन्छ । यस विश्वविद्यालयलाई बहुविषयक विश्वविद्यालयमा विकसित गर्ने लक्ष छ । नयाँगाउँ स्थित सिटी कलेजलाई बौद्ध विश्वविद्यालयको उत्कृष्ट आंङ्गिक क्याम्पसको रुपमा विकास गरिने लक्ष छ ।
यस क्षेत्रमा रहेका सामुदायिक क्याम्पसहरु खासगरी राममणि क्याम्पस, शंकरनगर बहुमुखी क्याम्पस, पर्रोहा बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, बुटवल कालिका क्याम्पस, सरस्वती संस्कृत विद्यापीठ लगायतका सामुदायिक क्याम्पसको संरचनागत सुधार र शैक्षिक गुणस्तरको लागि विशेष योजना बनाइने छ । सैनामैना कृषि तथा वन विश्वविद्यालय अन्तरगत कृषि क्याम्पस स्थापना गरिनेछ । माध्यमिक तहका सामुदायिक एवं संस्थागत विद्यालयको कम्तीमा एउटा विषयमा प्राविधिक तथा व्यवसायिक विषय राखिनेछ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको लागि विद्यालय शिक्षा सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ । यस क्षेत्रलाई गुणस्तरीय शैक्षिक हवको रुपमा विकास गरी हजारांै उत्कृष्ट जनशक्ति यही नै खपत गर्नका लागि संस्थागत विद्यालयहरुसँग पनि सहकार्य गरिनेछ । सामुदायिक तथा संस्थागत विद्यालयको प्रतिस्पर्धाबाट गुणस्तर बढाउने लक्ष लिइनेछ । पछिल्लोपटक सामुदायिक विद्यालयहरुमा देखिएको उत्साह र गुणस्तरीय उत्पादनमा प्रतिस्पर्धाले काम गरेको पनि छ । विद्यालयका संरचनाहरु निर्माण गर्दा लैङ्गिक मैत्रीर अपाङ्गमैत्री संरचना निर्माण गरिनेछ ।
वास्तवमा हाम्रो भाग्य हामीले बनाउने हो । भाग्य चाल्नामा दूध दोएर अडिदैन । भाग्यको फैसलागर्ने हामीले हो । यो दूरदृष्टि राख्ने नेता र हाम्रो सम्बन्धबाटै यो सपना पूरा हुन्छ । त्यसैले बनिसकका योजनाहरुको संरक्षण र बन्दै रहेका योजनाहरुको प्रवद्र्धन र भविश्यमा बन्ने योजनाहरुको कमिटमेन्ट आजको आवश्यकता हो । जे होस् यो निर्वाचन क्षेत्रमा यी योजनाहरु पूरा गर्न सके हाम्रो भाग्य बढ्नेछ । यो विशाल सहरमा लाखौँको रोजगार र स्वरोजगारको लागि यी शैक्षिक संस्थाहरुले निकै राम्रो प्रतिफल दिनेछन् । यसमा एमालेले सबै दलका नेताहरुसँग आपसी सहकार्य गर्नु पर्नेछ ।