बुटवल–बुटवलको शैक्षिक इतिहासको चर्चा गर्दा इरादेवी थैवलाई छुटाउनै मिल्दैन । यहाँका आधा दर्जन विद्यालय स्थापनामा उनको ठूलो योगदान छ । इरादेवीले विद्यार्थी जिवन र शिक्षण यात्राका क्रममा थुप्रै संघर्ष र चुनौतीको सामना गर्नुपर्यो । विद्यालयमा पढ्दा असहजता आइलागेपनि नजितामा भने अब्बल भइरहिन् । शिक्षासेवा सँगै समाजसेवामा पनि उनको नाम अग्रपंतिमा आउँछ ।
वि. सं. १९९८ सालमा इरादेवी बुटवलमा जन्मिन् । पहिलेदेखि नै उनको परिवार वर्षको आधा समय बुटवल र आधा समय पाल्पामा बसोबास गर्दथ्यो । त्यतिबेला बटौलीमा व्यापार गर्नेहरु बर्खाको समयमा पहाडमा बस्ने र हिउँदमा व्यापार गर्न बटौली झर्थे । इरादेवीको बाल्यकाल पनि ६ महिना पाल्पा ६ महिना बटौली भएर बित्यो । छोरीहरुले पढ्ने कुरा कल्पनाभन्दा टाढा थियो त्यो बेला । बुटवलमा विद्यालय नखुल्दै पाल्पा तानसेनको टुडिखेलमुनि अमरजंग विद्यालय खुलिसकेको थियो । २००८ सालमा बुटवल हाइस्कुल पनि खुल्यो ।
पाल्पा र बुटवल दुवै ठाउँका विद्यालयमा छोरीहरु विद्यालय जाँदैनथे । तानसेनको बुद्ध विहारमा भने बालिकाहरु पनि पढ्ने गरेका थिए । एकजना साथीको जोडबलमा इरादेवी पनि तानसेनको टक्सारस्थित विहारमा पढ्न जान थालिन् । बुटवल आएर पनि उनी यहाँको बुद्ध विहारमा भिक्षुभिक्षुणीसँग पढिन् । तीन–चार कक्षाको पढाइ उनले विहारमै पढिन् । २०१२ सालतिर स्थानियबासीले मुठीदान गरेर आदर्श कन्या विद्यालय खुल्यो । ‘राजा महेन्द्रबाट कन्या स्कुलको उद्घाटन भएको थियो । म पनि त्यसबेला स्वागत गर्न गएकी थिएँ’–उनले सम्झिन् ।
६ कक्षा सम्म उनले कन्या स्कुलमै पढिन् । कन्या स्कुलभन्दा पहिले बुटवल हाइस्कुल खुलिसकेको थियो । हाइस्कुलको मान्यता पाउन २ सय जना विद्यार्थी आवश्यक थियो । विद्यार्थी पु¥याउन कन्या स्कुललाई बुटवल हाइस्कुलमा गाभ्न खोजियो । तर आदर्श कन्यामा पढिरहेका इरादेवी लगायतका विद्यार्थी भने स्कुल गाभ्न नदिने पक्षमा लागे । ‘हामीले हाइस्कुलसँग नमिल्ने भनेर विरोध ग¥र्यौं । बुटवलका बाँकी सबै कन्या स्कुललाई गाभेर हाइस्कुलको मान्यता दिलाउन लागे’–उनले भनिन्–‘आमाबुबा दाइहरु, समितिका मान्छेले सम्झाएपछि हामी सहमत भयौं । तर २ सय भन्दा बढी विद्यार्थी पुगेपछि कन्या स्कुललाई छोड्पर्छ भनेर कबुल गरायौं । त्यो कबुलनामा अझै होला हाइस्कुलमा ।’ बुटवल माविमा पढ्दै गर्दा आमा सिकिस्त बिरामी, भाउजु सुत्केरी भएर घरायसी समस्या आइलाग्यो अनि विद्यालय छोड्नुप¥यो । ‘६ कक्षामा प्रथम भएर पनि मैले विद्यालय छोड्नुप¥यो । भाइ बहिनी भने पढ्न गइरहन्थे’–उनले भनिन् । इरादेवी थैव चार–पाँच वर्ष विद्यालय गइनन् । विद्यालय नगएपनि उनले पढाइ भने जारी नै राखिन् । ‘बहिनीको नोट कापी र किताव ऊ सुतिसकेपछि मैले पढ्थें’–इरादेवीले भनिन्–‘अमिलो पिरो टेबुलमा राख्ने । लाल्टीन बालेर १० बजेदेखि दुई तीन बजेसम्म पढ्ने समय थियो मेरो ।’
विस्तारै समय अनुकुल बन्दै गयो । ६ कक्षामा पढ्दै गर्दा विद्यालय जान छाडेकी उनी केही वर्षपछि एकैपटक १० कक्षामा भर्ना हुन खोजिन् । बुटवल हाइस्कुल जाँदा शिक्षकहरुले भर्ना लिन मानेनन् । बल्लतल्ल ९ कक्षामा भर्ना पाइन् । बुटवल हाइस्कुलमा त्यसबेला नेपाली शिक्षकबाहेक सबै भारतबाट आएका शिक्षक थिए । प्रधानाध्यापकसमेत भारतबाटै ल्याइएको थियो । हाइस्कुलमा १० कक्षामा पढ्दै गर्दा एकपटक उनको प्रधानाध्यापकसँग विवाद भयो । विवादले प्रहरी थानामा समेत पु¥यायो । ‘विज्ञान र भूगोलको शिक्षक भएनन् । हामी शिक्षकको माग गर्दै निवेदन लिएर हेडमास्टरसँग गयौं । हेडमास्टरले खै के सोंचे के बुझे । उल्टै हामी विरुद्ध थानामा उजुर पो गरे–हाँस्दै उनले भनिन्–‘समातेर लग्यो दिनभर थानामा बस्यौं । पछि सहायक अञ्चालाधीश आउनुभयो । हामीले विज्ञान र भूगोल पढाउने शिक्षक चाहिएको कुरा सुनायौं ।’
सहायक अञ्चलाधीशले विद्यार्थीको माग त राम्रै रहेछ । तपाईले के बुझ्नुभयो भनेर हेडमास्टरसँग प्रश्न गरे । बेलुका विद्यार्थीहरु छुटे ।
बुटवल हाइस्कुलमा लफडा परेपछि इरादेवीको मन फेरियो । उनी फेरी पाल्पातिर लागिन् । त्यहाँको जनता विद्यालयमा भर्ना हुन खोजिन् । ‘त्यहाँ १० कक्षाको पढाइ सकिईसकेको रहेछ । हेडसरले पढाइ सकिईसक्यो । कसरी कभर गर्छौ भन्नुभयो’–इरादेवीले हेडमास्टरसँग भनेको सम्झिन्छिन्–‘ल मेरो परिक्षा लिनुहोस्, फेल भएँ भने फर्कन्छु, नत्र मलाई विद्यालयमा पढ्न दिनै पर्छ ।’
साह्रै जोडबल पछि इरादेवीको परीक्षा लिइयो । सबैमा राम्रो गरिन् । ‘कक्षाका सबैलाई टेष्ट जस्तो गराएका थिए । त्यहाँका विद्यार्थीको भन्दा मेरो नम्बर धेरै आयो’–उनी भन्छिन्–पास भएपनि विद्यालयले अर्को अड्को थाप्यो । विद्यालयमा बस्ने सिटै छैन भर्ना गर्न मिल्दैन भने । मेरो दाइको साथीले टेबुल कुर्सी म दिन्छु भनेपछि उनीहरुले मेरो भर्ना गरे ।’ तानसेनबाट एसएलसी पास भएपछि केही समय तानसेनमै आइए सुरु गरिन् । पछि आइए पढ्न वनारस गइन् । वनारसबाट आइए पास गरिन् । २०२० सालतिर बुटवल नगरपञ्चायत आफैंले पाँच वटा निःशुल्क पाठशाला सञ्चालन गर्ने भयो । पाँच वटा प्राथमिक पाठशाला र एउटा गणेश जनता निमावि चलाउन आइए पास गरेको प्रधानाध्यापकको खोजी भयो । त्यसबेला आइए पास गरेको व्यक्ति पाउन पनि कठीन थियो ।
इरादेवीले आइए पास गरेको थाहा पाएपछि सबैले उनलाई घेरा हाले । ‘म बीए पढ्न काठमाडौ जान लागेको थिएँ । प्रधानपञ्च, दाइका साथीहरु र घरपरिवारले एक दुइ वर्ष जसरी पनि हेरिदिन जोड गरे–उनले भनिन्–मैले पढ्न छोडेर मैले ५ वटा निःशुल्क पाठशाला र गणेश जनता निमाविको प्रधानाध्यापक भएर बसेँ ।’
अहिलेको कान्ति मावि त्यसबेला गणेश जनता निमावि थियो । त्यसबाहेक कालिका मावि, ज्ञानोदय मावि, तिलोत्तमा मावि तथा पारी बुटवलका उजीरसिंह मावि र सरस्वती निमावि प्राथमिक तहका पाठशाला थिए । नाम नभएर त्यसबेला एक, दुई, तीन भनेर संख्याले चिनिन्थ्यो । सबै विद्यालयको इरादेवी प्रधानाध्यापक र पाठशालाहरुमा सहायक प्रधानाध्यापकको व्यवस्था थियो । प्रधानाध्यापकको रुपमा उनी दिनहँुजसो सात आठ किलोमिटर हिडेर सबै विद्यालयमा पुग्थिन् ।
‘त्यसबेला मोटरगाडी रिक्सा केही थिएनन् । अहिलेको कान्ति स्कुलबाट जंगलको बाटो हिँडेर कालिका स्कुल भएको ठाउँमा पुग्नुपर्दथ्यो । त्यहाँबाट फेरि उजिरसिंह हुँदै पारीका स्कुलमा पुग्थें’–इरादेवीले भनिन्–‘त्यसबेला मेरो निकै प्रसंसा हुन्थ्यो । ६ वटा स्कुल इरा थैवले कसरी चलायो होला भनेर साथीका बाबुहरुले छोरीलाई गाली गर्थे ।’
बुटवल क्षेत्रको आइए पास गर्ने पहिलो महिला हुन् इरादेवी । त्यस्तै बुटवलको मात्र नभई सम्भव नेपालकै पहिलो महिला प्रधानाध्यापक पनि हुन् उनी । ‘काठमाडौमा देशभरका प्रअहरुको हप्तादिन जतिको सेमिनार थियो । देशभरबाट सहभागी हेडमास्टरमा महिला म मात्र रहेछु’–उनले भनिन्–‘निशुल्क प्राथमिक पाठशाला चलाएकोमा उत्कृष्ट पनि बुटवल नगरपञ्चायतकै भयो ।’
इरादेवी प्रअ भएको बेला बुटवलमा ६ वटै विद्यालयका भवन निर्माण भए । २ वर्ष विद्यालयको सञ्चालन, पूर्वाधार निर्माण र शैक्षिक व्यवस्था मिलाएर उनी स्नातक पढ्न काठमाडौ गइन् । त्रिचन्द्र कलेजमा भर्ना भइन् । स्नातक पढाइपछि बुटवल आइन् । राजनीतिक र सामाजिक कामहरुमा सहभागी भइन् । पञ्चायतको चुनावमा कांग्रेसको तर्फबाट जनपक्षिय उमेद्वार बनेर बुटवल २ को वडाध्यक्ष र नगरपञ्चायतको सदस्य पनि भइन् । बुटवलका कतिपय सामाजिक संघ संस्थाकी उनी संस्थापक सदस्य हुन् ।
नेपाल परिवार नियोजन संघ रुपन्देहीको अध्यक्ष हुँदै कन्द्रीय सदस्य भइन् । जिल्ला रेडक्रसको उपाध्यक्ष र लामो समय ब्लड बैंकको संयोजक रहिन् । नेवापुच, विश्व हिन्दु महासंघ, वृद्धाश्रम, विद्यालय, मन्दिर, विहार लगायत थुपै संस्थामा उनी आबद्ध छिन् । ७८ वर्षीय इरादेवी थैव अविवाहित रहेरै सामाजिक क्षेत्रमा क्रियाशील रहिन् । ‘पढाइपछि राजनीतिमा लागियो, राजनीतिपछि सामाजिक काममा क्रियाशिल भइयो । सामाजिक पछि अब अहिले धार्मीक तर्फ बढी केन्द्रीत छु भनौं’–इरादेवीले भनिन् ।