तिलोत्तमा । बाग्लुङ्गका हिमलाल आचार्य १७ वर्ष अघि बसाइँ सरेर रुपन्देही आउनुभयो । भैरहवामा होटल व्यवसाय गर्दै आउनुभएका आचार्य त्यहाँबाट पनि बसाइँ सरेर तिलोत्तमा नगरपालिकामा आउनुभयो । अहिले तिलोत्तमाको वडा नं ९ मंगलापुरमा स्थायी घर बनाई व्यवसाय गर्नुहुन्छ । १५ वर्षअघि हिमलालले घर बनाउँदा वडा नं ९ को एकता पथमा अरु घर थिएनन् तर, अहिले लस्करै घरहरु बनेका छन् र बन्दै गरेका पनि छन् ।
हालै मात्र बाग्लुङ्गकै भिम बहादुर थापाले पनि हिमलालकै नजिकमा घर बनाउनुभएको छ । ५० वर्षको उमेरमा पुख्र्यौली थलो बाग्लुङ्ग छाडेर थापाले तिलोत्तमामा घर बनाउनुभएको छ । यो टोलमा यस वर्ष मात्रै तीनवटा नयाँ घरहरु बने भने संगैको अर्को टोलमा पनि चारवटा नयाँ घर थपिएका छन् ।
तिलोत्तमाको वडा नं ९ तुल्सीपुरमा पनि अहिले धमाधम नयाँ घरहरु बन्दै गरेको देख्न सकिन्छ । केही वर्षअघि वर्षायाममा खेत र बाटो छुट्याउनै गाह्रो हुने जग्गा अहिले नमूना बस्तीका रुपमा विकास भएको छ । सडक छेउछाउ अहिले घरहरुले भरिएका छन् । खेतीयोग्य जमिन घडेरीमा परिवर्तन भएको छ । तिलोत्तमामा स्थायी रुपमा मात्र नभई अस्थायी रुपमा डेरामा बसोबास गर्नेहरुको संख्या पनि उत्तिकै बढ्दो छ । ३ वर्षअघि उच्च शिक्षाका लागि तिलोत्तमा झरेका गुल्मीका ऋषि पाण्डे अहिले डेरामै बसी सरकारी जागीर गर्नुहुन्छ । मर्चवारका दिनेश लोध पनि डेरामा बसी ग्यारेजमा काम गर्नुहुन्छ ।
त्यस्तै पाल्पाका मनिषा थापा डेरामै बसी उच्च शिक्षा अध्ययन गर्नुहुन्छ भने छोराकै पढाइका लागि भनेर गुल्मीकी गंगा बलाल तीन वर्ष अघि तिलोत्तमा झर्नुभयो । १० वर्ष अघि वडा नं ९ को तुल्सीपुर गाँउमा मात्र बाक्लो घर थिए भने टोलहरुमा पातला घरहरु देखिन्थे । गाँउका प्राय सबै मानिसहरुलाई सजिलै चिन्न सकिन्थ्यो । तर, अहिले बसाँइसराई गरी नयाँ घरहरु बनाउने र डेरा गरी बस्नेहरुको संख्या ह्वात्तै बढेसँगै गाउँकै मानिसहरु चिन्न हम्मेहम्मे पर्छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पेशा व्यवसाय, शिक्षा आर्जनलगायतका बहानामा स्थायी र अस्थायी रुपमा बसाईसराई गरी आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । विदेशमा कमाएको धनले घरजग्गा जोड्नेहरु बढी देखिएको वडा नं ९ का वडा अध्यक्ष धु्रव न्यौपाने बताउनुहुन्छ । विशेषगरी पहाडी जिल्लाहरुबाट बसाँई सरी यहाँ आउने क्रम बढेको उहाँको भनाइ छ । पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङ्गलगायतका पहाडी जिल्लाहरुबाट बसाई सरेर तिलोत्तमामा आउने गरेको पाइएको छ ।
तिलोत्तमामा पहिले गाविस हुँदा र अहिले नगरपालिका हुँदा विकास निर्माणले फड्को मारेको छ । उक्त विकासले अन्य जिल्लाहरुबाट बसाँइसराई गरेर आउने क्रम बढ्दो छ । क्रमिक रुपमा हुँदै गएको विकासले जनताको मन लोभ्याएको छ । सजिलो बाटो, नजिकै अस्पताल, सुविधासम्पन्न विद्यालय, क्याम्पस, खानेपानी र टेलीफोन, इन्टरनेटजस्ता सुविधाले भरिपूर्ण तिलोत्तमा नगरपालिकामा दुर्गम क्षेत्रका नागरिकहरु बसाँई सरेर आउने क्रम बढ्दो छ ।
यस नगरपालिकाको वडा नं ९ मा मात्र होईन अन्य वडाहरुमा पनि बसाँइसराई बढ्दो छ । विकास निर्माणले वडा नं ५ मणिग्रामको स्वरुप नै फेरिएको छ । जसकारण पनि मणिग्रामलाई तिलोत्तमाको केन्द्रबिन्दु मानिन्छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमाको कोटिहवा, भलवारी, मणिग्राम र ड्राईभरटोलमा जडान गरिएको ट्राफिक लाईट, राजमार्गमा लगाईएका सडक बत्ती, फूल र रुखबिरुवाहरुले तिलोत्तमाको सुन्दरता अझ बढाएको छ । यसरी क्रमिक रुपमा बढ्दो शहरीकरण र भौतिक सेवा सुविधाले तिलोत्तमा नगरपालिकाको मुख्य राजमार्ग र बस्तीहरुमा मात्र नभई भित्री टोलबस्तीहरुमासमेत बसाँइसराईको क्रम बढ्दो छ ।
आर्थिक वर्ष २०७९ साउनदेखी आर्थिक वर्ष २०८० असार मसान्तसम्म मात्रै एक हजार चार सय २३ जना तिलोत्तमा नगरपालिकामा बसाई सरी आएको नगरपालिकाको पञ्जिकरण उपशाखाले जनाएको छ । आफन्त, इष्टमित्र, सन्तानको पढाइलेखाई र रोजगारीका लागि भन्दै गाँउ छोडी शहरतिर प्रवेश गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
तीन तहको सरकार निर्माण भएपछि स्थानीय तहले नयाँ नयाँ योजनाअनुरुप काम गरेको प्रतिवेदन प्रस्तुत गरेका छन् भने जनप्रतिनिधिहरु गाँउघरमै खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली, बाटोघाटो, पुलपुलेसो निर्माणजस्ता विकासको लहर चलेको बताउँछन् । घरदैलोमै पुगेको सडक र घरआँगनमै पुगेको सरकारी सेवाले पहाडी क्षेत्रका जीवनशैलीमा केही फरकपन ल्याए पनि बसाँइसराईको क्रम भने रोकिएको छैन ।