परासी–गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी पश्चिमको रामग्रामको ऐतिहासिक र पूरातात्विक वास्तविकता पत्ता लगाउन भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ ।
युनेस्कोमार्फत यूके एलायन्सको आर्थिक सहयोग, बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबारदेखि भौगर्भिक अध्ययनको काम थालिएको हो ।
रामग्राम नगरपालिका–७ उजौनीमा रहेको १० मिटर लम्बाई र २३ दशमलव पाँच मिटर व्यास रहेको रामग्राम स्तुप क्षेत्रको फैलावट र जमीनमुनिको अवस्थाका बारेमा अध्ययन हुने पुरातत्व विभागका पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए ।
‘जमीनको सहतबाट करीब दुई मिटरभित्र सम्मको भौगोलिक बनावट, संरचना र पुरातात्विक वस्तुहरुको अवस्थालाई कुनैपनि खनजोत नगरी तस्बिर वा एक्स–रे सरह खिचेर निकालिन्छ, उनले भने– त्यही रिपोर्टका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन गर्न मदत पुग्छ ।’
यो सर्भेबाट रामग्राम स्तुपाको मुनिपट्टि कस्ता भग्नावशेष र पुरातात्विक वस्तुहरु रहेका छन् भन्ने तथ्य फेला पर्ने र उत्खनन् तथा अन्वेषणका लागि सजिलो हुने उनले बताए ।
सर्भेका लागि बेलायतबाट विज्ञहरुसहितको टोली रामग्राममा खटिएको छ । नेपालमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि, मेशिनरी उपकरण र पर्याप्त विज्ञ नभएका कारण बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञसहितको टोलीले अध्ययन गर्नेछ । यसपटक सो टोलीले मंसिर १ गतेसम्म भौगर्भिक अध्ययनको काम गर्नेछ र प्रतिवेदन तयार पार्नेछ ।
१९ वर्षअघि सन् १९९९ मा रामग्राम स्तुपाको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो । स्तुपाको आसपासमा बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकँुडालगायतका विभिन्न भग्नावशेष फेला परेका थिए ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरुलाई एकीकृत रुपमा समेटेर विकास गर्ने र वृहत्तर लुम्बिनीका रुपमा अघि बढाउने सरकारको योजनाअनुसार बुद्धजन्मस्थल लुम्बिनीबाहेकका क्षेत्रमा पनि अध्ययन, अनुसन्धान हुन थालेको छ ।
रामग्राम स्तुपालाई युनेस्कोको विश्व सम्पदाको सूचीमा समावेश गर्न सिफारिश गरिएपनि सूचीमा समावेश हुन सकेको छैन ।
गौतम बुद्धका सातवटा अस्तुधातुमध्ये एउटा मात्र सिङ्गो अस्तुधातु रामग्राम स्तुपामा रहेको छ भनिदै आएको छ । तर पर्याप्त अध्ययन, अनुसन्धानका अभावमा यसको पुष्टि गर्न सकिएको छैन ।
सन् १८९६ देखि अध्ययन शुरु भएको भएपनि साधनश्रोतको अभावमा पुरातत्व विभाग र लुम्बिनी विकास कोषले अध्ययनमा ध्यान दिन सकेका थिएनन् ।
सरकारी निकायबाट प्रचार गरिएका जानकारीमूलक सूचनाहरुमा चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी) को यात्रा विवरणका आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका आठ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनिएको छ ।