बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारहरुले राजीनामा दिएको चर्चासँगै अर्को चर्चा छ-ती पदमा को जाँदैछ ?
प्रधानमन्त्रीको मुख्य सल्लाहकार र सल्लाहकारहरुले प्रधानमन्त्रीलाई साँघुरो घेराभित्र राखेको भन्दै आलोचना भएको थियो । खासगरी मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र मन्त्री तथा सचिवहरुको कामका बारेमा अधिकारभन्दा बढी हस्तक्षेपकारी भूमिका खेलेको भन्दै आलोचना भएको थियो ।
यसकारण पनि रिमाललाई पनि हटाउनुपर्ने तर्क नेकपाभित्रकै बौद्धिक जमातबाट कुरा उठिरहेको थियो । तर प्रदेश ५ का मुख्यमन्त्री रहेका नेकपा नेता तथा केपी ओलीका नजिकका मानिने शंकर पोखरेलले रिमाललाई हटाउन नहुने आशय व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्-प्रमको समृद्ध नेपाल, सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।
उनको यो भनाईले दुईवटा कुराको सन्देश दिन खोजेका छन् । १-पोखरेल रिमाललाई नै पुन: प्रधानमन्त्रीको सल्लाहकारमै राख्न चाहन्छन् । २-मुख्यमन्त्री स्वयम् मुख्यमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको सल्लाहकार बन्दैछन् भन्ने चर्चाको खण्डन ।
अर्को तर्फ केपी ओलीका दाहिने हात भनेर चिनिने पोखरेलले सल्लाहकार परिवर्तनको विषयलाई नकारात्मक ढंगले भइरहेको प्रचारलाई खण्डन गर्न पनि खोजिरहेको देखिन्छ ।
मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय सभा सचेतक खिमलाल भट्टराईले मन्त्रिमण्डल र सचिवालयमा हेरफेर भएपनि मुख्यमन्त्री शंकर पोखरेल मुख्यमन्त्रीबाट राजीनामा दिएर सल्लाहकार बन्ने कुराको खण्डन गरे ।
'मन्त्रिमण्डल र सचिवालय हेरफेर हुनसक्छन्, अरु कुराहरु त हल्लामात्रै हुन्-उनले भने ।
नेकपाले भने मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल गरिरहेको छ । कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मातृका यादवलाई बिदा दिनेबारे आन्तरिक रुपमा छलफल चलिरहेको छ ।
उनीहरुलाई हटाएर नयाँ मन्त्री बनाउनेबारे नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पटक पटक छलफल भएको छ । तर निर्णय हुन भने बाँकी नै छ ।
यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारको जिम्मेवारी पनि दिनेबारे पनि चर्चा चलेको थियो ।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, भीम रावल, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङमध्येबाट मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ ।
उपसभामुख शिवमाया तुम्बाहम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने र सभामुखमा नेकपाबाट लग्नेबारे छलफल भएको छ । तर उनले सभामुख बनाउने भएमात्रै राजीनामा दिने शर्त राखेकी छन् ।
नेकपाले उपनिर्वाचन अघि नै मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको छ ।