बुटवल । प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले कृषि मन्त्रालयले दिएको अनुदान दुरुपयोग गर्ने अनुदानग्राहीबाट रकम असुलउपर गर्न र अनुदान दिएवापत् कमिसन माग्ने पदाधिकारी तथा कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई समितिले आफ्नो अनुगमन प्रतिबेदन बुझाउदै अनुदान दुरुपयोग गर्ने अनुदानग्राही र कमिसन माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको हो । कारबाहीका लागि समितिले अनुदानग्राही किसानसँग कमिसन माग्ने कर्मचारी र दुरुपयोग गर्ने किसानको नामसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको सो प्रतिवेदन मुख्यमन्त्री कार्यालय, सभामुख र मन्त्रालयलाई बुझाइएको समितिका सभापति विजयबहादुर यादवले जानकारी दिए ।
मन्त्रालयका मत्स्य विकास अधिकृत दीपक भुसाल र पौडेल थरका ‘एकाउन्टेन्ट’ले कमिसन मागेको प्रतिवेदनमा उल्लेख छ ।
दाङका मासु व्यवसायी बलिराम खत्रीबाट मस्त्य विकास अधिकृत दीपक भुसालले एक लाख ५० हजार अनुदान माग गरेको किटानी प्रतिवेदन उल्लेख गरिएको छ । समितिले अनुदान दुरुपयोग गर्ने किसानबाट रकम फिर्ता गर्न र कमजोरी गर्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले १२ जिल्लाका करिब एक सय कृषि फर्मको अनुगमन गरेको थियो । तीमध्ये ८० प्रतिशत फर्ममा अनुदान रकम दुरुपयोग भएको प्रतिवेदन औंल्याइएको छ । मन्त्रालयले गतवर्ष पौने दुई अर्ब अनुदान बाँडेको थियो ।
सो रकम १२ सय किसानलाई वितरण गरिएको थियो । मन्त्रालयले समूहगत फर्मलाई लागतको ७५ प्रतिशत र व्यक्तिगत फर्ममा ५० प्रतिशतका दरले अनुदान दिने नीति लिए पनि अधिकांस किसानले आफूले लगानी गर्नुपर्ने रकम लगानी नगरेको र केहीले पुरानै फर्मलाई नयाँ भनेर अनुदान लिएको समितिको प्रतिबेदनमा उल्लेख छ । बाख्रा पालन, गाई पालन, तरकारी खेती, फलफूल खेती, बंगुर पालनमा दिइएको अनुदान दुरुपयोग भएको समितिले जनाएको छ । कामै नगरेका किसानलाई मन्त्रालयले सजिलै अनुदान दिएकाले मिलेमतोमा दुरुपयोग भएको निष्कर्ष समितिको छ ।
रुपन्देहीको अष्ट्रिच नेपाल प्रालिलाई दिने भनिएको पाँच करोडको ५ प्रतिशत २५ लाख पौडेल थरका लेखापालले कमिसन मागेको समितिले जनाएको छ । अष्ट्रिच पालक किसान सीपी शर्माले ५ कारोडमध्ये ३ करोड ८६ लाख १० हजार मात्रै पाएको र अन्य अनुदान दिन आलटाल गरेको समितिको प्रतिबेदनमा जनाइएको छ ।
गैरकिसानले अनुदान पाउनुमा कर्मचारीको मिलेमतो देखिएकोले त्यसमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने समितिको निष्कर्ष छ ।
त्यसैगरी कृषि प्रविधिहरू सदुपयोग नभएको समितिले जनाएको छ । कृषि उपज संकलन र ढुवानीका लागि दिइएका साधनहरूमा ढुंगागिट्टी बोक्ने गरिएको, ट्याक्टरहरू व्यक्तिगत प्रयोजनमा लगाएको तथा दूध नै उत्पादन कम हुने स्थानमा ४ हजार लिटरको ट्यांकर वितरण गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । अनुगमनका क्रममा समितिले अनुदानमा खरिद भएका उपकरण पनि प्रयोगविहीन अवस्थामा भेटिएको समितिले जनाएको छ ।
अनुदान वितरण कार्यविधि बढी प्रक्रियामुखी भएको हुँदा टाठा बाठाले बढी संख्यामा बढी रकमको अनुदान कार्यक्रम पाएको,जानकारीको अभाव र पहुँचको कमीका कारण वास्तविक किसानहरुले अनुदान नपाएको र पाएकाहरुले थोरै रकमका कार्यक्रमहरु पाएको देखिएको भन्दै समितिले वास्तविक र उद्यमशील किसानले अनुदानका कार्यक्रम पाउने सुनिस्चत गर्नुपर्ने जनाएको छ ।
काम नगरी भुक्तानी लिएका अनुदानग्राहीलाई योजना अनुसारको काम गराउनुपर्ने,,नगर्ने बाट अनुदान रकम असुलउपर गर्ने र लापरवाही वा अनुचित लाभ लिई भुक्तानी सिफारिस गर्ने कर्मचारीहरु उचित कारबाहीको प्रक्रिया अगाडी बढाउनु पर्ने समितिको निष्कर्ष छ ।
अनुदानमा बितरण गरिएका कृषि यन्त्र तथा उपकरणहरु नेपालमा असफल रहेको कमसल खालको ट्रयाक्टर खरिद गर्न सिफारिस गरिएको प्रति पनि समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
त्यस्तैगरी एउटै संस्था वा अनुदानग्राहीले प्रदेश तहबाट ५ वटा सम्म अनुदान कार्यक्रम प्राप्त गरेको,तीन तहकै सरकार बाट अनुदान रकम प्राप्त गरेको हुँदा डुप्लिकेसन वा टि्प्लकेसन हुन नदिने व्यवस्था सुनिस्चित गर्नुपर्ने सुझाव दिएको छ । कमिशन नदिएका फर्महरुलाई पाउनुपर्ने भन्दा कम रकम भुक्तानी दिएको पाइएको भन्दै समितिले भ्रष्टाचारमा संलग्न कशिनखोर पदाधिकारी तथा कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालयलाई कडा निर्देशन दिएको छ ।
आर्थिक बर्ष २०७५/०७६ को अनुदान वितरण नीति त्रुतीपूर्ण रहेको भन्दै समितिले त्यसमा आवस्यक संसोधन गर्न सुझाव समेत दिएको छ । अनुगमनका क्रममा किसानहरुले परम्परागत तरिकालेनै खेती र पशुपालन गरेको पाइएको भन्दै समितिले त्यसलाई आधुनिक,वैज्ञानिक र व्यवसायिक बनाउन आवस्यक तालिमको व्यवस्था गर्न समेत सुझाव दिएको छ ।अनुदानमा थोरै रकम प्राप्त गरेका केही किसानहरुले राम्रो काम गरेको भन्दै राम्रो काम गर्ने किसानलाई पुरस्कारको व्यवस्था गर्न पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।