बुटवल-पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड ४ लेन विस्तारको काम अघि बढेको छ ।
२०७५ सालको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेको आयोजनाको काम अघि बढेको आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले जानकारी दिए।
यसअघि रुख कटानको अनुमति नदिदा काम रोकिएको थियो । १ सय १३ किलोमिटर लामो नारायणगढ-बुटवल सडक ४ लेनमा विस्तार गर्ने काम योजनाअनुसार गएको चैतमै सुरु हुनुपर्ने भएपनि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले काम सुरु गर्न खोज्दा रुख कटानको विवाद आएपछि रोकिएको थियो ।
आयोजनाको लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)मा ९ हजार मात्रै रुख काट्नुपर्ने देखिएपनि फिल्डमा काट्नुपर्ने रुखको संख्या ५० हजारभन्दा धेरै देखिएपछि काम रोकिएको थियो । दुईथरि कुरा भएपछि आयोजनाका लागि चाहिने रुख कटानको लागि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयले कात्तिक १९ गते रुख कटानको स्वीकृति दिएपछि भने निर्माण कार्यले गति लिएको छ । ‘अहिले गैँडाकोटको थुम्सीबाट रुखमा टाँचा लगाउने काम भैरहेको छ, सम्भवतः यो हप्तामा रुखमा टाँचा लगाउने काम सकिन्छ होला, त्यसपछि रुख कटानको काम सुरु भैहाल्छ, आयोजना ढिलाइ हुँदैन’, आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले भने ।
आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले २ किलोमिटर क्षेत्रमा सडक क्लियरेन्स सम्पन्न गरेको छ । गैंडाकोटबाट ३० किलोमिटर परको कावासोती आसपासको दुई किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ सडक खनेर माटो भर्ने काम सकिएको आयोजनाले जनाएको छ ।
दुई किलोमिटर क्षेत्रमा कल्भर्ट बनाउने र होचो ठाउँमा माटो हालेर पुर्ने काम सकिएको छ ।
यसरी बन्नेछ सडक
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ १ सय १३ किलोमिटर लामो सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)ले सहुलियतपूर्ण ऋण दिएको छ । १६ अर्ब ९९ करोड रुपैयाँ लागतको सडकको लागि एडीबीले ८५ प्रतिशत रकम ऋण दिएको छ । ऋण नेपालले ३२ वर्षमा तिर्नुपर्नेछ, ऋणको ब्याज जम्मा १ दशमलव ५ प्रतिशत मात्रै रहेको छ ।
बुटवल-नारायणगढ सडकलाई दुई भागमा बाँडेर काम हुँदैछ । पूर्वी खण्डअन्तर्गत गैँडाकोट-दाउन्ने भागको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र पश्चिमी खण्ड दाउन्ने-वुटबल साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक निर्माण सम्पन्न भएको साढे ५ वर्षसम्म पनि ठेकेदार कम्पनीले नै सडकको मर्मत सम्भारको काम गर्नुपर्ने सम्झौता भएको छ ।
सडकको मापदण्ड ४ लेनको भए पनि ठाउँ हेरेर ६ लेन र ३ लेनको पनि हुनेछ । शहरी क्षेत्रमा सर्भिस ट्रयाकसहित ६ लेनको सडक हुनेछ । जंगली क्षेत्रमा ४ लेनको हुनेछ, तर दाउन्नेको उकालोको झण्डै ४ किलोमिटर क्षेत्रमा भने भौगोलिक अवस्थाको कारण ३ लेनको मात्रै सडक हुनेछ ।
सबैजसो सडकको बीचमा डिभाइडर हुने भएकाले यो सडकमा गुड्ने गाडीले कमै मात्रै अवरोधको सामना गर्नुपर्नेछ ।
सडकको बीचमा रुख रोप्न र बगैँचा बनाउन हरियाली क्षेत्र बनाइनेछ । जहाँ विभिन्न कम्पनीलाई जिम्मा दिएर बाह्रैमास रुख बिरुवा र बगैँचाको हेरचाह गरिने आयोजनाले जनाएको छ ।