बुटवल-अर्घाखाँचीको नरपानीमा भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको लु२ख २१४८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा १७ को घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बसधनी र चालकसँगै सात महिला र १२ पुरुष रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु हुनेमा बसका चालक ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेत रहेका छन् ।
घाइतेमध्ये भूमिकास्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्याएपछि निधन भएको हो । १३ घाइतेमध्ये ११ जनालाई बुटवल पठाइएकोमा एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । अरूको सनाखत हुन बाँकी छ । सनाखतका लागि शवहरू जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।
घुम्तीमा बस मोड्न नसकेर दुर्घटना भएको स्थानीयले बताएका छन् । भीरको जंगलबाट सुरक्षाकर्मीले डोरीको मद्दतले घाइतेको उद्धार गरेका हुन् । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार जंगल र खोल्सामा छरिएका शवमध्ये केही रूखमा अड्किएको अवस्थामा भेटिएका थिए ।
उनका अनुसार घाइते र शव फेला पारेर उद्धार गर्न ३४ जनाको संख्यामा पुगेको सुरक्षाकर्मीको टोलीलाई करिब चार घण्टा लागेको थियो । बसको एउटा टुक्रा भीरमै अड्किएको थियो भने अर्को खोल्सामा पुगेको थियो । खोल्सामा पुगेको बसको एउटा भागमा रहेका यात्रुको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
साँघुरो सडकका कारण दुर्घटना
सन्धिखर्क–गोरुसिंगे सडकखण्ड साँघुरो छ । घुम्तीहरू समेत साघुरो भएका कारण गाडी ओहोरदोहोर गर्न कठिन छ । साँघुरो सडक र छोटा घुम्तीका कारण सन्धिखर्क-गोरूसिंगे सडकखण्ड अन्तर्गत नरपानीको करिब १२ किमिको दूरीमा बर्सेनि गाडी दुर्घटना हुन्छन् ।
सन्धिखर्कबाट बुटवल जान तीव्र गतिमा ओरालो लागेका सवारीले गति नियन्त्रण नगरी घुम्ती पार गर्न खोज्दा दुर्घटना हुने गरेको प्रहरी बताउँछन् । ०६८ यता नरपानी क्षेत्रमा बर्सेनी सवारी दुर्घटना भएका छन् । प्रहरीको तथ्यांकअनुसार ०६८ मा २१, ०६९ मा १२ र ०७० मा १७ जना यात्रुले दुर्घटनामा ज्यान गुमाएका थिए । त्यस्तै ०७१ मा ३१ र ०७२ मा ११ जनाको मृत्यु भएको थियो ।
०७३/७४ मा भएका तीन वटा सवारी दुर्घटनामा दुई जनाको निधन भयो भने १८ जना घाइते भए । ०७४/७५ मा भएका सात वटा दुर्घटनामा ६ जनाको मृत्यु र १४ जना घाइते भए । गत ०७५/७६ मा भएका सात वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो भने ३८ जना घाइते भए । चालु वर्षमात्रै गत महिनामा भएको एउटा दुर्घटनामा ६ जना मृत्यु भएको थियो ।
गाडीले मोड पार गर्न नसकेर, तीव्र गति र शीतले भिजिरहने सडकमा टायर चिप्लेर यो क्षेत्रमा दुर्घटना भएको पाइएको अर्घाखाँचीका ट्राफिक प्रहरी प्रमुख खिमानन्द काफ्ले बताए ।
हालसम्म सनाखत नामावली विवरण
(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक
(२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
(४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
(६) राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ (उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
(८) शैलैस थापा, भुमिकास्थान नगरपालिका ९ अर्घाखाँची
(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाँचिकोट
भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु
(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
(२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची
(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची
(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
(५) जीवन विक वर्ष २५, अर्घाखाँची
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु
(१) अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
(२) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची
(३) बिष्णु अधिकारी, अर्घाखाँची
(४) लोकनाथ पाण्डे, अर्घाखाँची
(५) सपना कुवँर अर्घाखाँची
(६) नन्द बहादुर बिक, अर्घाखाँची