बुटवल– २०३७ सालमा मानिसले खनेर बनाएको सडक हो–गोरुसिंगे–सन्धिखर्क सडक। अर्घाखाँची र गुल्मीको पश्चिम भेगको लाइफलाइन हो यो सडक। ६८ किलोमिटर लामो सडकमा मुस्किलले गाडी ओहोरदोहोर गर्छन्।
तत्कालीन पर्यटनमन्त्री ढुण्डीराज शास्त्रीको पालामा बनेको यो सडक फराकिलो बनाउन ३९ वर्षसम्म कुनै योजना परेको छैन। जिल्लाको मुख्य लाइफलाईन फराकिलो बनाउन जिल्लाकै जनप्रतिनिधिले वास्ता गरेनन्।
मानबहादुर विक, पुष्पा भुसाल, टोपबहादुर रायमाझी पटक पटक सरकारमा गए, मन्त्री भए। चन्द्रबहादुर खड्का उज्ज्वल, चेतनारायण आचार्य, रामजी घिमिरे, निर्मला क्षेत्री, जाल्पा भुसाललगायतका नेता पनि शक्तिमा पुगे। तरपनि यो सडकको स्तरोन्नतिमा ध्यान दिएनन्।
२०६४ सालयता सबैभन्दा धेरैपटक सत्तामा पुगेका टोपबहादुर रायमाझी उपप्रधानमन्त्री सम्म भए। २०७४ सालमा भएको निर्वाचनमा राजनीतिक दलले सडक स्तरोन्नति गर्ने नारा बनाए। तर, विकासका एजेण्डा उठाएर चुनाब जित्ने उनीहरुले सडक फराकिलो पार्नेबारे पहलै गरेको देखिएन।
‘दुर्घटना भएको १/२ दिन आवाज उठ्छ, घटना साम्मे भएपछि सबै कुरा हराउँछ,–सन्धिखर्कका माधव श्रेष्ठले भने। प्रत्येक चुनावमा नारा बनाउने सडककै बेहालका कारण २०६८ सालयता भएका दुर्घटनामा परी १ सय २९ जनाले ज्यान गुमाएका छन्।
०६८ यता नरपानी क्षेत्रमा बर्सेनी सवारी दुर्घटना भएका छन्। प्रहरीको तथ्यांकअनुसार ०६८ मा २१, ०६९ मा १२ र ०७० मा १७ जना यात्रुले दुर्घटनामा ज्यान गुमाएका थिए। त्यस्तै ०७१ मा ३१ र ०७२ मा ११ जनाको मृत्यु भएको थियो।
०७३/७४ मा भएका तीन वटा सवारी दुर्घटनामा दुई जनाको निधन भयो भने १८ जना घाइते भए। ०७४/७५ मा भएका सात वटा दुर्घटनामा ६ जनाको मृत्यु र १४ जना घाइते भए। गत ०७५/७६ मा भएका सात वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो भने ३८ जना घाइते भए। चालु वर्षमात्रै गत महिनामा भएको एउटा दुर्घटनामा ६ जना मृत्यु भएको थियो।
छानबिनका लागि समिति गठन
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्बपक्षिय बैठकले घटनाको छानबीनका लागि समिति गठन गरेको छ। प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले मंगलबार नरपानी ६ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ।
बैठकले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। समितिले १५ दिन भित्र प्रतिवेदन बुझाउने निर्णय बैठकले गरेको छ।
जसको सदस्यहरुमा सन्धिखर्क नगरपालिका, जिल्ला सरकारी वकिलको कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, सन्धिखर्क नगरपालिका वडा न ६, जिल्ला ट्राफिक कार्यालय, पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि, देउराली यातायात प्रा.लि, नेपाल पत्रकार महासंघ लगायत रहेका छन्।