तिलोत्तमा । प्रार्थना सभामा सबैजसो विद्यालयमा राष्ट्रिय गान (सयौं थुंगा फूलका हामी....) गाउने गरिन्छ । अन्य सार्वजनिक तथा औपचारिक कार्यक्रमको प्रारम्भमा पनि राष्ट्रिय गान बज्ने गर्दछ । राष्ट्रिय गान जस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि आफ्नो नगरगान तयार गरेको छ । गत असोज ९ गते तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा नगरगानको सुरुवात गरिएको थियो ।
लगानी सम्मेलनपछि नगरपालिकाले असोज १७ गते सूचना जारी गरी सबै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगरगान बजाउन अनुरोध गरेको थियो । नगरबासीमा नगरको पहिचान, नगरप्रतिको प्रेम र सद्भाव बढाउन नगर गीत तयार गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।
विद्यालयहरुमा नगरगान कार्यान्वयन नभएको भन्दै मंसिर ३ गते तिलोत्तमा नगरपालिकाले अर्को सूचना जारी गर्यो । ‘प्रार्थनाको समयमा राष्ट्रिय गानसँगै नगरगान पनि गाउन सूचना जारी गरिएकोमा कतिपय विद्यालयले सूचना कार्यान्वयन नगरेको पाइएकाले अनिवार्य रुपमा राष्ट्रिय गानसँगै नगरगान गाउने व्यवस्था मिलाउनहुन अनुरोध छ ।’ तिलोत्तमा नगरपालिकाको सूचनामा भनिएको छ ।
‘एक–दुइ वटा विद्यालयमा पुग्दा नगरगान नबजेको पायौं । त्यसैले फेरि सूचना निकालेर परिपत्र गरेका हौं ।’–नगरपालिकाका शिक्षा शाखाका उपसचिव गंगाराम आचार्यले भने –‘प्रार्थनाको समयमा राष्ट्रिय गानपछि अनिवार्य रुपमा नगरगान गाउनुपर्छ ।’ तिलोत्तमा नगरपालिकाले ६६ शब्दको नगरगान तयार गरेको छ । नगरपालिकाले पुनः सूचना गरेपछि विद्यालयहरुमा अहिले राष्ट्रिय गानपछि नगरगान गाउन थालिएको छ ।

तिलोत्तमा बाहिरका बालबालिकाले पनि नगरस्तुति गाउनुपर्ने ?
तिलोत्तमा नगरपालिका २ योगिकुटीमा रहेको जनजागृति माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिकासँगको सिमानामै पर्दछ । जनजागृतिमा ३५ प्रतिशत जति विद्यार्थी बुटवल उपमहानगरबाटै आउने गरेको प्रधानाध्यापक टंकप्रसाद पौडेलले बताए । ‘नगरपालिकाले भनेपछि हामीले पनि नगरगान गाउन सुरु गरेका छौं ।’–उनले भने–‘यहीको स्थायी बसोबास गर्नेलाई त नगरगान उचित हो । अब अध्ययन तथा व्यवसायको लागि अर्को पालिकाबाट आएकाले पनि गाउनुपर्ने भयो ।’
तिलोत्तमा नगरपालिकाले सामुदायिकसँगै संस्थागत विद्यालयलाई पनि नगरगान गाउन उर्दी जारी गरेको छ । तिलोत्तमा ४ डिंगरनगरमा रहेको सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलमा आधाजसो विद्यार्थी बुटवलबाट पढ्न जाने गर्दछन् । विद्यालयका प्रिन्सिपल यमबहादुर रानाले नगरगानको कार्यान्वयन अझै नगरिसकेको बताए । ‘राष्ट्रिय गानसँगै, स्कुल प्रेयर पनि छ । कसरी गर्ने भनेर छलफल गर्दैछौं ।’–उनले भने–‘तिलोत्तमा बाहिरका पनि धेरै विद्यार्थी छन् । राष्ट्रिय गानले सबैलाई समेटेको थियो । नगरगान गाउन लगाउँदा अफ्ठ्यारो हुन्छ की ।’ तिलोत्तमा अन्य निजी विद्यालयमा पनि बुटवल र बाहिरका ठाउँबाट पढ्न जाने गर्दछन् । बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले विद्यालयमा एकै ठाउँका मात्र बालबालिका नहुने भएकाले नगरगान अव्यवहारिक भएको बताए । ‘पढ्न जताततैबाट आएका हुन्छन् । उनीहरुलाई नगरगान गाउनु अफ्ठयारो नै हुन्छ ।’ उनले भने ।
अस्थायी बसोबास गर्नेले पनि जबरजस्ती गाउनुपर्ने ?
तिलोत्तमा नगरपालिका तिब्र शहरीकरण भइरहेको नगर हो । पूर्वाधार र संरचनाहरु धमाधम बनिरहेका छन् । तिलोत्तमामा बाहिरबाट यहाँ बसाइसराइ भएर आउने क्रम पनि तीब्र छ । त्यसबाहेक अस्थायी बसोबास गर्नेको संख्या पनि ठूलो छ । गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, बाग्लुङ लगायतका पहाडी जिल्लाबाट अध्ययन, जागिर र व्यवसाय गर्नकै लागि मानिसहरु यहाँ रहेका छन् । उनीहरुका बालबच्चा तिलोत्तमाकै विद्यालयमा पढ्छन् । उनीहरुले आफ्नो स्थायी ठाउँलाई भुलेर बसेको ठाउँको जबरजस्ती नगरगान गाउन उचित होला र ?
बुटवल बहुमुखी क्याम्पसका शिक्षा संकाय प्रमुख प्रा. डा. नारायण बेलवासेले नगरपालिकाले लागू गरेको नगरगान अव्यवहारिक भएको बताए । ‘विद्यार्थीहरुलाई आफ्नो क्षेत्रको बारेमा पहिचान र जानकारी गराउनुपर्छ । त्यसको लागि स्थानीय पाठ्यक्रम बनाउनुसम्म त राम्रो हो ।’–उनले भने ‘सबै स्थानीयकरण गर्छु भन्नु र आफ्नो ठाउँको भक्तिभावमा सहभागी गराउनु उचित होइन । नगरगान गाउन लगाउँदा विद्यार्थीलाई एक प्रकारले संकुचित गराउँछ ।’
भोलि प्रदेश गान पनि आयो भने ....
तिलोत्तमा नगरपालिकाले विद्यालयमा लागू गरेको अनिवार्य नगरगानको प्रचलन भोलि अन्य स्थानिय तहले पनि पछ्याउन सक्छन् । अरु नगरपालिकाले नगरगान र गाउँपालिकाले गाउँगान बनाएर विद्यालयमा गाउन लगाउने छन् । यो क्रम यतिमा मात्र सिमित नहोला । ‘भोलि प्रदेशले पनि प्रदेश गान बनाएर गाउन लगायो भने के हुन्छ ?’–बुटवल बहुमुखी क्याम्पसका प्रा. डा. बेलबासेको प्रश्न छ–त्यो अवस्थामा पक्कै पनि विद्यालयमा पढ्ने बालबालिकालाई बोझ हुन्छ । राष्ट्रियताको अगाडि क्षेत्रीयता र स्थानीयताको विषय अत्यन्तै गौण हुन्छ ।’
अर्को कुरा, नेपालको संविधानले मुलुकभर नागरिकलाई जहाँ कहीँ पनि जान पाउने र जग्गा जमिन जोड्न पाउने अधिकार दिएको छ । एक ठाउँबाट अर्को ठाउँ बसाइ सर्ने क्रम चलिरहेको छ । आज एकठाउँमा पढेका बालबालिका भोली युवा अवस्थामा अर्को ठाउँमा कमाएर घर जग्गा जोड्छन् । यो क्रम चलिरहेकै छ । राष्ट्रियता भन्ने कुरा मुलुक बाहिर बस्दा पनि हुन्छ । तर क्षेत्रीयता र स्थानीयतामा कोही पनि एकै ठाउँमा अडिग नहुन सक्छन् । त्यसैले बालबालिकालाई ठाउँ विशेषको स्तुती गान गाउन लगाउनु नहुने बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री बताउँछन् ।
रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विना तयारी विद्यालयहरुलाई नगर गान गाउन लगाउन हतार नगर्न सुझाब दिन्छन् । ‘नगर गान आफैंमा नराम्रो होइन । कस्तो अवस्थामा कहाँ गाउने भन्ने महत्वपूर्ण हो’–उनले भने–‘नगरपालिकाको नित्तान्त आफ्नै कार्यक्रममा नगरगीत बजाउन ठीक हो । विद्यालयमा अलि अव्यवहारिक होला कि ।’
