बुटवल–बुटवलका पुराना व्यवसायी सुरेशरत्न बज्राचार्यले २०४१ सालतिर भारतको गोरखपुरबाट टेलिभिजन सेट लिएर आए। त्यसै समयमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो।
संसार हल्लाउने गान्धीको हत्याले नेपालमा पनि ठूलै हलचल मच्चाएको थियो। तिनाउ पारीको पुरानो बुटवल अर्थात बटौलीमा रहेको बज्राचार्यको घरमा इन्दिरा गान्धीको हत्याबारेका समाचार हेर्नेहरुको ठूलो भीड लाग्यो। नेपाल टेलिभिजनको स्थापना भइसकेको थिएन।
भारतीय च्यानलबाट इन्दिरा गान्धीको हत्या बारेका समाचार सामग्रीहरु निरन्तर आइरहेका थिए। बज्राचार्यको घरको टिभी कोठामा मुस्किलले १५ जना अटाउँथे। कोठा भित्र नअटाएर कतिपय बाहिर भर्याङमा जिउ तन्काइ तन्काइ टीभी हेरेका थिए।
भीड बढेपछि टीभी हेर्न पालो समेत लगाउनुपरेको सुरेशरत्न बज्राचार्यले सम्झिन्छन्।
‘साथीभाइहरु आएपछि नदेखाउन पनि नहुने, १०–१५ मिनेट देखाएर एउटा ग्रुपलाई जानुस् भनेर अर्को ग्रुपलाई हेर्न भन्थें’–उनले भने।
जब टेलिभिजनले इन्दिरा गान्धीको दाहसंस्कारको समय भयो भन्यो, भीड झन् झन् बढ्यो। बसेकाहरु पनि निस्किन मानेनन्। बज्राचार्यले टीभी नै बाहिर निकाले। ‘कच्ची घर मान्छेको भीडले भत्किन्छ कि जस्तो डर लाग्यो। घर बाहिर दलानमा ल्याएर टीभी राखेर देखाएँ’–उनले भने–‘बाहिर टिभी राखेर देखाउँदा बाटोभरी परपरसम्म मान्छेहरु थिए।’
इन्दिरा गान्धीको हत्याको बेला बज्राचार्यकोमा टीभी हेर्न देवेन्द्रराज शाक्य पनि पुगेका थिए। ‘मैले पहिलो पटक टेलिभिजन हेरेको त्यतिबेला जस्तो लाग्छ’ –उनले भने–‘बाहिर देखाउँदा बाटोभरि भीड हुन्थ्यो, पारी बुटवलका धेरै मान्छे टिभी हेर्न आएका थिए।’
त्यसको केही वर्ष पछि देवेन्द्रराज आफैले पनि घरमा टीभी ल्याए। आफ्नोमा रामायण महाभारत हेर्न वरपरका छिमेकी आउने गरेको शाक्य सम्झन्छन्।
बुटवलका पूर्व उपमेयर विमलबहादुर शाक्यले पनि बज्राचार्यको घरमा पालो लगाएर टेलिभिजन हेरेको सम्झिन्छन्।
‘इन्दिरा गान्धीको हत्याको बेला भीड लागेको थियो । १५ मिनेट हेरेपछि तपाइहरु जानुस अब अर्को ग्रुप आउँछ भन्नुहुन्थ्यो’–उनले भने–‘त्यसबेला म लगायत धेरैले पहिलो पटक टिभी देखेका थियौं।’
इन्दिरा गान्धीको हत्या भएको समयमा तिनाउ पारी बज्राचार्यको घरमा मात्र टेलिभिजन थियो। तिनाउ वारी खस्यौलीमा भने दुई वटा घरमा टेलिभिजन सेट थियो। द्वारिका उदय र ज्ञानेश्वर बजिमयको घरमा पनि टीभी हेर्नेको भीड लागेको थियो ।
पछि बुटवलका अरु घरमा पनि टेलिभिजन सेटहरु थपिँदै गए। टिभी हुनेको घरमा रामायण र महाभारत हेर्न छिमेकीहरुको भीड लाग्दथ्यो। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएपनि केही वर्ष काठमाडौं बाहिरका भारतीय टेलिभिजननै हेरिन्थ्यो।
देशका मुख्य शहरका धनीहरुले मात्रै टेलिभिजन सेट किन्नसक्ने सामथ्र्य राख्थे। अहिलेजस्तो घरैपिच्छे र कोठैपिच्छे टीभी सेट थिएनन्।
बुटवलको लुम्बिनी सामुदायिक टेलिभिजनका पूर्व कार्यकारी निर्देशक सिद्धिचरण भट्टराई सम्झिन्छन्–‘मैले २०४३ सालमा पहिलो पटक पाल्पामा टेलिभिजन सेट देखेको थिएँ।’
टीभीको सेट देखेपनि श्रव्यदृष्य प्रसारण भने त्यसको ३ वर्षपछि २०४६ सालमा मात्र हेर्न पाएका थिए उनले। पाल्पाको तानसेनमा त्यसबेलासम्म पनि भारतीय च्यानल मात्रै आउने गरेको भट्टराइले सुनाए।
‘नेपाली च्यानल आउदैनथे, भारतको सरकारी टेलिभिजन दुरदर्शन च्यानल मात्र आउँथ्यो’–उनले भने–‘पछि नेपाल टेलिभिजनले देशका विभिन्न स्थानमा टावर राखेपछि मात्रै काठमाडौंबाहिर नेपाल टेलिभिजन आउन थालेको हो ।’
अर्का टेलिभिजनकर्मी विष्णु भुसालले ३८ सालमा कपिलवस्तुमा टेलिभिजन देखेका थिए।
‘रुखमा एन्टेना राखेर बाहिर टीभी राखेर हेरिएको थियो’–उनले भने–‘पहिलो पटक मैले टीभी देखेको त्यही बेला हो, भारतको दुरदर्शन च्यानल हेरेको याद छ।’
घरको छाना वा छतमा एन्टेना राखेर नेपाल टेलिभिजनको प्रशारण हेर्न सहज भयो। भारतीय लगायत विदेशी च्यानल हेर्न डिस एन्टेना राख्नुपर्दथ्यो। २०५० सालपछि शहरबजारका घरैपिच्छेजसो साधारण एन्टेना ठडिएका देखिन्थे। केहीका घरमा डिस एन्टेनाको छाता हुन्थ्यो।
बिजुली बत्तीको पहुँच पुगेसँगै गाउँघरहरुमा पनि टेलिभिजनहरु पुगे। गाउँठाउँमा जसको घरमा टीभी छ त्यहाँ रामायण, महाभारत र अन्य टेलिसिरियल हेर्न मानिसहरुको भीड लाग्थ्यो।
त्यसैगरी शनिबार दिउसो आउने हिन्दी सिनेमा र ४ वर्षमा एक पटक हुने विश्वकप फुटबलले पनि दर्शकहरुलाई आकर्षित गर्ने गर्दथ्यो।
५० कै दशकपछि मध्यमवर्गीय परिवारमा विवाहमा टेलिभिजन दाइजो दिने चलन सुरु भयो। अहिले पनि त्यो चलन कायमै छ।
२०६० साल सम्म धेरै घरमा कालो र सेतो मात्र आउने श्यामश्वेत टिभी नै हुन्थ्यो। रंगिन टीभी हुनेहरु गाउँघरमा अलि सम्पन्न मानिन्थे। त्यस पछि क्रमश श्यामश्वेत टेलिभिजन बिक्री हुनै छोड्यो। टेलिभिजन किन्नेले रंगिन नै किन्न थाले।
विवाहको समयमा टीभी सेटको बिक्री ह्वात्तै बढ्ने जेपी टिभी सेन्टरका सञ्चालक जेपी कंडेल सम्झन्छन्।
‘विवाहको सिजन, मेला पर्वमा टेलिभिजनको माग बढी हुन्थ्यो’–उनले भने –‘त्यस बाहेक विश्वकप फुटबलको समयमा पनि टेलिभिजनको बिक्री अरुबेला भन्दा बढी हुन्छ।’
टेलिभिजन सेटको बिक्रीमा वृद्धि भएसँगै टीभी च्यानल र यसको प्रशारण गर्ने प्रविधिमा पनि परिवर्तन आयो।
साधारण र डिस एन्टेनाको माध्यमबाट हेर्ने टेलिभिजन प्रशारण केबुल मार्फत हेर्न थालियो।
सँगसँगै केबुल सेवा प्रदायक संस्थाहरु पनि खुले। बुटवलमा बुटवल स्पेस, जेपी स्पेस, भैरहवामा सिद्धार्थ केवल खुले । २०६० सालमा यी ३ केबुल सेवा प्रदायक संस्था आपसमा मर्ज भएर ब्रोड व्याण्ड नेपाल (बिबिएन केबुल) को स्थापना भयो।
२०६४ सालमा बिबिएनमा लुम्बिनी केबुल पनि मर्ज भयो। केबल स्पेशमार्फत विदेशी च्यानलहरु हेर्न सकिन्थ्यो। केबुल प्रदायक संस्थाहरुले फाट्टफुट्ट स्थानीय सामग्रीहरु पनि प्रशारण गर्न थाले।
सरकारी कार्यक्रम, प्रदर्शनी, व्यापार मेलाका कार्यक्रमहरु केवलमा आउँथे। तर त्यस्ता कार्यक्रम दिनुपर्दा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्र दिनुपर्ने अवस्था रहेको बिबिएन केबुलका सञ्चालक जेपी कंडेल सम्झन्छन्। पछि केबुल च्यानलबाट निरन्तरजसो गीतहरु प्रसारण हुन थाले।
२०६० सालसम्म नेपाली टेलिभिजन प्रशारणमा नेपाल टेलिभिजनकै एकाधिकार थियो। पछि निजी क्षेत्रबाट च्यानल नेपाल, कान्तिपुर, इमेज टेलिभिजन खुले। २०६३ सालमा लोकतन्त्र आएपछि एकपछि अर्को टेलिभिजन च्यानल थपिँदै गए।
२०६४ सालमा स्थानीय सामग्री उत्पादन सहित बुटवलबाट टेलिभिजन प्रसारण सुरु भयो। सिद्धिचरण भट्टराई सहितको पहलमा बुटवलमा इम्मोड नेपाल टेलिभिजनको प्रसारण सुरु भयो।
‘पाल्पाको तानसेनमा रत्न केबुलले स्थानीय टेलिभिजन भनेर चलाएका थिए, त्यही अवधारणालाई अझ राम्रो व्यवस्थित ढंगले सुरु गरौं भनेर लागेका हौं कानून बनेको थिएन’–उनले भने–‘कानून बन्दै गर्छ हामीले सुरु गरौं भनेर समाचार, कार्यक्रमहरु प्रसारण गर्न थालेका हौं।’
इम्मोड नाम परिवर्तन भएर अहिले लुम्बिनी सामुदायिक टेलिभिजनको नाममा चलिरहेको छ।
स्थानीय सामाग्रीहरु प्रति मान्छेका रुचि भएकाले यस क्षेत्रमा पनि टेलिभिजनको अवधारणा आएको भट्टराइले बताए।
‘स्थानीय गतिविधिका समाचारहरु प्रति मान्छेका रुचि हुन्छ। आफूलाई लागेका विचारहरु सहजरुपमा व्यक्त गर्न सकुन् भनेर हामीले टेलिभिजन सुरुवात गरेको हो’–उनले भने ‘त्यतिबेला हाम्रो टेलिभिजनको क्यामरा नगइकन कुनै कार्यक्रम सुरु नै हुन्थेन, प्रमुख अतिथि आएपनि कार्यक्रम सुरु हुन हाम्रो टेलिभिजनलाई नै कुर्नुपर्दथ्यो।’
पछि बुद्ध सामुदायिक टेलिभिजनले पनि बुटवलमा आफ्नो प्रशारण सुरु गर्यो। यस बाहेक भैरहवा, देवदह, सैनामैना लगायतका बजारमा पनि स्थानीय टेलिभिजनहरुले आफ्ना सामग्रीहरु प्रशारण गरेका छन्।
काठमाडौ उपत्यकाबाहिर पहिलो पटक भू–उपग्रह अर्थात स्याटेलाइट माध्यमबाट प्रशारण हुने गरी बुटवलबाट राज्य टेलिभिजन पनि औपचारिक प्रशारणको तरखरमा छ।
संघीय राजधानी बाहिर पनि टेलिभिजनको प्रभावलाई बढाउन स्याटेलाईट माध्यमबाट टेलिभिजनको प्रसारण सुरु गरिएको राज्य टेलिभिजनका कार्यकारी निर्देशक विष्णु भुसालले बताए।
‘स्थानिय स्तरका विषयहरुलाई आफ्नै टेलिभिजन मार्फत राष्ट्रिय र अन्तराष्ट्रियकरण गर्न टेलिभिजन स्थापना गरिएको हो’–उनले भने–‘यसबाट स्थानीय बजार र उत्पादनलाई पनि टेवा पुग्छ।’
बुटवलमा आमसञ्चारको क्षेत्रमा अगाडि रहेको र राम्रो सामग्री दिनसके स्याटेलाइट प्रविधिबाट पनि टेलिभिजन चल्ने भुसालले बताए।
केबुल नेटवर्क मार्फत अहिले टेलिभिजन सेटमा अन्तराष्ट्रियदेखि राष्ट्रिय हुँदै स्थानीय सम्मका २–३ सय वटा च्यानल हेर्न सकिन्छ।
सूचना प्रविधिको तीब्र विकाससँगै अब श्रव्यदृष्य सामग्रीको लागि टेलिभिजन सेटमा मात्र भर पर्नुपर्ने अवस्था छैन।
कुनै बेला आफूले चाहेका कुनै प्रस्तुति हेर्न निश्चित समयमा टेलिभिजन खोल्नुपर्दथ्यो। तर अहिले त्यस्तो अवस्था छैन।
युट्युब मार्फत गीतको म्युजिक भिडियो मात्र होइन टेलिभिजनमा आउने चलचित्र, टेलिचलचित्र, रियालिटी सो, समाचारमूलक सामग्री लगायत जुनसुकै कार्यक्रम र प्रस्तुति आफूले चाहेको समयमा हेर्न सकिने भइसकेको छ। मूलधारका टेलिभिजनहरुले समेत आफ्ना कार्यक्रमहरु युट्युबमा राख्न थालेका छन्।
त्यसैमाथि मोबाइल क्षेत्रमा भएको विकासले मोबाइलमै टेलिभिजन हेर्न सकिने भएको छ। सँगै टेलिभिजनका सेटका मोडलहरु पनि परिवर्तन भएका छन्।
ठूला आकारका एलसिडी, एलइडी, एन्ड्रोइड, स्मार्ट टिभीमा अहिले पेनड्राइभ राखेर भिडियो हेर्ने सहजता मात्र छैन। युट्युबको सुविधा समेत भएकाले आफूले चाहेका कुनै पनि टेलिभिजन प्रस्तुति र भिडियो समेत सर्च गरेर ठूलो पर्दामा हेर्न सकिन्छ।
प्रविधिमा आएको परिवर्तनसँगै टेलिभिजन क्षेत्रमा भने गुणस्तरीय सामग्री र दर्शकको रोजाइका कार्यक्रमको अभाव खड्किरहेको छ। टेलिभिजन च्यानलहरुका लागि युट्युब युगले चुनौती थपेको छ।