पृथ्वी तोडेर निस्किएको अजङ्गको दानवरुपी भारतले आमाले को खाई, को खाई गराएको बच्चाले जस्तै भद्धा थुतुनो बेतोडले आँ गरिरहेछ । ‘मुख नजिकै रहेको नेपाललाई एकै गास पार्ने पो हो की ?’–मैले सोंचिरहेछु ।
पुरानो म्युजियमको छनक दिने बैठक कोठाको भित्तामा क्यानभास झुण्ड्याइएको छ । यो पुरानो देखिने दराजको ठिक माथि भित्तामा गाडिएको सानो किलामा अडेको छ । दराजमाथि थोत्रो ‘कलर ट्रे’ छ जसको बिट चोइटिएको छ ।
‘ट्रे’ का खोपिल्टाहरुमा रङ सकिइसकेका छन् । खोपिल्टाका पिंधमा सुकेका रंगका धुलोले ट्रेमा कुन–कुन रङ राखिएको रहेछ भन्नेसम्म थाहा दिन्छ । त्यसको छेवैमा रङ पोत्ने कुचीहरु ठडिएका छन् । रङ सुकेकाले कुचीका रौंहरु एक आपसमा टाँसिएका छन् । धेरै समय वित्यो होला, यी कुचीहरु क्यानभासमा दौडिएका छैनन् ।
बेवारिसे भएर दराजमाथि छितरिएका छन् । दराजमाथिको क्यानभासबाट मेरो ध्यान हटेको छैन । क्यानभासमा नेपालको सुदूर पश्चिमलाई भारतको बेसोमती आँ भित्र पस्नै आँटेको छ । नेपाललाई निल्न खोजेको छ ।
निल्यो भने ? नेपाल रहने छैन । नेपालै नरहे नेपाली कहाँ रहलान् ! क्यानभासमा सुकेका रङले दिएको वर्णनात्मक आकारलाई हेरिरहँदा स्वर्गीय कवि माधव प्रसाद घिमिरेका शब्दहरु नातीकाजीको लय बोकेर मगजमा गुञ्जिन्छन्– ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !’
असोज लाग्नासाथै घामका किरणले रुप फेर्छन् सायद । राप केही मधुर हुन्छ तर, ज्योती उत्तीकै चमकदार । यस्तो लाग्छ, जहाँ ठोकिन्छन् त्यहाँ सुन्दरता छोडेर जान्छन् । मिरमिरेमा झर्ने शितका थोपा र खेतमा झुलिरहेका धानका बालामा गमक्कै आभूषित हुन्छन् यी किरण । प्रकृतिमा मात्रै होइन मनमा पनि शरद बोकेर आउँछन् । दशैं आएको थाहा पाउन पात्रो हेरिरहन पर्दैन ।
आज असोजको पहिलो सोमबार । बिहानै आकास खुलेको छ । सुर्यको उपस्थिती हिजो भन्दा बलियो छ । तीन तिरबाट बुटवललाई ढाकेको चुरे हरियो देखिएको छ । चुरेभन्दा माथि देखिने महाभारतका टाकुराहरु निला देखिएकका छन् । अनि झनै निलो देखिएको छ आकास । जहाँ बादलको नामो–निसान छैन । बुटवल आज यस्तै रङमा लतपतिएको छ । लाग्छ, कुनै शिल्पी चित्रकारले निकै मिहिनेत गरेर यो सहरलाई क्यानभासमा पोतेको छ ।
म भने त्यस्तै चित्रकारलाई भेट्न आठ बजे नै शुुख्खानगरको कोठाबाट निस्केर ईट्टा भट्टीतिर लागेको छु । बसपार्क पछाडिको न्यू–ईरा होटेलको केही अगाडिबाट पश्चिमतिर तेर्सिएको एउटा सानो गल्लीमा रातो घर परैबाट देखिन्छ ।
घर केही सानो भएपनि गाढा रातो रङका कारण अव्यक्त छैन । म घर तर्फ अगाडि बढ्छु । गल्लीसँगै जोडिएको ढोकामा जुत्ता फुकाल्छु र भित्र छिर्छु ।
भित्र बैठक कोठामा चित्रकार शान्तराम गिरी अनुहारमा मुस्कान लिएर कुर्चीमा बसिरहेका छन् । हातमा किताब छ ।
उनी अगाडी रहेको टेबलमा अरु केही किताब छरपस्ट छन् । कोठाको पश्चिमी भित्तो ढाकिने गरी र्याक ठड्याइएको छ । गौतम बुद्धका मुर्ती, शिल्ड, प्रमाण पत्र, मायाको चिनोलगायत गनेर नसकिने साना ठूला सामाग्रीले र्याक भरिएको छ । खस्न नदिन अगाडीबाट खोल्न र बन्द गर्न मिल्ने गरी सिसा लगाइएको छ । के यो ¥याक शान्तरामले जीवनमा पाएका उपलब्धिहरुको मानक हुन सक्छ ! अरु तीन तिरका भित्ताहरुमा भने पोट्र्रेट नै पोट्र्रेट छन् । भित्ता नै क्यानभासले बनेको हो की !
यहाँ आएदेखि नै मेरो ध्यान दराज माथि झुण्ड्याइएको मझौला आकारको क्यानभासले तानिरहेछ । जहाँ भारतले नेपाललाई निल्न खोजिरहेछ । राजनितीक चेतले भरिएको यो पेण्टिङमा भारतीय हेगेमोनीक चरित्रलाई विम्वित गरिएको छ । म एकछिन त्यहीँ घोत्लीन्छु ।
‘एकाउन्न सालमा बनाएको हुँ । उदयीमान कम्युनिष्टहरु त्यतीबेला नेपालको राजनीतिको उत्सर्गमा थिए । अहिले जस्तै त्यतीबेलाको राजनीति पनि राष्ट्रवादकै परिधिमा घुमिरहेको थियो । कम्युनिष्टहरुले भारत विरोधी भावना जागृत गराउन सफल भएका थिए ।’ हातको किताब टेबलमा राख्दै शान्तराम भन्छन् ।
म क्यानभासबाट आँखा हटाएर सोफामा बस्छु ।
आउने चैतमा शान्तराम ७४ बर्षमा लाग्छन् । उनी पर्वत कुश्मको सेरोफेरोमा रहेको चुवामा जन्मीएका हुन् । त्यहाँ आफ्नो भन्ने जमिन थिएन । बुवा आमाले अरुको खेतबारीमा काम गरेर शान्तराम र उनका दाईलाई खुवाउथे । बाल जीवनका संझनाहरु उनको स्मृतीमा कताकती अझै जिवीत रहेछन् ।
पर्वतका दुख धेरै टिकेनन् । यसको कारण थिए, राजा महेन्द्र । प्रजातन्त्रपछि महेन्द्रले तराईमा वस्ती बसालेर आवादी बढाउने योजना ल्याएका थिए । योजना अनुसार चितवनको समथर भूभागमा रहेको झाडी मासेर त्यहाँ धमाधम वस्ती बसाल्न थालियो । त्यसको जिम्मा पाएको थियो– राप्ती दून विकास समितिले । समितिका डाइरेक्टर कृष्ण बम मल्ल थिए । भाग्यवशः उनी पर्वतकै रहेछन् । शान्तरामका परिवारलाई दुई बिगाहा जमिन दिएर उनले चितवनको शिवनगर ल्याए । शान्तराम बाबु आमासँगै पर्वतबाट तराई झरे ।
‘जता गयो झाडी नै झाडी । त्यहाँ बदेँल, चितुवाको डर थियो । जोतेर झाडी फालेपछि कित्ताकाट गरेर जग्गा बाँडिएको हो । गर्मी र लामखुट्टे, अनि त्यसैमाथि औलोले निकै सताउँथ्यो । तरपनि पर्वतमा जग्गा जमिन नभएकाले यो ठाउँ छोडेर जान सकेनौँ । त्यसैमाथि यहाँ आफ्नै नाममा जग्गा पाइसकेका थियौं । बा–आमाले त्यहीँ खेती गर्नुहुन्थ्यो ।’ शान्तरामले ६४ बर्ष अगाडिको कुरा सुनाउँछन् ।
चितवन आएपछि शिवनगर हाई स्कुलमा उनी एकै पटक तीन कक्षामा भर्ना भए । आधारभूत अक्षराङ्क उनले बाबा आमाबाटै सिकेका थिए । यहीँ हो शान्तरामले चित्र चिनेको । गुरु टेकनाथ पाण्डेले शिशाकलमले चित्र कोर्न सिकाएका थिए । शिसा कलमले कोरेका धर्कालाई आकारमा ढाल्न सिक्दा नसिक्दै अबोध शान्तरामलाई चित्रको सौन्दर्य बोध भइसकेको थियो । उनले चित्र सँगसँगै शान्तरामले आफ्ना सपना पनि कोरे । र, चित्रसँगै बाँच्ने सौख जन्माए ।
‘मलाई अरु किताब पढ्न भन्दा चित्र बनाउन मन पथ्र्यो । पेन्सिलले चित्र बनाउन सिकेँ । ब्ल्याक एण्ड ह्वाइट बनाउँथेँ । रङसँग खेल्न भने अझै जानिसकेको थिइनँ ।’ उनी सम्झन्छन् ।
कोही किन चित्र बनाओस् ? चितवनका १० बर्षीय शान्तरामको चित्रमोह बारे सुनेपछि मेरो अन्तर्मनको अवचेतमा यो प्रश्न तैरिरहेको छ । यसो त मैले आज पहिलो पटक चित्र देखेको होइन । न त यो प्रश्न पहिलो पटक उब्जिएको हो । मानव सभ्यताको उदय र उद्विकास सँगसँगै मानिसहरुले विभिन्न स्वरुपमा भावना अभिव्यक्त गर्न थाले । कलाको उद्विकासका अध्येताहरुलाई मान्ने हो भने प्रागैतिहासिक कालमा चित्रकला नै एकमात्र कलाको स्वरुप थियो ।
भारतको मध्यप्रदेशको भिमबेटका शैलाश्रेयमा पुरापाषाण कालका मानिसहरुले गुफामा कुँदेका आकृतिदेखि आधुनिक युगमा क्यानभास वा ‘डिजिटल क्यानभास’मा कोरिने चित्रसम्म आइपुग्दा सभ्यताले चित्रकलालाई आफूसँगै डोराएर ल्याएको छ । चित्रमा त्यस्तो के छ जसले मानिसलाई आकर्षित गरिरह्यो ? म शान्तरामबाट उत्तर चाहिरहेछु । ‘चित्र किन बनाउनुहुन्छ ?’ सोध्छु ।
र्याकमा ढेस्सिएर अडिएको पोट्रेटमा गाडिएका आँखाहरु मतिर सोझ्याउँदैं उनी बोल्न सुरु गर्छन्– ‘यो निकै पटक सोधिएको तर उत्तर नपाइएको प्रश्न हो । अरु आर्टिस्टहरुको लागि म बोल्न मिल्दैन । तर, मेरा बुझाइहरु चाहीँ भन्न सक्छु । मसँग दुईवटा कारण छन् । प्राथमिक चाहीँ चित्रमार्फत् भावना संप्रेषण गर्नु हो । अर्को कारण दैनिक गुजाराका लागि चित्र बनाउँछु ।’
कस्तो भावना संप्रेशण भन्न खोजेका हुन् उनले ! उनका चित्रले पो कस्ता भावना फ्याकिरहेका होलान् ? म सरसर्ती फेरी क्यानभासतिर आँखा डुलाउँछु ।
‘हामी मान्छेहरु भावनाहरुले भरिएका छौं । हामीमा भावनाहरुको एउटा राग छ । त्यो रागको आदानप्रदान गर्न चित्रको आवश्यकता हुन्छ, शब्दको आवश्यकता हुन्छ, आवाजको आवश्यकता हुन्छ । त्यसैले कोरिन्छन् चित्र, लेखिन्छन् कविता र रचिन्छन् धुन ।’ अघिको भावना संप्रेशणको कुरालाई शान्तरामले अथ्र्याइरहेछन् ।
मैले केही बुझे जस्तो गरी टाउको हल्लाउँछु । तर, प्रश्नहरु भने सकिएका छैनन् । ‘तपाईका चित्रले कस्ता भावना पोख्दछन् ?’–मैले फेरी सोध्छु ।
र्याकमा अडेस लगाएर भुईंमा राखिएको अघि कै क्यानभासमा फेरी उनका आखाँ पुग्छन् । मैले उनका आँखालाई पछ्याउँछु । क्यानभासमा गायक झलकमान गन्दर्भ हातमा सारङ्गी लिएर उभिइरहेका छन् । उनको अगाडिको दाँत फुस्किएको छ । आँखा केही खुम्चिएका छन् । निधारमा ठूलो गाँठो छ । झुस्सका सेता दारी भएको केही लाम्चो मुखाकृतिले मुख बाइरहेछ । लाग्छ–गन्दर्भले सारङ्गी रेटेर गीत गाइरहेका मात्रै छैनन्, कुनै चोटको गाथा फलाकिरहेछन्, निकै चर्को रोइरहेछन् । क्यानभास हेर्नेले उनको रोदन सुन्न सक्दथ्यो ।
‘म कहलिएको आर्टिस्ट होइन । मसँग सिमितताहरु निकै छन् । सिमितताका बिच चित्रमा रम्छु । मेरा चित्रले त केवल भावना पोख्ने काम गर्छन । रोदन र हाँसो, सुख र दुख, माया, घृणा र सौन्दर्य पोख्ने गर्छन् ।’ ०६३ सालमा आफैले बनाएको झलकमानको पोट्र्रेटमा आँखा गाड्दै शान्तराम भन्छन् ।
मैले फेरि एक पटक कोठाभरि आँखा डुलाउँछु । फरक आकारका क्यानभासमा फरक आकृतिहरु छन् । पुष्पलाल श्रेष्ठ, कार्ल मार्क्स, पश्चिमा मिथक, खेत जोतीरहेको मान्छे, भक्कानिएर गित गाइरहेको गाइने, ढिकी कुटिरहेका आइमाईहरु फरक–फरक रङमा पोतिएका छन् । रङै पिच्छे फरक फरक कथा बोलिरहेछन् ।
यता कुर्चिमा शान्तराम आफ्ना कथा कहिरहेछन् ।
शान्तरामका परिवार चितवन छाडेर २०२८ सालमा नवलपरासीको बर्दघाट आएका रहेछन् । त्यतीबेलासम्म शान्तरामले एसएलसी पास गरिसकेका थिए । बर्दघाट आएपछि उनले त्यहाँको दाउन्ने देवी प्राइमरी विद्यालयमा पढाउन थाले । त्यतीखेर एसएसली गरेका वा नगरेकाले पनि ‘भोकेसनल’ तालिम लिएपछि शिक्षक हुन पाउने व्यवस्था थियो । एसएलसी पास गरेका शिक्षकहरुले तालिम भत्ता र तलब गरी २ सय ७५ रुपैयाँ पाउथेँ रे !
‘त्यो पैसा होटेलमा चिया नास्ताकै लागि सकिन्थ्यो । दशैं आउँदा कपडा किन्न प¥यो भने बाबा लाई नै भन्नु पर्ने, मलाई लाज लाग्थ्यो ।’ उनले ती दिनहरु सम्झन्छन्–‘तर, केही चित्रकारहरुले भने राजा–रानीका फोटो बनाएर तीन सय रुपैंयामा बेच्दै हिड्थे । उनीहरुले दैनिक दुई वटा चित्र बनाएर ६ सय रुपैयाँसम्म कमाउँथे । आफ्नो तलब भने जम्मा त्यती । मलाई मेरो सपनामा अरु बाँचिरहेको देख्दा डाह हुन्थ्यो । अनि मैले पेन्टिङ सिक्न घर छाडेर बाटो लागेँ ।’
यति भनेर उनी रोकिन्छन् । तर, म भने उनको गृहत्यागलाई ‘रोमान्टिसाइज’ गर्न थालिसकेको छु । डच आर्टिस्ट भिन्सेन्ट भान गग्ले बुबा आमाको इच्छा विपरित चित्रकला सिक्न आफ्ना काकासँग जुनडर्टबाट हेग पुगेका थिए । सिद्धार्थले गृहत्याग गरेरै बुद्ध बने । युलाइसीस लेख्न जेम्स जोयसलाई जन्मभूमी आयरल्याण्ड छाडेर हिंड्नु परेको थियो । यस्ता उदाहरण धेरै छन् । हिन्दु मिथकका करिब सबै क्रृषीमुनीहरु ज्ञानको खोजीमा गृहत्याग गरी जंगल र पर्वत तिर लाग्थे । साधनाको पहिलो सर्त गृह त्याग हो र !
उनको गृहत्यागको कथा सुन्न म उत्साहित छु । घर छाडेपछि सुरु भएको उनको ‘ओडिसि’मा मलाई पनि हात समाएर लिएर जाउन् भन्ने चाहन्छु ।
‘मैले सिद्धान्त वा व्यक्तिलाई कहिल्लै पछ्याइन । आत्मसन्तुष्टिका लागि चित्र बनाएँ । बेच्नमिल्ने बेँचे । त्यसैबाट जिवीका पनि चलिरहेको छ । कहलिएको आर्टिस्ट होइन म । न त धेरैलाई मेरा कामहरु बारे थाहा छ ।’ उनि भन्छन् । उनको गृहत्यागलाई मैले अधिक सौन्दर्यकरण गर्न खोजेको बुझेछन् क्यार ! मलाई वास्तविकताको धरातलमा ल्याउने कोशिश गरिरहेछन् ।
हुन पनि बुटवल जस्तो मोफसलमा कला बजार भ्रूण नै छ । कल्पनाका तरेलीबाट झिकिएका चित्रहरुमा छरिएका सौन्दर्य यहाँका अधिकांश मानिसहरुका लागि विलाशिता हुन्, आवश्यकता होइनन् ।
आवश्यकता त दैनन्दिन जिवीका हो । यसमाझ आफूलाई प्रसिद्ध कहलाउन चित्रकारलाई त्यती सजिलो छैन । तर, सत्य त्यतिमात्रै होइन । यहीँ बजारमा सफल चित्रकारका रुपमा स्थापित भइसकेका छन् शान्तराम । उनले चित्र कोर्न सिकाएका चित्रकारहरुले अमेरीका र जापानमा भव्य ग्यालरीहरु खोलिसकेका छन् । कोही यहीँ बजारमा कुशल ‘आर्टिस्ट’को रुपमा स्थापीत भइसकेका छन् । त्यैपनी उनले मसँग आफ्नो सादगीपन झल्काइरहेछन् । यो उनको खूबी हो ।
यद्यपी, संघर्ष सापेक्षित कुरा हो । यसको मानक व्यक्ति पिच्छे फरक हुन्छ । मानक अनुसारकै कथाहरु हुन्छन् । म उनको कथा खोतल्न खोजिरहेछु । उनका स्मृतिका पानाहरु पल्टाइरहेछु ।
शिक्षण पेसामा भन्दा चित्रकारीतामा पैसा धेरै हुने स्वविकेकिय आँकलन गर्दै चित्रकला सिक्न शान्तराम घरबाट भागेका रहेछन् । चित्र बनाउन सिक्छु र त्यसैबाट बाँच्छु भनेर आमा बाबालाई यकिन दिलाउन उनलाई जुगांै लाग्ने थियो । त्यसैमाथि शिक्षणको काम छाडेर जाने कुरा उनीहरुका लागि मान्य हुन्थेन । त्यसैले उनले ‘सर्टकर्ट बाटो’ रोजे । २०३० साल असारको बर्षे विदाको मौका पारेर घरमा थाहै नदिई बाटो लागे ।
त्यतीबेला चित्रकारहरुको आकर्षण थियो दार्जिलिङ । शान्तरामले त्यहाँ चित्र सिकाउने राम्रा आर्टिस्ट पाइन्छन् भनेर सुनेका थिए । घरबाट भागेर त्यतैको बाटो लागे । तर, दार्जिलिङ पुगेपछि थाहा भयो– उनी त विना तयारी नै घरबाट भागेका रहेछन् !
‘असार साउनको गर्मिमा यहाँबाट सामान्य पाइण्ट र सर्ट लगाएर गएको थिएँ । दार्जिलिङ चिसो ठाउँ हो भनेर मलाई अन्दाज समेत रहेनछ । त्यहाँ पुगेपछि मैले जाडो खप्न सकिन । पुगेकै रात भोलीपल्टै फर्कने निधो गरिसकेको थिएँ ।’ आफ्नो बेवकुफी सुनाउँदा उनी केही संकोचपूर्ण मुस्कान फ्याँक्छन् ।
अब कहाँ जाने ? उनी फसादमा परे ।
शिक्षण पेसामा रहँदा बुटवल–नारायणघाट सडक बनाइरहेका ब्रिटिस सुपरभाइजर र क्लर्कहरुसँग उनको चिनापर्ची भएको रहेछ । त्यहाँ परियोजना सम्पन्न गरेपछि उनिहरु अहिले धरान–धनकुटा सडक बनाइरहेका थिए । धरानमा नै क्याम्प खडा गरेर परियोजनाको काम गरिरहेका थिए । शन्तरामलाई ‘नहुन भन्दा कानो मामा जाति’ भनेझैं भयो । दार्जिलिङबाट भोलीपल्टै धरानतिर हानिए ।
त्यहाँ उनी ठेकेदार कालिप्रसाद श्रेष्ठ कहाँ भाडामा बस्न थाले । सडक बनाउने मिस्त्री र ठेकेदारका छोरा छोरीलाई ट्युसन पढाउथे । तर, दिउँसोको खाली समयमा उनी चित्र सिक्न चाहन्थे । कोही गुरु खोजिरहेका थिए ।
केही दिनपछि चित्रकार सुन्दर उदाससँग उनको भेट भयो । उदासको त्यहाँ पेन्टिङको दोकान थियो । उनि दिउँसो दोकान जाने गर्न थाले । तर, सिकेवापत पैसा भने तिर्नु पथ्र्यो । त्यसैमाथि चाहेका बेलामा रङ र कुचो छुन दिइन्थेन रे ।
‘उदास मभन्दा ११÷१२ बर्ष जेठो थियो । कुचो र क्यानभास बिग्रन्छ भनेर मलाई छुन दिन्थेन । खोजे जसरी रङसँग खेल्न पाएको थिइनँ । साइन बोर्ड बनाउने काम मात्रै सिकिरहेको थिएँ ।’ धरानका ती दिनहरु सम्झदै उनी भन्छन्–‘उदास नभएको बेलामा त्यहाँ काम गर्ने अरु आर्टिस्टसँग रंग भर्न सिकेको हो ।’
काम सिकेपछि शन्तरामले आफैले ठेक्का पाउन थाले । त्यहाँ सडक बनाइरहेका ब्रिटिश अफिसरहरुले उनलाई गाडी पेन्टिङ गर्ने ठेक्का दिन्थे । प्रोजेक्टको क्वान्टिटी सर्वेयर अफिसरले उनलाई चिनेकै आधारमा गाडी रङ्गयाउने र साइन बोर्ड बनाउनेसम्मका ठेक्का दिन्थ्यो । काम पाउन थालेपछि उदासको दोकान धाउन छाडे ।
‘त्यसपछि ठेकेदार पो बने म त ! धरान–धनकुटा सडकको काम नसकिउन्जेल ठेक्काकै काम गरेँ । पेण्टरहरुलाई काममा लगाउँथेँ । मैले भने चित्रहरुमा रंग भेरेर बस्ने गर्थेँ । चित्रमा मैले सबै समय खर्चिन पाएको थिएँ । धरान फुस्रेक्याम्पको भित्ता र डाँडा देखिने गरी बनाएको पेण्टिङ ब्रिटिशहरुले पनि लगेका छन् ।’ धरान बसाईका ती दिनहरु सम्झन्छन् ।
चित्रमा रङभर्ने कला सिक्न घर छाडेर त्यहाँ पुगेका शान्तरामले त्यतिमात्रै सिकेनन् । रङलाई आफ्ना भावनाका संवाहक बनाउन सिके । भावना पोख्न रङलाई ‘म्यानीपुलेसन’ गर्न सिके ।
‘रङहरु भावनाका संवाहक हुन् । गाढा रङले खुसी बनाउछन् । लुप्त रहेका वा हल्का रङले दुखी बनाउँछन् । चित्र तिनै रङहरुको संयोजन हो । कुन रङ कसरी प्रयोग गर्ने भनेर जान्ने मान्छेले चित्र बनाउन सक्छ ।’ उनले धरानमा रङलाई कसरी बुझे त्यो बताइरहेछन् । अघिको अजङ्गको भारत चित्रित क्यानभास हातमा लिएर शिक्षकले सिकाए जसरी उनले रङबारे मलाई भनिरहेछन् ।
‘....रङलाई तोरमडोर गरेर भावना अभिव्यक्त गर्न सकिन्छ । चित्रमा दुई पात्रलाई कसरी टाढा राख्ने वा नजिक राख्ने ? त्यो पनि रङले नै तय गर्छ ।...’
शान्तराम रङका बारेमा बोलेर थाक्दैनन् ।
म चुपचाप सुनिरहेछु । उनको बर्दघाटदेखि दार्जिलिङ र दार्जिलिङदेखि धरानसम्को यात्रा अनि त्यहाँको बसाई ! मपनि उनीसँगै त्यहीँ त्यहीँ पुगिरहेछु, जहाँ जहाँ उनी पुगे । उनी धरान बस्न थालेको पनि पाँच बर्ष भइसकेछ !
धरानमा शान्तराम कुशल चित्रकारको रुपमा स्थापीत हुँदैं थिए । तर, उनले आफ्नो भविष्य त्यहाँ देखेका थिएनन् । जाने कता पनि अत्तो पत्तोे थिएन । चित्रकलामा रमाइरहेकाले होला भविष्यको उतीसारो फिक्री पनि थिएन रे ! तर, कोही थियो जो पाँच बर्षदेखि शान्तरामकै फिक्री गरिरहेको थियो ।
छोरा घर हिडेर गएको लामो समय वितिसक्दा पनि घर नफर्के पनि शान्तरामकी आमा छोरा खोज्न निस्किइन् । निकै ठाउँ सोधिन् । धेरै ठाउँ खोजिन् । जहाँ–जहाँ गइन् निरासा मात्रै भेटिन्, छोरो भेटिनन् । छोरा धरानमा छ रे भन्ने मात्रै थाहा पाउन उनलाई पाँच बर्ष लागेको थियो । थाहा पाउनासाथ उनि धरान आइपुगिन् । अचानक एक साँझ शान्तराम बस्ने घरका आँगनमा उनी टुप्लुप्क देखा परिन् । छोरालाई देख्नासाथ उनी मुस्कुराइन । पलभरमै त्यो मुस्कुराहट रिसमा बदलियो त्यसपछि आँसुमा । छोरालाई फर्काएर घर नटेक्दासम्म उनको अनुहारमा मुस्कान, आँसु र रिस पालैपालो देखिए । आमा छोरा बर्दघाट आए । साथमा केही थान खुसीहरु भित्र्याए ।
शान्तरामलाई अझै पनि घर बस्न मन थिएन । हातमा सिप थियो । बलबैंशको उमेर थियो । उनी केही गर्न चाहन्थे । त्यसैले चितवन तिर लागे । यसपटक घरमा सबैसँग सल्लाह गरेर हिडेका थिए ।
‘चितवनमा भरतपूर विमानस्थल अगाडी ‘आर्ट ग्यालरी’ खोलेँ । व्यवसाय सन्तोषजनक चलिरहेको थियो । तर, नारायणीमा पूल नहुँदा घर आउ जाउ गर्न निकै समस्या भयो । बाबा आमा एकातिर म एकातिर भएपछि त्यहाँ पनि बस्न उचित लागेन । अनि म बुटवलतिर आएँ ।’ उनले सुनाइरहेछन् ।
२०३५ सालमा शान्तराम बुटवल आउँदा यो सहर प्यूपा अवस्थामा नै थियो । अहिले जस्तो पुतली बनिसकेको थिएन । तिनाउको पूर्वी तटमा घरभन्दा बाक्ला पोथ्रे झाडी थिए । पश्चिमी तट भने केही गुलजार थियो । त्यो किनबेचको केन्द्र थियो ।
‘मैले पुर्वी भाग रोजे । पुस्पलाल पार्क भन्दा भित्रको एउटा चोकमा कोठा लिएर एभरेष्ट आर्ट खोलेँ । त्यहीँ पेन्टिङको काम गर्थेँ । त्यसपछि अस्पतालको अगाडीपट्टी सरेँ । अन्तिममा अस्पतालले नै बनाएको सटरमा सरेँ ।’ बुटवल आउँदाका दिन सम्झन्छन् ।
उनी बुटवल आउँदा व्यवसायीक ‘आर्ट’ गर्ने दुई जनामात्रै थिए–मनगोल्डी र नरेन्द्र लिगल । दुवै जनाले गोल्डी आर्ट चलाएर बसेका थिए । शान्तराम तेस्रो व्यवसायीक आर्टिस्टका रुपमा सहर भित्रिएका थिए । यहीँ सहरमा उनी कुशल चित्रकारका रुपमा हुर्किए ।
अहिले जीवनको उत्तरार्धमा छन् शान्तराम । तर, कलामोह घटेको छैन । बरु जीवनमा आफूले उपाधी ठानेका धेरै कुराहरुप्रति अहिले मोह घट्दै गएको छ । र्याकमा राखिएका पुरस्कार र प्रमाणपत्रहरु उनलाई निरर्थक लाग्न थालेको छ । ‘मैले के पाए, के गुमाएँ भन्ने कुराको त्यती अर्थ नहुने रहेछ । भित्ताभरी छन् यी सामान । के के न पाएँ भन्ने लाग्थ्यो, तर अहिले त्यहाँ लागेको धुलो झार्न पनि झन्झट लाग्छ ।’ उनी भन्छन् ।
‘त्यसो भए अर्थ के को छ ?’ भर्खर मेरो हातमा थमाइएको चियाको कपबाट पहिलो सुर्की तान्दै सोध्छु, धेरै नसोँची ।
मेरो प्रश्न नसुनेझैं गरी शान्तराम मौन छन् । अगाडि रहेको चियाको कपबाट बाफ उडिरहेको छ । बाफमा उनका आँखा अडिएका छन् । केही बेरपछि साउती गरेजस्तो गरी बोल्न सुरु गर्छन् ।
‘चित्र बनाउँदा जीवनको सौन्दर्य बोध हुन्छ मलाई । मेरा चित्रले समाजमा कति हलचल ल्यायो ? यसबाट कति दाम कमाएँ ? नाम कति पाएँ ? यसले मेरालागि त्यती अर्थ राख्दैन । नाम र दाम जीवनका गौण उत्पादन हुन् । सौन्दर्य चेत महत्वपर्ण कुरा हो जस्तो लाग्छ मलाई ।’ उनले भनिरहेछन् । उनी केही गम्भिर छन् ।
‘केही आर्टिस्टहरुले चित्र मात्रै कोरेनन्, कविता मात्रै लेखेनन्, धुनहरुमात्रै रचेनन् । बरु चित्र, शब्द र धुनहरुले समाजका ईन्द्रीयहरुलाई छुन सके । केहीले त ती ईन्द्रीयहरुको ग्रहणशिलतालाई परिवर्तन गर्न सके । दा भिन्ची, माइकल एंजेलो, शेक्स्पीयर र मोजार्टहरु यसरी नै जन्मिएका हुन् । तर, उनीहरु क्रान्ती नै गर्छौ भनेर चित्र बनाएका थिएनन् । कविता र धुन रचेका थिएनन् । उनीहरु त केवल चित्र, शब्द र धुनसँग रमाइरहेका थिए ।’ उनी रोकिएका छैनन् ।
बाहिरबाट हेर्दा जती सादगी देखिन्छन्, भित्रबाट उत्तीकै मनमौजी रहेछन् शान्तराम ! पाउनु र गुमाउनुसँग मतलबै रहेनछ !
शान्तरामले अब बाँकी रहेको जीवन कलामै व्यतित गर्ने सोचेका छन् । बरु चित्रकलाबाहेक अरु बिधामा पनि आफूलाई फराकिलो पार्न खोजिरहेका छन् ।
उनको आयुर्वेद र योगमा आधारित ‘शान्तराम सङ्ग्र्रहित ज्ञान कुण्ड’ पुस्तक प्रकाशित हुने क्रममा छ । उनिद्वारा निर्देशित हास्य कार्यक्रम ‘जस्ताको तस्तै’ स्थानीय टेलिभिजनबाट प्रसारण भइरहेको थियो तर, कोभिड–१९ का कारण रोकिएको छ । महामारी मथ्थर भएपछि बाँकि श्रीङ्खलाहरुको छायाङ्कन गर्ने सोँचमा छन् । उनले दुई वटा राष्ट्रिय गित रेकर्ड गराएका छन् । गितको भिडियो बनाउने पनि सोँच रहेछ । म त्यहाँबाट हिड्ने तरखर गर्दै गर्दा पृष्ठभूमिमा ती गितहरु गुञ्जिरहेका थिए । ‘अवका दिनहरु यस्तै यस्तै गरी बित्नेछन् ।’ मलाई ढोकासम्म छोड्दै उनी भन्छन् । म त्यहाँबाट अफिसतिर निस्कन्छु ।