बुटवल । खोपहरुले कोभिड–१९ को महामारीबाट उम्काउने आसाहरु जगाइरहेका बेलामा ब्रिटेनका अधिकारीहरुले गएको हप्ता बेलायतमा नयाँ प्रकारका कोरोना भाइरसहरु फैलिरहेको भन्दै चेतावनी दिए । भाइरसको यो प्रकार अघिको भन्दा निकै संक्रामक रहेको उनीहरुले बताए ।
लण्डन र वरपरका क्षेत्रमा नयाँ प्रकारको कोरोना भाइरस अधिकतम फैलिरहेको बताउँदै प्रधानमन्त्री बोरिस जोनसोनले गत मार्च यता कै सबैभन्दा कडा लकडाउनको घोषणा गरे । ‘जब भाइरसले आक्रमण गर्ने नयाँ शैलि अपनाउँछ, हामीले प्रतिरक्षाका नयाँ शैली अपनाउनुपर्छ ।’ उनले भने ।
लकडाउन कार्यान्वयनमा आएसँगै लण्डनका रेल्वे स्टेशनहरुमा मानिसहरुको निकै भिंड देखिन्थ्यो । उनीहरु सहर छाड्न तछाडमछाड गरिरहेका थिए । आइताबार युरोपेली मुलुकहरुले भाइरसको नयाँ स्वरुपलाई आफ्ना देशभित्र छिर्न नदिन बेलायतसँग जोडिएका नाकाहरु बन्द गर्दै त्यहाँबाट आउने यात्रुहरुलाई बन्देज गरेका छन् ।
दक्षिण अफ्रिकामा उदय भएको एउटा त्यस्तै किसिमको भाइरस बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ । यो पत्ता लगाएका बैज्ञानिकहरुका अनुसार संकलन गरिएको नमूनाको ९० प्रतिशतमा यो भाइरस देखिएको छ। मध्य-नोभेम्बरमा यी नमूनाहरुको आनुबांशिक अनुक्रमबारे परिक्षण गरिएको थियो ।
बैज्ञानिकहरु चिन्तित त छन् तर कोरोनाको नयाँ प्रकार देख्दा अचम्मित भने छैनन् । भाइरस विश्वभर फैलिरहँदा शोधकर्ताहरुले कोरोना भाइरसको अनुबांशिकीमा हजारौं साना परिवर्तनहरु फेला पारेका छन् ।
‘यो साँच्चै नै चेतावनी हो । यसतर्फ सुक्ष्म ध्यान जावस्,’ फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलका जीव बैज्ञानिक जेसी ब्लूमले भने–‘यी म्युटेशन(उत्परिवर्तन)हरु निकै फैलिनेछन् । साइन्टिस्ट समूदायले यी म्युटेशनहरु माथि नजर राख्नु पर्छ र धेरै असरगर्ने खालका म्युटेशनहरुलाई बर्गिकृत गर्नुपर्छ ।’
ब्रिटेनमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसका २० वटा म्युटेशन छन् । म्युटेशनले भाइरसलाई मानव कोशिकाहरुमा अड्किन र संक्रमण गर्न नयाँ क्षमता दिएको छ । संक्रामक रोग विशेषज्ञ तथा ब्रिटिश सरकारका सल्लाहकार बैज्ञानिक म्युग चेभिकले यस्ता म्युटेशनले नयाँ प्रकारको भाइरसलाई रेप्लीकेशन अर्थात् दुरुस्तै अर्को भाइरस बनाउने क्षमतालाई अझै बलियो बनाएको बताए । उनका अनुसार यस्तो क्षमताले भाइरसको संक्रमण दर निकै गुणाले बढ्छ ।
ब्रिटिश अधिकारीहरुले नयाँ स्वरुपको कोरोना भाइरस अघिल्लो भन्दा ७० प्रतिशत बढि संक्रामक भएको बताएका छन् ।
तर, यो कुनै ल्याब परिक्षणमा आएको तथ्याङ्क नभएकाले निश्कर्षमा पुग्न अझैं धेरै प्रयोगात्मक तथ्याङ्क आवश्यक पर्ने डा. चेभिकले बताइन् । उनका अनुसार उच्च संक्रमणको विशेषता भाइरसमा आएको परिवर्तनका कारण मात्रै नभई मानिसको व्यवहारमा आएको परिवर्तन पनि हुनसक्छ ।
दक्षिण अफ्रिकामा पनि बैज्ञानिकहरुले मानिसको व्यवहारले कारोना संक्रमणलाई डोहोर्याइरहेको बताएका थिए । नयाँ म्यूटेशनको संक्रामक व्यवहारबारे भने भने अझैं निष्कर्षमा नपुगिएको उनीहरुको तर्क थियो ।
ब्रिटेनले नयाँ प्रकारको कोरोना भाइरसको उदय भएको घोषणा गर्नुले भाइरसले भर्खरै बजारमा आएका र धेरैले लगाएका खोपविरुद्ध प्रतिरोधात्मक शक्ति बिकास गरिसकेको हो की भन्ने आशंका उब्जिएको छ । भाइरसको आनुवंशिक कोड(जेनेटिक कोड)मा देखिएका दुई वटा परिवर्तनले भाइरसलाई निश्चित एन्टिबडीसँग जुध्नसक्ने क्षमता दिएको हुनसक्ने भन्दै अध्ययनहरु अगाडि बढाइएको छ ।
तर, केही बैज्ञानिकहरुले हाल लगाइएका खोपहरुबाट बँच्न भाइरसलाई नयाँ म्युटेशन बनाउन पर्ने र त्यसका लागि बर्षौसम्म पनि लाग्न सक्ने बताउँछन् ।
‘खोपको इम्युनिटी र एन्टिबडीलाई एकैपटक ध्वस्त गर्न सक्नेगरी प्रलयंकर रुपमा भाइरसले नयाँ म्युटेशन बनाउँछ कि भनेर कोही पनि चिन्तित हुनु पर्दैन ।’ डा. ब्लूमले भने–‘यस्तो हुन प्रक्रियागतरुपमा धेरै म्युटेशनहरु भएको हुनुपर्छ र यस्तो हुन धेरै समय लाग्छ,’ उनले भने–‘स्विच अफ गरे जस्तो झ्वाट्टै हुने कुरा होइन ।’
तर, बैज्ञानिक तर्कलाई ब्रिटेनका छिमेकीहरुले त्यती महत्व दिएका छैनन् । नयाँ प्रकारको भाइरसको सम्भावित ‘इन्फ्लो’बाट चिन्तित् हुदैं नेदरल्याण्डले जनवरी १ सम्म ब्रिटेनसँगको हवाई सेवा रोकेको छ ।
इटालीले पनि हवाइ यात्रा रोकेको छ । यता बेल्जियमका अधिकारीहले ब्रिटेनबाट आउने हवाई र रेल २४ घण्टाका लागि बन्द गरिएको बताएका छन् । जर्मनीले ब्रिटेन र दक्षिण अफ्रिकाका यात्रुहरुको आवागमनलाई रोक्न योजना बनाउन थालेको छ ।
स्पेनले युरोपियन युनियनका राष्ट्रहरुले एकिकृतरुपमा ब्रिटेनबाट हुने आवागमनमा कढाइ गर्न युनियनसँग आग्रह गरेको छ । न्यु योर्कका गभर्नर एण्ड्रयु कुमोले अमेरिकाले पनि ब्रिटेनबाट हुने हवाइ आवागमनलाई रोक्न आग्रह गरेका छन् । (न्युयोर्क टाइम्सको लेखमा आधारित)