प्रत्येक वर्ष झन्डै एक हजार अन्तरधार्मिक जोडीहरूले नयाँ दिल्लीमा रहेको एउटा ऐक्यबद्धता समूहसँग सहयोगका माग्दै सम्पर्क राख्छन्। हिन्दु र मुसलमान जोडीहरू आफ्नो परिवारले विवाहका लागि अनुमति नदिएपछि धानकसम्म पुग्छन्।
बीसदेखि ३० वर्षका उनीहरू उक्त समूहले आफ्ना परिवारसँग कुराकानी गरिदेओस् र कानुनी सहायता प्राप्त गर्न मद्दत गरोस् भन्ने चाहन्छन्। धानकमा आउने जोडीमध्ये ५२ प्रतिशत हिन्दु महिलाले मुसलमान पुरुषसँग विवाह गर्न चाहेको पाइन्छ भने ४२ प्रतिशत मुसलमान महिलाले हिन्दु पुरुष रोजेको देखिन्छ।
धानकका संस्थापक असिफ इकबाल भन्छन्, ‘भारतमा हिन्दु र मुसलमान दुवै परिवारहरू अन्तरधार्मिक विवाहको कट्टर विरोधी छन्।’
‘उनीहरू त्यस्ता जोडीलाई रोक्न जुनसुकै हदसम्म जान सक्छन्। आमाबुवाले आफ्नी छोरीको बदनाम गरेर भए पनि त्यस्ता विवाहहरूलाई निरुत्साहित गर्न खोज्छन्। त्यस्तो सम्बन्ध रोक्न ’लभ जिहाद’ भनिने अर्को अस्त्र पनि प्रयोग गरिन्छ।’
विवाहमार्फत् हिन्दु महिलाहरूको धर्म परिवर्तन गराउन खोजेको भन्दै मुसलमान पुरुषहरूलाई उग्रवादी हिन्दु समूहले लगाएको आरोपलाई ’लभ जिहाद’ले जनाउँछ। यसले भारतको अन्तरधार्मिक विवाहलाई तारो बनाइरहेको छ।
दुई साताअघि भारतको उत्तर प्रदेश राज्यमा प्रहरीले एक जना हिन्दु महिलाको धर्म परिवर्तन गराउन खोजेको भन्दै एक मुसलमान व्यक्तिलाई पक्राउ गरेको थियो। लभ जिहादलाई लक्षित गरी धर्म परिवर्तन रोक्न ल्याइएको कानुनअन्तर्गत पक्राउ पर्ने उनी पहिलो व्यक्ति थिए।
हिन्दुवादी राजनीति
सत्तारूढ हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीको नेतृत्वमा रहेका भारतका कम्तीमा चारवटा अन्य राज्यहरूले यस्तै कानुन ल्याउन लागेका छन्। पार्टीका प्रवक्ताले ’छलछाम, ठगी र नक्कल’ रोक्न यस्तो कानुन चाहिने बताएका छन्।
लभ जिहादका मिथकबारे अनुसन्धान गरेकी युनिभर्सिटी अफ दिल्लीकी इतिहासकार चारु गुप्ता भन्छिन्, ‘हिन्दु पुरुषले मुसलमान महिलासँग विवाह गर्दा यसलाई सधैँ प्रेम वा रोमान्सका रूपमा हिन्दु सङ्घ संस्थाहरूले चित्रण गर्ने गरेका छन् तर मुसलमान पुरुषले हिन्दु महिलासँग गर्दा त्यसको ठ्याक्कै उल्टो जबरजस्ती गरियो भन्ने गरिएको छ।’
पुरुषप्रधान सोच, नातागोता, धर्म, जात र परिवारको प्रतिष्ठालाई भारतका अधिकांश ठाउँमा महत्त्व दिइने भएकाले त्यहाँ प्रेम सम्बन्ध कठिन र खतरनाक हुने गरेका छन्।
तर पनि भारतका सानाठूला गाउँ र बजारमा किशोर महिला र पुरुषले शताब्दीऔँ पुराना मान्यताहरू भत्काइरहेका छन्।
मोबाइल फोन र डेटामार्फत् उपलब्ध हुने सस्तो इन्टरनेट र सामाजिक सञ्जालमा एक अर्कालाई भेटेर प्रेममा पर्नेको सङ्ख्या हालसम्मकै उच्च भएको छ। एउटै जात वा धर्ममा हुने विवाहलाई सम्मानित ठानिने भारतमा ९० प्रतिशत विवाहहरूबारे परिवारले टुङ्गोमा पु¥याउनेछन्।
अन्तरधार्मिक विवाह लगभग दुई प्रतिशतभन्दा केही बढी हुने एउटा अध्ययनले देखाएको छ।
भ्रामक प्रचार
धेरैले राजनीतिक फाइदाको लागि हिन्दु समूहहरूले बेलाबेलामा लभ जिहादको सवाल उठाउने गरेको विश्वास राख्दै आएका छन्। मतदाताहरूलाई विभाजित तुल्याउन हालै उत्तर प्रदेशको स्थानीय तहको निर्वाचनको समयमा पनि ’लभ जिहाद’ को विषय उठेको थियो।
भारतको हिन्दु राष्ट्रवादी राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएसको मुखपत्रले ’लभ जिहाद’बारे कभर समाचार छाप्दै मानिसहरूलाई लभ जिहाद कहिल्यै पनि नगर्ने पक्षमा नारा लगाउन अनुरोध गरेको थियो।
उत्तर प्रदेशका एक जना बीजेपीका प्रवक्ताले कमजोर अवस्थामा रहेका हिन्दु किशोरीहरूलाई निशाना बनाउन चलाइएको विश्वव्यापी लभ जिहादको अंशका रूपमा अन्तरधार्मिक विवाहलाई प्रस्तुत गरेका थिए।
त्यस क्रममा विवाहका लागि महँगा कपडा र कार अनि उपहार किन्न मुसलमान पुरुषहरूले विदेशबाट रकम पाइरहेको र उनीहरूले हिन्दु महिलालाई आकर्षण गर्न हिन्दु बनेको अभिनय गरिरहेको पनि उल्लेख गरिएको छ। (बिबिसीबाट)