प्राचीन प्रस्तरयुगको मानव समाज आदिसाम्यवादी स्वरुपको थियो भन्नेमा शंकाका निम्त कुनै ठाउँ छैन। परिभाषाले गर्दा नै त्यो समाजमा कुनै उत्पादन व्यवस्था थिएन। प्रकृतिमा प्राप्त हुने फल, जराका गाँठहरु, जंगली अन्न र सिकार नै मानिसका भोजन थिए। ती वस्तुनिम्त समुदाय नै सामूहिक तवरमा सक्रिय तिनको एक मात्र उपयोगी श्रम र जीवन थियो , स्वभावतया सामूहिक उपयोगद्वारा समुदायको सम्वद्र्धन त्यो युगको जीवनपद्धति थियो।
आदिम साम्यवादको अवस्था जड र गतिहीन भने थिएन। त्यसले सिकारनिम्ति आफ्ना हात, ढुङ्गा र लौरालाई उपकरणका रुपमा, हतियारका रुपमा क्रमशः विस्तार गर्दै लग्यो । फलफूल अन्न, सिकार र पानी आदि जीवनका सारभूत आवश्यकता बहुतायतमा पाइने ठाउँमा मानव समुदायले आफ्ना निम्ति बसोबासको प्रबन्ध गर्दै आश्रयनिम्ति छाप्रा बनाउन थाल्योे । पशुपालन र जङ्गली फलफुल र अन्य बहुतायतमा उपलब्ध गरेको ठाउँमा सामूहिक बसोबास सर्दा भोजनलाई भोलिका निम्ति सङ्ग्रह गरेर राख्ने अवस्था पनि मानव समुदाय निश्चय नै पुग्यो।
अन्न सङ्ग्रह प्रक्रियाले अन्नको प्राकृतिक पुनरुत्पादन गर्ने नै भयो– बिउहरु त्यसै पनि उम्रिएर आँउछन् र जमिनमा खस्न,छरिन पुगेका भए तिनमा नयाँ अन्न पनि लगाउँछन् र अन्नोत्पादन प्रति मानवीय ध्यान आकर्षण गरी कृषिनिम्ति स्वभावतया प्रवृत्त गर्छन्। यो अवस्थाले कम्तीमा एक वर्षनिम्ति एक ठाउँमा मानवजातिले बस्नुपर्ने प्रायः बाध्यता नै उत्पन्न गर्छ ।
आज भन्दा २०–२५ हजार पहिले नै मानव समाज यस्तो अवस्थामा पुगिसकेको थियो भन्ने प्रामाणिक निष्कर्षमा पुग्न सहायता गर्ने गरी प्राचीन गुफावासी प्रस्तरयुगी मानवका अवशेषहरु फेला परेका छन् ।
प्राचीन मानवजातिसम्बन्धी त्यस्ता प्राचीन अवशेषहरु जे–जति फेला परेका छन्, कुनै पनि त्यो प्राचीन समयको मानव–समाज मातृसत्तावादी वा पुरुषसत्तावादी के थियो भन्ने प्रश्नलाई विज्ञानसम्मत् जवाफ दिन सहायता गर्ने खालका छैनन् । त्यस्ता कुनै वस्तु अहिलेसम्म कतै पनि उपलब्ध भएका छैनन् ।
आदिम साम्यवादी अवस्था मातृसत्तावादी थियो भन्ने अवधारणामा चिन्तनकर्ताहरु निम्ति वस्तुगत प्रमाण उपलब्ध थिएनन् । तिनले मानव समाजको प्रकृति, आवश्यकता तथा त्यो युगमा जनसंख्या वृद्धिमा नारी–भूमिकाको निर्णायक महत्व आदिबारे गम्भीर अनुमान गरेर आदिम साम्यवादी युग मातृसत्ताको युग थियो भन्ने निष्कर्ष झिकेका हुन् ।
प्रश्न उठ्ने नै भयो –मातृसत्ता भनेको के हो ?
समुदायको जनसंख्या वृद्धिमा नारीको भूमिका अग्रणी, त्रासद तथा प्रकट रुपमा देखा पर्नु स्वभाविक थियो । अन्न उत्पादन गरेर पृथ्वीले जसरी जीवको रक्षा गर्छ, कुनै दृश्य कारण उपलब्ध नरहदाँ पनि (त्यो आदिम युगमा बिउसम्बन्धी ज्ञान नरहेको अनुमान गरेर यो भनेको हुँ) पृथ्वीले विशाल वृक्ष उत्पादन गरेझैँ नै समुदायकी नारीले सन्तान उत्पादन गरेकी हुँदा दुवैबीच समानता र सादृश्य देखिनुका साथै प्रजननजस्तो महति आश्चर्यमय शक्ति नारीमा देखेर ती प्राचीनहरुले पुजार्हा, दैवी शक्ति सम्पन्नजस्तो ठानेर (पूजा र दैवी शक्ति भन्ने शब्दमा आज निहित ईश्वरवादको चेतना उत्पन्न हुँदा मानव समाजमा पुरुषसत्ता पुरुषप्रधान्य र श्रेष्ठता आदि थिए) नारीलाई ‘मातृका’ को विशेष स्थान र सम्मान प्रदान गरेको थियो होला । तर त्यतिलाई नै मातृसत्ता भन्न मिल्दैन ।
मातृसत्ता भन्नासाथ ‘सत्ता सञ्चालन’को पूर्वअनुमान हुने मात्र नभई सत्ता सञ्चालन जस्तो (जतिसुकै आदिम प्रकृतिको सत्ता भए तापनि) बौद्धिक श्रमको विभाजन यौन आधारमा भएको ठहरिन्छ । सिकार वा फल सङ्ग्रहनिम्ति जाँदा त्यो समूह नारी नेतृत्वमा जाने गथ्र्यो भन्ने अनुमान गर्नुबाहेक फ्रेडरिख एन्जेल्स र वा हेर्न मर्गनले पनि बौद्धिक श्रम विभाजन यौन आधारमा भएको थियो भन्ने देखाउने कुनै थप प्रमाणबारे केही उल्लेख गरेको थिएनन् । गण्डकी सन्तानकी प्रत्यक्ष माता रहेकीले मातृसत्ता भन्ने अनुमानलाई गहकिलो,पर्याप्त आधारयुक्त वा भरपर्दोसमेत ठान्न सकिन्न भन्ने मलाई लाग्छ । यौनका आधारमा नैतिक श्रमविभाजनको अनुमाननिमित्त भने ठाउँ छ तर त्यसले कुनै बाटोबाट पनि मातृसत्ता भन्ने प्रकल्पना पुर्याउँदैन ।
‘मातृसत्ता’(Matriarchy) भन्ने शब्दको समुदायमा ‘राज्य’कै उत्पति भइसकेको अवस्थालाई जनाउँछ भनिहालौँ तर त्यो शब्दभित्र राज्यको उत्पतितिर प्रारम्भिक लक्षणहरु– सङ्केतहरुको विकास हुन थालेको अनुमान गरिएको भने अवश्यै ठहर्छ । तर जुन युगमा ‘अधिक –उत्पादन’(Surplus)थिएन, जुन समयमा उत्पादनका रुपमा धातु र धातुका औजारका उपयोगमा मानवजाति पुगेको थिएन, जुन युगमा समुदायको प्रत्येक व्यक्ति(शिशुबाहेक बाबालिका समेत) श्रमको सामूहिक अतः अन्तनिर्मित अनुशासनयुक्त उपयोगमाथि समुदायको जीवन–मरणको प्रश्न निर्भर रहन्थो, त्यस्तो समयमा जतिसुकै आदिम रुपको भए पनि कसैको पनि, कुनैपनि यौनको ‘सत्ता’बारे सपनामा नै भएपनि कसरी कल्पना गर्ने ? गुफावासी अवस्थामा जो बलियो, अपेक्षाकृत चतुर र फुर्तिलो थियो, नारी वा पुरुष त्यही प्रधान थियो । गोठाले, रमन्ते जीवनमा र त्यसपछि कृषि उतपादन प्रारम्भको समुदाय जीवनमा आईपुग्दा पनि मानव समुदायमा यौनगत त के कुनै पनि प्रकारको श्रेष्ठता वा सत्ताको कल्पना गर्नु गाह्रो छ । यस विषयमा केही महत्वपूर्ण लक्षणहरुतिर ध्यान दिनु आवश्यक हुनेछः
–त्यो आदिम साम्यवादी युगमा लिङ्गका आधारमा श्रमका केही साखाको विभाजन भएको देखिन्छ भन्दैमा कुनै लिङ्को यौनगत श्रेष्ठता स्थापित भएको थियो भन्ने निष्कर्ष निस्किदैंन सिकार, माछा मार्ने र जङगलमा फल खोज्नेजस्ता त्रासद् काम मुख्यतयाः पुरुषको थियो । नारीहरु अन्न उमार्ने, गाई दुहुने, माटोको भाँडा बनाउने, शिशुपाल गर्ने जस्ता सजिला काममा लाग्थे दुहुनुबाहेक कुनै नारीलाई गोठाल्नीका रुपमा सभ्य संसारको कुनै प्राचीन साहित्यले उल्लेख गरेको प्रमाण छैन् । यसरी हलुका र भारी श्रमबीच लिङ्गभेदका आधारमा विभाजन भई नारीले सुगम काम लिए तापनि त्यो समाजमा लैङ्गिक श्रेष्ठताको प्रमाण छैन् ।
त्यो आदिम समाजमा जे–जस्ता सम्पत्ति र सम्पत्ति उत्पादन गर्ने साधन थिए ती सबै नै सामुहिक उपयोगमा रहने गरेका थिए । जुन समयमा सम्पत्ति र उत्पादनको साधनको आधिक्यको अवस्थामा पुगेर समाजमा दासत्व र उत्तराधिकारको प्रश्न उठ्यो त्यस बेला पुरुषप्रधानतामा समाज पुग्यो भन्नेमा मातृसत्ताको कल्पना गर्नेहरु पनि सहमत छन् ।
–त्यो प्राचीन समयमा आमाबाट छोरीमा उत्तराधिकार सरेका केही सङ्केतहरु नपाईने होईनन् । त्यसबाट मातृसत्ता सिद्ध हुँदैन । नारीका आफ्ना स्वामित्वमा रहेका वस्तुहरु आज जति पनि छोरीका भागमा पर्ने गर्छन् ।
–प्राचीन समाजका आर्य, अनार्य, संसारका अन्य जाति र समुदायहरुमा नारीअर्चनाका प्रबल अस्तित्वहरु रहेको छैन । परन्तु नारीपूजालाई नै मातृसत्ताको लक्षण वा प्रमाण ठह¥याउनु समाजको प्रकृतिपूजा त्यसपछि जीव–जन्तुपूजा अनि देवतापुजा र दुई हजार वर्षदेखि कतिपय ठाउँमा मूर्तिपूजा अथवा प्राचीन मिश्रमा फराउनको मनुष्यपूजाबाट ती कुनैमा सत्ता साबित हुँदैनन् । त्यसैगरी नारी पूजा हुन्थ्यो भन्नेबाट बढी निष्कर्ष झिक्न हुँदैन ।
–प्रजनन्, जनसंख्याको उत्पादन र आफ्नै शरीरबाट दृश्यसृष्टि आदिलाई अति महत्वपूर्ण चमत्कार मात्र होइन गणगोत्रको अस्तित्वको आधार ठानेर प्राचीन मानवजातिले मातृसत्ता गर्ने गर्यो। त्यति मात्र होइन नारीयोनि(भग)को पूजाआरधाना गर्ने गर्यो त्यसबाट ाभचतष्ष्तिथ अगति को रुपमा सर्वत्र तन्त्रको र आर्यदेशमा वैदिक कालदेखि पनि शक्ति पूजा तथा देवी सामु नरवलिसमेतका पद्धति चले । उत्पादनक र प्रजननकर्ताका रुपमा नारीको मात्र होइन खेतको पनि पूजा हुन्छ र खेतलाई पनि बलि दिइन्छ भन्ने कुरा अहिलेकै नेपालमा पनि ग्रामन्त देवता सीमे, भूमे, वरामर माई, मष्टहरुलाई अन्न, रक्तबलि, वस्त्राभूषण, सौभाग्य दानका चलहरु तराई र पहाड सबै ठाउँमा पाइनछन् । त्यति मात्रलाई सत्ता भन्न मिल्दैन । शक्तिको धार्मिक पूजा, आरधना र मान्यतालाई सत्ता भन्न मिल्दैन ।
–महापूजारिणी, देवदासी, गणबधू (Hetaera) आदिको चलन आफ्रिका, युरोप र एसियामा रहेको छ । आर्यदेशमा पनि थियो । पुराणका अप्सराहरु, ऋग्वेदकी उर्वशी, सूर्य तथा पुराणकी शुक्रपुत्री र कचकी प्रेमिका देवयानीहरु महापूजारीणी थिए भन्ने मेरो धारणा छ –त्यसलाई मन्दिर भनेपनि चैत्य भनेपनि । मिश्र र रोमका ओशिरिष र इसिस, ग्रिसकी दिमितर आदि देवदासीका प्राचीन रुप हुन् । ती समाज धार्मिक राज्य ती नारी धर्म शास्ता रहने गरेका थिए । तथापि जननिशक्तिबाट बाहिर राखेर मातृसत्ताको रुपमा तिनलाई हेर्न मिल्दैन । उर्वशीलगायत कुनै अप्सरा वा सरण्यू, सूर्या आदिका धार्मिक बाहेक अन्य सत्तावादी क्रिया देखा परेको छैनन् । तिनका नाउँमा कुनै व्यवस्था धर्म वा कानुन मिश्र, रोम ग्रिस, मेसोपोटामिया, एलम वा आर्यदेश कतै भलेको उल्लेख छैन् बढि भन्दा बढि के देखा पर्छ भने नारीहरुपनि प्राचीन समयमा पुरुषसरह सहभागीनीका रुपमा शक्तिको उपयोग गर्थे ।
कार्लमार्क्स र फ्रेडरिक एन्जेल्सले प्रतिपादन गरेको एतिहासिक र द्धन्द्धात्मक भौतिकवादबाट समाजको विकास समेत भौतिक पदार्थझैँ द्धन्द्धात्मक गतिमा हुँदै आयो र हुँदै जानेछ भन्ने स्थापित गरेका हुन् । त्यो स्थापनाबाट प्राणधारीमा लिंगको इन्कारी हुँदैन । लिंगका आधारमा प्राणधारीको श्रेष्ठता वा हीनता स्थापित भएको मानिँदैन भनेपछि मानव समाजको प्रस्तर युगीन विकासले लिङ्भेदका आधारमा मातृसत्तामा आफुलाई पुर्यायो भनी स्वीकार गर्नु गाह्रो मानिनुपर्ने हो । मानवश्रममा विविधता थपिदै जाँदा श्रमका रुप र आवश्यकताले गर्दा लिंगका आधारमा श्रमविभाजन भएको अवश्य देखिन्छ तर श्रमलाई सत्ता भन्न मिल्दैन । यी सबैबाट त्यो आदिम सामाजिक अवस्थामा मातृसत्ताको नै व्यापकता थियो भन्ने निष्कर्षमा पुग्न सकिन्न ।
मानवीय समाजको विकासको एउटा चरणमा आइपुग्दा पुरुषप्रधानता र पुरुषश्रेष्ठता स्थापित हुनेभन्दा पहिले नारीश्रेष्ठता थियो वा मातृसत्ता थियो भन्ने अनुमान गरी सो आधारमा समाजविज्ञानलाई स्थापित गर्न खोज्नु कृतिमता र यान्त्रिकतायुक्त तर्कवाद मात्र ठहरिन्छ । कुनै ठाउँमा कुनै समयमा तर समाजको त्यो प्रारम्भिक युगमा समुदायको नेतामा नारी वा पुरुष जो पनि हुन सक्थे भने पनि नारी नायक भएको समय र ठाउँलाई मातृसत्ता भन्न मिल्दैन । ‘सत्ता’ भन्नासाथ समाज सञ्चालनमा प्रमुख सहभागिताको प्रश्न अनिवार्य तवरमा उठ्छ । तर लिंगका आधारमा समाज संचालनका सहभागिताको परिचालन गरियो होला भन्ने कुरामा प्रामाण फेला परेका छैनन् । मानव विकास पहिले त्यसमा हात अनि साथै मस्तिष्कको चेतनशक्तिका संयुक्त उपयोगबाट भएको हो । ती दुई अङ्गमा लिंगभेद छैन र लिंग भेदयुक्त प्रभाव पारेको पनि देखिएको छैन ।
मातृसत्ता थियो भन्ने स्थापनामाथि प्रश्न आएर सोभियत सङ्घका विद्धान अब्राम पेर्सिट्सले सोभियत सामाजिक विज्ञान एकेडेमीको प्रकाशनमा सन् १९८७ को दोस्रो अङ्कमा संक्षिप्त तवरले लेखेको मैले उहीँ समय पढेको थिएँ । तिनका विश्लेषणसित त्यसबेला पनि मेरो चित्त बुझेको थियो । अहिले आफ्नो अनुमान यहाँ प्रस्तुत गरेको हुँ।
मानव समाजबाट पुरुषप्रधान र पुरुषसत्तालाई सदाका लागि बिदा गर्न वर्तमान युगमा अथक कार्यहरु भइरहेका छन् । यी कार्यहरु ‘नारी समानाधिकार’भन्ने विचार अन्तर्गत चलिरहेका छन् । मातृसत्तामा फर्किन भने होईन । नारी–समानाधिकारको दिशामा संसारले निकै प्रगति पनि गर्दै आएको छ । समानाधिकार भनेको कुनै एउटा लिङ्गको सत्ता श्रेष्ठता भने होईन।
बरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षीतद्वारा ‘हिन्दूसंस्कृतिको परिशीलन’मा संग्रहित ‘प्राचीन युगमा मातृसत्ता थियो त ?’ शिर्षकको लेख सोही पुस्तकबाट यहाँ साभार गरिएको हो ।–सं