बुटवल–गएको भदौमा एलएन चौधरीलाई आफ्नी हजुरआमाका लागि रक्त प्लाज्माको जोहो गर्न निकै सकस भयो । आइसीयुमा राखिएकी हजुरआमाको अवस्था गम्भीर बन्दै गइरहेको थियो ।
उनी बुटवलका ब्लड बैंकहरु धाए तर कोरोना संक्रमणबाट निको भइसकेका व्यक्तिहरुको प्लाज्मा पाउन सकेनन् । फेसबुकका विभिन्न समूहहरुमा सन्देश छाड्दै रगतका लागि याचना गरे ।
चौंथो दिन कोरोना संक्रमणबाट निको भइसकेका भैरहवाका एक पत्रकार प्लाज्मा दान गर्न तयार भए ।
अब हजुरआमालाई ठीक हुने भयो भन्ने सोचेर कपिलवस्तुको कृष्णनगर नगरपालिकाका एलएन औधी खुसी भए । तर, सोचे जस्तो भएन । प्लाज्मा पाएपनि उनकी हजुरआको मृत्यु भयो ।
ठीक त्यति नै बेला अर्जेन्टिना र भारतका शोधकर्ताहरुको दुई छुट्टाछुट्टै समूहले कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी छ की छैन भनेर अध्ययन गरिरहेका थिए ।
अक्टोबर र नोभेम्बरमा उनीहरुले दुईवटा वैज्ञानिक अध्ययन प्रकाशित गरे । दुवै समूहको शोधबाट ‘संक्रमणमुक्त भएका व्यक्तिको प्लाज्माबाट उपचार गर्ने विधि अर्थात् कन्भलेसेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितहरु माथि निष्प्रभावी छ’ भन्ने निष्कर्ष निस्कियो ।
त्यतिबेलासम्म युरोप र अमेरिकाका अस्पतालहरुमा संक्रमितहरुको उपचारका लागि प्लाज्मा थेरापी विधि सिफारिस गर्न छाडिसकिएको थियो । तर, बैज्ञानिक अनुसन्धानभन्दा निकै पर रहेर स्पष्ट कानूनी आधार र प्रभावकारी अध्ययन विनै बुटवल लगायत नेपालका अस्पतालहरुले कोरोना संक्रमितको उपचारको लागि अझैं पनि ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ सिरफारिस गरिरहेका छन् ।
जनवरी लाग्दासमेत गम्भीर रुपमा बिरामी परेका परिवारका सदस्यहरु रक्त प्लाज्माको खोजीमा भौंतारिइरहेका छन् । सामाजिक सञ्जालहरुमा प्लाज्मा खोजी गर्दै याचना गरिएका सन्देशहरु घटेका छैनन् ।
कोभिड–१९ को सुरुवातीताका संसारभरका डाक्टरहरु प्रयोगात्मक उपचार पद्धति तथा पुननिर्मित औषधीहरुमा भर परे । त्यस्ता पद्धति र औषधी प्रभावकारी छन्/छैनन् भन्ने डाक्टरहरुलाई थाहा थिएन । संक्रमितको शरिरबाट भाइरस बाहिर निस्कन्छ कि भन्ने आसामा ‘साइड इफेक्ट’ नदेखाउँदासम्म डाक्टरहरुले यसोे गरेका थिए ।
अक्टोबर र नोभेम्बरसम्म आइपुग्दा भने त्यस्ता उपचार पद्धति तथा औषधीहरु निष्प्रभावी रहेको अध्ययनहरुले देखाउन थाले । प्लाज्मा थेरापी तीमध्येको एउटा उपचार विधि थियो ।
कोभिड–१९बाट निको भएका व्यक्तिबाट लिइएको रगतबाट रक्त कोषिकाहरु छुट्याएर प्लाज्मा निकाली संक्रमितको शरीरमा प्रत्यारोपण गर्ने प्रक्रिया प्लाज्मा थेरापी हो । प्रत्यारोपण गरिएको प्लाज्मामा रहेको एन्टिबडीले संक्रमित व्यक्तिमा संक्रमणसँग लड्छ भन्ने सिद्धान्तअनुसार डाक्टरहरुले कोभिड–१९ संक्रमितहरुलाई यस्तो उपचार विधि सिफारिस गर्छन् ।
यद्यपि, ती दुई ‘र्याण्डम’ नियन्त्रित परीक्षणअनुसार अस्पताल भर्ना भएका बिरामीहरुमा प्लाज्मा थेरापीले न त मृत्युदर कम गराएको छ, न सुधारको अवधि नै कम गरेको छ ।
भारतको टोलीले अप्रिल र जुलाईमा ३९ स्ठानमा रहेका विभिन्न अस्पतालमा भर्ना हुन आएका ४ सय ६४ जना कोरोना संक्रमित वयस्कहरुमाथि अध्ययन गरेको थियो ।
अध्यनको निष्कर्ष निस्कियो–प्लाज्मा थेरापीले गम्भीर बिरामीको प्रति मृत्युदर अथवा सुधारको अवधिको कमी गर्दैन । दोस्रो अध्ययन अर्जेन्टिनाका शोधकर्ताहरुले मे र अगस्टमा गरे ।
विभिन्न अस्पतालहरुमा भर्ना हुन आएका तीन सय ३३ जना गम्भीर कोभिड–१९ निमोनिया भएका बिरामीहरुमध्ये २ सय २८ लाई प्लाज्मा दिइएको थियो । अन्यलाई प्लेसबो (मनोवैज्ञानिक असर जाँच्न) दिइयो । अध्ययनको निष्कर्ष भारतसँग मिल्दो थियो । अर्थात्, प्लाज्मा थेरापीले मृत्युदर र निको हुने अवधिमा कुनै पनि महत्वपूर्ण प्रभाव पार्न सक्दैन ।
ह्याम्स अस्पताल काठमाडौंका संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्–‘संसारभर गरिएका विभिन्न अध्ययनहरुले कन्भलेसेन्ट प्लाज्मा थेरापीले संक्रमितमाथि क्लिनीकल फाइदा नपुर्याउने निष्कर्ष निकालेपछि मेरो अस्पतालमा हामीले यो उपचार विधि सिफारिस गर्न छाडेका छौं ।’
तर अन्य अस्पतालहरुले भने छाडेका छैनन् । आफ्ना साढु दाईलाई कोभिड–१९ निमोनिया भएपछि ललितपुरको एक अस्पतालमा भर्ना गर्न गएका सन्तोष श्रेष्ठलाई उपचारमा खटिएका डा. निरज हिराचनले प्लाज्मा लिएर आउन अराइहाले ।
सन्तोषले फेसबुकमा ‘तुरुन्त प्लाज्मा चाहियो’ भनेर लेखे, चिने जतिका लाई सम्पर्क गरे । प्लाज्मादाताहरु त आए तर आवश्यक मात्रामा एन्टिबडी भएका प्लाज्मा भेटिएनन् । १५ जना प्लाज्मा दाताहरुमा एन्टिबडी परिक्षण गर्दा बल्ल एकजनामा आवश्यक मात्रामा भेटियो ।
त्यतिञ्जेलसम्म रगत परिक्षणका लागि मात्रै उनको २१ हजार खर्च भइसकेको थियो । उनीबाट ग्राण्डी हस्पिटलले एक जनाको परिक्षण गरेवापत् ३ हजार र स्टार हस्पिटलले एक हजार रुपैयाँ असुल गरेका थिए ।
‘प्लाज्मा थेरापी भन्ने गाह्रो कुरा रहेछ । मान्छेहरु बल्ल बल्ल दुख गरेर ल्यायो तर एन्टिबडी नमिल्ने !’ सन्तोषले लुम्बिनी टाइम्ससँग फोनमा कुरा गर्दै भने–‘डाक्टरले भनेर ल्याएका हौं । उनीहरुले सञ्चो हुन्छ भनेका छन् ।’
टेकु अस्पतालको आइसीयूमा उपचाररत आफ्नो बाबाको उपचारका लागि डाक्टरहरुले प्लाज्मा लिएर आउन भनेपछि सभ्यता न्यौपानेले सामाजिक सञ्जालमा गुहारिन् । एक जना दाता भेटिए । ५ हजार २ सय रुपैयाँ खर्च गरेर ग्राण्डी हस्पिटलले ती दाताको प्लाज्मा तयार गर्यो । प्लाज्मा लगेर डाक्टरलाई दिएपछि उनी ‘अब त बुवालाई सञ्चो हुन्छ’ भनेर ढुक्क छिन् ।
तर, संक्रमितको उपचारमा प्रभावकारी नै नदेखिएको भन्ने अध्ययनहरु सार्वजनिक हुँदासमेत डाक्टरहरुले किन प्लाज्मा थेरापीको सिफरिस गरिरहेका छन् ? संक्रमण रोग विशेषज्ञ डा अनुपका अनुसार अन्य उपचार पद्धति नभएका कारण ज्यान बचाउने अन्तिम अस्त्रको रुपमा डाक्टरहरुले यसलाई प्रयोग गरेका हुनसक्छन् ।
‘प्लाज्मा थेरापी गरेर फाइदा त छैन न त कुनै हानी नै छ । परिवारले मान्छे मर्न लागिरा’छ, हामीले प्लाज्मा खोजिसक्यौं भन्यो भने अव डाक्टरले गर्दिन भन्न मिल्दैन,’–उनी भन्छन्–‘सायद अन्य अस्पतालहरुले परिवार कै अनुरोधमा गरिराख्नु भएको होला जस्तो लाग्छ । हाम्रो अस्पतालमा चाहीँ हामीले सिफारिस गर्ने गरेका छैनौं ।’
अस्पतालहरुले परिवारको आग्रहमा मात्रै नभई आफैंले पनि सिफारिस गर्ने गरेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना हुन आउने कोभिड–१९ का बिरामीहरु करिब सबैलाई प्लाज्मा थेरापीको सिफारिस गरिन्छ । अस्पतालका ईन्चार्ज डा. सुदर्शन थापाले नियमित रुपमा प्लाज्मा थेरापी गरिरहेको बताउँछन् ।
चिकित्सा अनुसन्धानको एक प्रमुख प्रकाशन ब्रिटिश मेडिकल जर्नलले आफ्नो एक सम्पादकीयमा प्लाज्मा चिकित्साको सम्भावित बेफाइदाको बारेमा बताएको छ। सम्पादकीयमा लेखिएको छ–‘रगत क्लट (छोक्रा) बन्नबाट रोक्ने एन्टीथ्रम्बीन अथवा प्रोटीन सी जस्ता तत्वहरु प्लाज्मामा उपस्थित भएपनि यसको शुद्धप्रभाव (नेट–इफेक्ट) छोक्रा जमाउने खालको छ ।’
अर्थात्, संक्रमितमा प्रत्यारोपित प्लाज्माले रगतमा छोक्रा जमाउन पनि सक्छ भलै रगतलाई पातलो राखिराख्ने घटकको उपस्थिति त्यस प्लाज्मामा किन नहोस् । त्यसैले कोभिड–१९ का बिरामीहरुका लागि यो अतिरिक्त जोखिम हुनसक्ने आँकलन जर्नलको छ ।
तर यस्ता अध्ययनलले नेपालमा प्लाज्माको मागलाई घटाएका छैनन् । नेपालको सन्दर्भमा कन्भलेसेन्ट प्लाज्मा थेरापीको प्रभावकारीता जाँच्न नेपाल स्वाथ्य अनुसन्धान परिषद्ले एउटा अध्ययन गरेको थियो । तर, प्रतिवेदन प्रकाशित गरिसकेको छैन । जसले वैज्ञानिक आधारमा स्पष्ट सरकारी मार्गदर्शन निकाल्न सहज हुनसक्थ्यो ।
अन्तर्राष्ट्रिय अध्ययनहरुलाई स्विकार गर्न हिचकिचाएका डाक्टरहरुले बलियो मार्गदर्शनको अभावमा कोरोना संक्रमणको उपचार भनेकै प्लाज्मा थेरापी हो भन्ने ‘अवैज्ञानिक’ भ्रम पालिरहेका हुन् की भन्ने देखिन्छ ।
अन्य उपचार विधिको विकल्प छैन भनेर डाक्टरहरुले अनिश्चित प्रभावकारिता भएका उपचार पद्धतिलाई प्रयोग गरिरहनुले संक्रमित र तीनका आफन्तले प्लाज्मा जुटाउन निकै सास्ती बेहोर्नु परिरहेको छ ।
‘नियन्त्रिक परिक्षणद्वारा आएका निष्कर्षको आधारमा गरिने उपचार व्यक्तिगत चिकित्सकको अनुभवको तुलनामा भरोसायोग्य हुन्छ’–डा अनुप भन्छन्–‘प्लाज्मा थेरापी भन्दै प्लाज्मा संकलनका लागि दुख नदिएकै राम्रो हुन्छ ।’
अध्ययनहरुले प्लाज्मा थेरापीको प्रभावकारिता अथवा यसको सुरक्षामा आशंकाहरु रहेको धेरै प्रमाणहरु देखाएपनि डाक्टरहरुले संक्रमितका परिवारहरुलाई प्लाज्मा पाउन भइरहेको मुस्किलसँग जुझ्नु पर्ने आवश्यकता खडा गरिदिएका छन् । कोरोनासँग लडिरहेको भनिएको प्रदेश सरकार त परै जाओस् केन्द्र सरकारलाई समेत यसको हेक्का नभएजस्तो देखिन्छ ।
कपिलवस्तुकी एलएन चौधरीकी हजुरआमाको मृत्यु भदौ १७ गते बुटवलको कोरोना अस्पतालमा भएको हो । उनलाई अझैं पनि लाग्छ डाक्टरहरुले अलिक छिटो नै प्लाज्माको जोहो गर्न भनेको भए हजुरआमाको मृत्यु हुँदैंनथ्यो होला । तर, कन्भलेसेन्ट प्लाज्मा थेरापीले कोरोना निको पार्छ र !