बुटवल । सर्बोच्चको निर्णयले राजमार्ग चौराह–गोलपार्क सडक विस्तारको बाटो खुलेसँगै प्रमुख जिल्ला अधिकारी तथा सडक विभागले उक्त बाटोको निरीक्षण गरेका छन् ।
उच्च अदालत तुलसीपूरको बुटवल इजलासले यस अघि दिएको ‘कानुन बमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई गत असार ९ गते सर्बोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने काम रोकिएको थियो । तर, सडक किनारमा घर तथा जग्गा भएका २४ जना व्यक्तिहरुले सर्बोच्चमा दिएको रिट निवेदनमाथि न्यायधिसद्वय सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले ‘जग्गाहरुमा निवेदकहरुले हाल साविक गराई नयाँ जग्गा धनी प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिंदा मिति २०७७÷३÷९ गतेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भन्ने ठहर गरेसँगै बाटो घर भत्काउने बाटो खुलेको हो ।
सडक निर्माण गरिरहेको सडक विभाग अन्तर्गतको व्यापारिक मार्ग विस्तार बेलहिया–बुटवल सडक आयोजनाका प्रमुखलगायत प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका अधिकारीहरुले घर तथा टहरा भत्काउन आज निरीक्षण गरेको आयोजना प्रमुखसमेत रहेका सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।
भत्काउनु पर्ने ३ सय घरटहराहरु मध्ये करिब ५० प्रतिशतले भत्काइसकेको निरीक्षणका क्रममा देखिएको उनले जानकारी दिए ।
‘राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म सिडियो, एसपी, एसएसपी तथा मेयरहरु मिलेर आज निरीक्षण गरेका छौं ।’ उनले भने–‘५० प्रतिशत घरहरु भत्काइसक्नु भएको रहेछ, केहीले भोलीदेखि भत्काउन सुरु गर्ने भन्नुभएको छ ।’
अदालतको साथ पाएपछि आयोजनाले घर भत्काउन अटेर गर्नेहरुको घरमा डोजर चलाउने तयारी गरिरहेको छ । आयोजना प्रमुख मरासिनीले भने–‘घर भत्काउन त्यस्तो व्यवधान आउँछ जस्तो लाग्दैन, त्यैपनि अटेर गर्नेहरुको घर ‘मेसिन’ लगाएर भत्काउँछौं ।’ उनले ‘माथि’को आदेश आउनासाथ ‘मेसिन’ चलाउने बताए ।
स्वयम् घरधनिहरुले भत्काउन लागेका घर टहराहरु बाहेकका ठाउँमा आयोजनाले डोजर चलाउने उनले बताए ।
राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा विरुवा जेभीले निर्माणको जिम्मा पाएको भए पनि जग्गा विवादले काम रोकिएको थियो । गत जेठमा नै समयावधी सकिएको योजनाका लागि सोही कम्पनीले काम गर्ने गरी म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यालयले जनाएको छ ।
रुपन्देहीको सुनौली नाकादेखि बुटवलको चिडियाखोलासम्मको सडक विस्तारको काम हेर्दै आएको कार्यालयको जानकारी अनुसार सुनौलीतर्फ ७५० मिटर र भैरहवामा पनि २८ सय मिटर काम बाँकी रहेको छ । कूल २७ दशमलव ५ किलोमिटरको सडक विस्तार हुनु पर्नेमा हालसम्म २० दशमलव ४५ किलोमिटर सडकमा मात्रै विस्तारको काम सकिएको छ ।