२०३६ सालको जनमत संग्रह भन्दा केही अघि बिपी कोइराला बुटवल आउनुभएको थियो । त्यसबेला बुटवलमा पत्रकारहरुसँग भेटघाटको कार्यक्रम पनि तय भयो । विहान ९ बजे सुर्यप्रसाद प्रधान कहाँ विपीसँग भेट्न कार्यक्रम थियो । त्यस अघि ७–८ बजेतिर हामी पत्रकारहरु एक ठाउँमा जम्मा भयौं । बुटवलबाट प्रकासित हुने एक्सरे साप्ताहिकका सम्पादक बसन्तध्वज जोशी, काठमाण्डौबाट निस्कने जागृती साप्ताहीका सम्बाददाता डिल्लीप्रसाद आचार्य, रासस अञ्चल कार्यालयका अधिकृत नारायण कार्की (हाल पोखराबाट बीबीसीमा कार्यरत) र म सहित चार जना थियौं ।
हामीले विपीसँग कुरा गर्न प्रश्न बनाउन खोज्यौं । के बनाउने कसो गर्ने अलमल भइरहयो । एकले अर्कोलाई अनि अर्कोले अर्कालाइ प्रश्न बनाउन भनिरहयौं । नारायणजीलाई भन्दा ‘विपीको अगाडी मेरो त हिम्मत नै हुँदैन म पहिलो चोटि हो यस अघि म यस्तोमा परेकै छैन ।’ भन्नुभयो । बसन्तजीले त्यही भन्ने । डिल्ली प्रसाद आचार्यले ‘उसले उसले भनेर हुँदैन । अर्जुन तिमि साहित्य तिरको मान्छे विपीसँग कुरा सुरु गर ।’ भन्नुभयो ।
‘सुरु त म गर्छु तर तपाईहरुले अगाडी बढाउनुपर्छ ’ भन्ने सहमती भएर हिडीयो । प्रश्न चाँही बन्न सकेन । विपीलाई भेट्न नजान पनि भएन समय दिइसकेका छौं, इज्जतको सवाल छ । भेट हुन १५ मिनेट जति बाँकी थियो । मैले सोंचे ‘केही त गर्नै पर्यो ।’ सरस्वतीले साथ दिए कि के हो ? बाटोमा जाँदा जाँदै मलाई एक–दुइ वटा प्रश्न मनमा आयो । सुर्यप्रसाद प्रधान कहाँ पुगेर विपीको अगाडी बसियो । चट्ट बाँयाकाटें दौरा लगाउनुभएको, फ्रेन्चकट दाह्री छ, अग्लो मान्छे । हामीलाई वीपीको अगाडी बोल्नु मात्र होइन प्रश्न गर्नु छ । ‘प्रश्न नै तिम्रो ठीक छैन’ भनेर विपीले भन्ने हुन् की भनेर मलाई डर छ । बडा दहकस भयो । त्यसपछि मैले हिम्मतका साथ पहिलो प्रश्न उहाँलाई गर्न खोजें । त्यतीखेर नेपाली कांग्रेस पञ्चायतमा प्रवेश गर्ने भन्ने खालका हल्ला पनि चलेको थियो । तर गरेका थिएनन् । ‘पञ्चायतले एउटा चुनाव चिन्ह दिन्छ भने बर्गिय संगठनको सदस्यता लिनुपर्दथ्यो । बर्गिय सदस्यता लिएर भएपनि चुनावमा जान............... ।’ भनेर करिब–करिब भन्न थालिसकेको थिएँ रोकिएँ । त्यसपछि अर्कै तरिकाले सोधेंं “विपीबाबु नेपाली कांग्रेस जस्तो पार्टी चुनावमा जाने कुरा के फरक पर्दथ्यो । तपाईहरुको यस्तो चर्चा आएको थियो । आखिरमा चुनावमा किन जानुभएन ।” भनेर मैले विपीलाई सोंधें ।
प्रशन्न भएर उहाँले भन्नुभयो “हेर्नुस अहिले तपाइँहरु जुन घरमा आउनुभएको छ । घरको ढोकामा अनुमती विना प्रवेश निषेध लेखेको छ भने तपाई सज्जन हुनुहुन्छ भने अनुमती नलिइकन आउनुहुन्न । दुर्जन हुनुहुन्छ भने मात्र आउनुहुन्थ्यो । हामी सज्जन थियौं । अनि प्रजातान्त्रीक अभ्यासमा चोरबाटो किन जाने ? हाम्रो मुलबाटो नै छदैछ । त्यसैले हामीले भाग लिएनौं ।” भनेर भन्नुभयो । प्रश्नको उत्तर पाइसकेपछि विपीसँग प्रस्तुत हुने मेरो भय छर्लंग हट्यो । अब ढुक्कसँग कुरा गर्न सक्ने भएँ । त्यसपछि दोस्रो प्रश्न पनि मलाई याद छ ।
विपीले त्यसबेला कम्युनिष्टहरुलाई असाध्यै गाली गर्ने । त्यही मेसोमा मैले प्रश्न गरें “मुलुकमा जनमत संग्रह भइरहेको छ । कम्युनिष्ट र कांग्रेसहरु एक हौं, जनमत संग्रहमा जाउँ बहुदलीय शासन व्यवस्थाले जित्छ भनेर कम्युनिष्टहरुले भनिरहेका छन् । आम जनताहरुको त्यही भावना छ । तपाई चाँही कम्युनिष्टसँग एकता गर्दिन भन्नुभएको छ । यसो किन गर्नुपरेको छ र” भनेर मैले विपीलाई सोधें । उहाँले पनि त्यसको जवाफ यती मज्जाले दिनुभयो ।
“हेर्नुस मैले कम्युनिष्टसँग एकता गर्दिन भनेको होइन बहुदलबादी जोसुकैसँग गर्छु । तर १७ वटा पार्टी छ कम्युनिष्टका कोसँग एकता गर्ने ? एउटासँग गरे अर्को रिसाउँछ । त्यसैले मैले मनमोहनजीलाई भनेको छु । एउटा बाममोर्चा बनाउनुहोस । अनि त्यससँग संयुक्त मोर्चा बनाम र जनमत संग्रहमा जाम । उहाँ लाग्नुभएको छ र बाममोर्चा बन्दै छ । बाममोर्चा मार्फत कम्युनिष्टहरुसँग एकता हुन्छ र एक भएर हामी बहुदलमा जान्छौ । चिन्ता नगर्नुहोस ।” भनेर उहाँले भन्नुभयो ।
त्यो भेटघाटलाई अहिले पनि म पत्रकारीताको अर्थमा गाइडलाइनका रुपमा सम्झन्छु । र मेरो जिवनमा बेग्लै खालको एउटा स्मरणीय घट्ना पनि हो । मैले पढ्दाखेरीको विपी र भेटहुँदाको विपीमा अन्तर पाइन । एउटा सौम्य मूर्ति जस्तो लाग्यो । अहिले सम्झदाँ त मलाई विपी एउटा दुर्लभ नेता जस्तो लाग्छ । यद्यपी म पुष्पलालको स्कुलीङको मान्छे हो । विपीलाई उतीखेर राम्ररी चिन्न सकिएको रहेनछ । विपीका साहित्य र उहाँका डायरीहरु पढे पछि अझ बढी प्रभावित हुँदै गइयो । झन पछि झन विपी महान रहेछन् भन्ने बुझ्दै गएँ । (कुराकानीमा आधारीत)