बुटवल–प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको अवस्थामा पुगेको छ। अहिले केपी ओली पक्ष र प्रचण्ड–माधव पक्षको रुपमा अलग अलग समूह क्रियाशिल छन्।
तर निर्वाचन आयोगबाट अलग पार्टीको मान्यता पाइसकेका भने छैनन्। दिनहु जसो हुने कार्यकर्ता भेला तथा कार्यक्रममा एकले अर्को पक्ष माथि आक्रोश व्यक्त गरिरहेका छन्।
प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्री माथि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। प्रदेश २ मा पनि प्रदेशसभाका संसदीय दलका नेतालाई हटाएको प्रचण्ड माधव पक्षले दाबी गरेको छ।
प्रदेशहरुमा एक पक्षले अर्को पक्षलाई कारवाही गरेका समाचार पनि सार्वजनिक भएका छन्। केही प्रदेशमा अर्को पक्षको मुख्यमन्त्रीसँग नबस्ने भनेर मन्त्रीहरुले राजीनामा पनि दिइसकेका छन्।
तर लुम्बिनी प्रदेश सरकारमा भने नेकपाका दुवै पक्ष एकै ठाउँमा यथावत छन्। कार्यकर्तास्तरमा चर्को आक्रोश देखिएपनि नेकपाका नेताहरु लाभको पदबाट अलग भइसकेका छैनन्।
मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओली पक्षका हुन्। दुई मन्त्री बाहेक अरु मन्त्रीहरु अहिले ओली पक्षमै रहेको देखिन्छ। केही दिन अघि सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सरकारका सबै मन्त्री एउटै पक्षमा रहेको दाबी गरेका थिए।
तर आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल भने प्रचण्ड माधव समूहको केन्द्रीय बैठकदेखि कार्यकर्ता भेलामा गइरहेका छन्।
जुन पक्षको नेतृत्वको सरकार छ बाहिर सोही पक्ष विरुद्धको भेलामा सहभागी भइरहेको भनेर ओली पक्षबाट उनीहरुको आलोचना समेत हुने गरेको छ।
मन्त्री बराल भन्छन्ः मुख्यमन्त्रीको आग्रहमा मात्र सरकारमा बसेका हौं
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पार्टीमा अलग–अलग समूह क्रियाशिल भएपनि दल एउटै भएकाले यहाँ पनि सँगै सरकारमा रहेको बताए।
‘पार्टी विभाजनको असर हुने भइहाल्यो, हाम्रो दल टुंगिएको छैन त्यसैले एकैठाउँमा छौं भन्नुप¥यो।’–मन्त्री केसीले यत्ति मात्र भनेर धेरै कुरा गर्न चाहेनन्।
तर अर्का नेकपा नेता तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल भने लुम्बिनी टाइम्ससँग केही खुलेरै प्रस्तुत भए। उनले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको विषयमा आफूले सार्वजनिक रुपमै बोलेको र प्रचण्ड–माधव समूहमा खुलेरै लागेको जानकारी दिए।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक र जनइच्छा विपरित हो भनेका छौं। त्यसो भन्दा मुख्यमन्त्रीले ठीक हो, राम्रो हो भन्नुभएको छ’–उनले भने–‘हाम्रो अभिव्यक्तिले मुख्यमन्त्रीलाई अफ्ठ्यारो पर्छ भने जुनसुकै बेला राजीनामा दिन तयार छौं।’
बरालले आफूहरुले मन्त्रीबाट राजीनामा दिन खोजे पनि मुख्यमन्त्रीले सरकार नछोड्न आग्रह गरेकाले सरकारमै बसेको बताए। ‘राजीनामा त अस्ती नै दिने भनेको हो, मुख्यमन्त्रीले दल विभाजन नहुन्जेल राजीनामा नदिनुहोस्, हटाउँदा पनि हटाउन्न मिलेर काम गरौं भन्नुभयो’–उनले भने–‘राजनीतिक विषयमा आफ्नो अडान भइहाल्यो। सरकारको कामलाई असर पारेका छैनौं।’
प्रचण्ड–माधव समूहले दल विभाजनको प्रक्रिया अगाडि बढाउनु भन्यो भने तुरुन्तै राजीनामा दिने सामाजिक विकास मन्त्री बरालले बताए।
प्रचण्ड–माधव समूहमा रहेका भनिएका पूर्व एमालेका अधिकांश प्रदेश सभा सदस्य अहिले नेकपाको ओली समुहमा आएका छन्।
दल विभाजन भइहालेमा पनि मुख्यमन्त्रीलाई अन्य प्रदशको तुलनामा जोखिम कम छ। तर, उनी अहिलेको अवस्थामा सुरक्षित भने छैनन्। बहुमत पुर्याउनको लागि मुख्यमन्त्रीलाई थोरै सांसद मात्र अपुग हुने ओली पक्षका नेताहरुले बताएका छन्।