२०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका धेरै नेता कार्यकर्ता जेल परे । जेलबाट छुटेपछि पनि पञ्चायती सरकारले उनीहरुलाई निगरानी गरिरहन्थ्यो । जसका कारण सुरक्षित हुन नेता कार्याकर्ताहरु तराइ झरे । ०१७ सालको कु लगत्तै जेल र यातना भोगेका डिल्लीरमण शर्मा २०२० सालमा स्याङ्जाबाट रुपन्देही आए । ‘जेलबाट छुटेपछि मेरो त्यहाँ बस्ने परिस्थिति भएन अनि यहाँ आएँ । जेलबाट छुटेर आएका अरु धेरै जना यहाँ रहेछन् । जग्गा किनेर बसेका थिए’–डिल्लीरमणले भने ।
०१७ सालको कु लगत्तै ३ वर्ष नेपालगञ्जमा जेल परेर छुटेपछि बलदेव शर्मा पोखरेललाई प्युठानमा पञ्चायतले निगरानी गर्ने र दुख दिने गर्न थाल्यो । त्यसपछि बलदेव पनि रुपन्देही झरे । यसरी नै आउने कांग्रेसीहरु अरु पनि थिए । २०२० साल अघि रुपन्देहीमा कांग्रेसको गतिविधि शुन्य थियो । डिल्लीरमण शर्माले रुपन्देहीमा नेपाली कांग्रेसको संगठन गर्न अग्रसर भए । केही कार्यकर्तालाई मिलाएर आफ्नै सभापतित्वमा नेपाली कांग्रेस रुपन्देही गठन गरे । केही समय पछि डिल्लीरमणको भेट बलदेव शर्मासँग भयो । डिल्लीरमण सभापति भएको नेपाली कांग्रेस रुपन्देहीमा बलदेव सचिव भए ।
आठ वर्ष जेल बसेर छुटेपछि वीपी कोइराला २०२५ सालमा भारत प्रवास गए । डिल्लीरमण शर्मा पनि बेला–बेलामा वीपीलाई भेट्न भारतको बनारस जाने गर्दथे । भारत जाँदा डिल्लीरमणसँग प्राय बलदेव सँगसगै हुन्थे । ‘बनारस मात्र होइन कलकत्ता पनि बलदेव र म सँगै जान्थ्यो’–डिल्लीरमणले सम्झे–‘हाम्रो धेरै लामो सहयात्रा थियो । २५–३० पटक जति हामी दुवै जना सँगै जाने आउन ग¥यौं ।’
नेता बलदेव शर्माको निधन भएपछि खैरियास्थित बलदेव निवासमा डिल्लीरमण शर्मा र बाबुराम राना पुगेका थिए । बाबुराम रानाले डिल्लीरमणतिर फर्केर भने–‘अब रातीमा घुम्ने मध्ये तपाइँ र म मात्र बाँकी रहयौं नि होइन ?’
डिल्लीरमणले पनि यसो सम्झे–‘अँ त, दुईजना बाहेक कोही बाँकी छैन ।’ डिल्लीरमण र बाबुरामले सम्झेको अवस्था २०२५ साल आसपासको हो । पञ्चायतकाल जनमत संग्रह भन्दा पनि निकै अघि त्योे अवस्थामा राजनीतिक गतिविधि गर्न निकै कठीन थियो । ‘दिउसोमा प्रशासनले थाहा पाउँछ भनेर हामीले रातीमा हिडेर राजनीतिक गतिविधि गथ्र्यौं । कार्यकर्ता भेट्थ्यौं’–डिल्लीरमण सम्झिन्छन्–‘बलदेव शर्मा, म, बाबुराम राना, यादवनाथ आलोक (जो सुरजपुरा घटनामा सहिद भएका थिए), धनिराम पण्डित लगायत थियौं, अरुको नाम सम्झन सकिन ।’
रुपन्देहीमा मुक्तिसेनाहरु पनि थिए । पार्टीको सभापतिको हैसियतले ९० जना भन्दा बढी मुक्तिसेनाको कमाण्ड पनि डिल्लीरमणले नै गर्थे । सुरुमा त ती मुक्तिसेनाहरुको जमघट डिल्लीरमणकै घरमा थियो । ‘मेरो घरमा भेटघाट गर्न अफ्ठयारो भयो । प्रहरी प्रशासनको निगरानी बढ्यो’–उनले भने–‘तपार्इँले आश्रय दिन प¥यो भनेर बलदेवजीलाई भने । उहाँले हुन्छ बुबालाई भन्नुहोस्, भन्नुभयो ।’
डिल्लीरमणले बलदेबका बुबासँग कुरा गरे । बलदेवका बुबा पनि मन्जुर भए । ‘मुक्तिसेनाहरु हात हतियार लिएर आउँथे । बलदेवकहाँ भेला भइन्थ्यो’–डिल्लीरमणले भने–‘६–७ महिना बलदेवकोमा सेल्टर भयो । त्यहाँ पनि संकट आइलागेपछि ढेकारमा पुष्पानन्द गिरीको घरमा बसियो ।’ ०३६ सालको जनमत संग्रहसम्म डिल्लीरमणले मुक्तिसेनाको कमाण्ड गरेका थिए । त्यसपछि भने मुक्तिसेनाको संरचना थिएन ।
बलदेव शर्माको पितासँग पनि डिल्लीरमणको राम्रो सम्बन्ध थियो एकपटक मण्डलेहरु डिल्लीरमणको घरमा आएर लुटपाट गरे । भैसी समेत फुकाएर लगे । बलदेव शर्माको पिताले एउटा गाई दिएछन् । ‘मेरो एउटा गाई छ लैजानुहोस् भन्नुभयो । एक बेतको दुध खाँएर फेरि उहाँलाई फिर्ता दिएँ’–गभ्मीर मुद्रामा डिल्लीरमणले भने–‘गाई दिन ठूलो कुरो होइन । तर त्यस्तो अवस्थामा बलदेबको बुवाले म प्रति ठूलो श्रद्धा जनाउनुभयो ।’
पञ्चायतको त्यो अवस्थामा डिल्लीरमण, बलदेवलगायतको राजनीतिक जीवन त्यो बेला निकै संघर्षपूर्ण थियो । जसका कारण २०३६ सालको जनमत संग्रहमा देशभर बहुदलले हार्दा रुपन्देहीमा भने जितेको थियो । पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनापछि भने डिल्लीरमण र बलदेवको राजनीतिक चर्चा कम हुन थाल्यो । दुवैजनाले पदको लोभ गरेनन् । २०७४ सालमा आएर मात्र बलदेव शर्मा पोखरेल प्रदेश सभा सदस्य चुनिए । कांग्रेसको संसदीय दलको नेता पनि बने । यस बीचमा डिल्लीरमण र बलदेवको फाट्टफुट्ट भेट भयो । पछिल्लो पटक अस्पतालमा भर्ना भएका बेला बलदेवलाई भेट्न डिल्लीरमण क्रिमसन अस्पतालमा पुगे । ‘गम्भीर अवस्थामा उहाँको स्वास्थ्यलाई बाधा पर्ला भनेर मैले धेरै बोल्न उचित ठानिन’–उनले भने–‘एकछिन बसेर ‘बलदेवजी फेरि बसेर कुरा गरौंला’ भनेर त्यहाँबाट निस्कें ।’ यो नै डिल्लीरमण शर्माको बलदेव शर्मासँग अन्तिम भेट थियो ।