काठमाडाैँ- संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई कम विकसित मुलुकबाट विकासशील मुुलुकमा स्तरोन्नति हुन सिफारिश गरेको छ। संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ।
स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ। राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले तोकेका तीन वटा मापदण्डमध्ये नेपालले दुई वटा पूरा गरेकाले विकाशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिएको हो।
अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।जसअनुसार तोकिएका मापदण्ड पूरा गरेको खण्डमा नेपाल ५ वर्षमा विकासशील राष्ट्र बन्नेछ। नेपालले प्रतिव्यक्ति आय बाहेक मानव विकास सूचकांक र आर्थिक तथा वातावरण जोखिम सूचकांकको मापदण्ड पूरा गरिसकेको छ।
सामान्यतया तीन–तीन वर्षमा गरिँदै आएको मूल्यांकन नेपाल सरकारको आग्रहमा पाँच वर्ष बनाइएको हो। कोभिड–१९ महामारी तथा नेपाल सरकारको आग्रमा यो तयारी अवधिलाई पाँच वर्ष बनाइएको समितिले जनाएको छ। पछिल्लो सिफारिसले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। समितिले नेपालसँगै लाओस र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति हुन सिफारिश गरेको छ।