गुल्मी-गुल्मीको रेसुंगामा रहस्यमय तरिकाले भएको बुहारीको हत्या र सासुको आत्महत्याको एउटा पाटोको रहस्य खुलेको छ। रेसुंगा नगरपालिका ३ की २१ बर्षीया सम्झना बोहोराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ बर्षीय लाल बहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ।
बोहोराका हत्यारालाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्ने र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई दुर्व्यवहार गर्ने व्यक्ति उनै खत्री हुन्। उनले बोहोराको हत्या गरेको स्वीकार गरेका छन्।
फागुन ६ गते बेपत्ता भएकी सम्झनाको अवस्था पत्ता लगाउनु पर्ने र सासुलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी शर्मासँग आक्रोश पोख्दै खत्रीले दुर्व्यवहार गरेका थिए।
फागुन १७ गते घर नजिकै सम्झनाको शव विभत्स अवस्थामा फेला परेको थियो। सम्झनाको शवको बारेमा प्रहरीलाई खत्रीले नै खबर गरेका थिए।
सोही दिन प्रहरीले लाल बहादुरलाई नियन्त्रणमा लिएको थियो। खत्रीले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेपछि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए।
अहिले हत्या गरेको मात्रै स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको पाण्डेयले बताए। गत माघ २९ गतेबाट सम्झना बोहरा बेपत्ता थिइन्। फागुन २ गते सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिकै झुण्डिएको अवस्थामा फेला परिन्।
सम्झना बोहोराको शव गुल्मी अस्पतामै थियो। हत्यामा संलग्नलाई सार्वजनिक नगरेसम्म परिवारले शव नउठाउने अडान राखेका थिए। हत्यामा संलग्न सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीसँग पीडित पक्षले छलफल गरेर शव बुझ्ने सहमति भएको छ।
रुद्रादेवीले हत्यामा संलग्नलाई कारबाही हुने र आत्महत्याबारे पनि अनुसन्धान हुने प्रतिबद्धता जनाएकी छिन्। घटनाको एउटा पाटो खुलेपनि सासुको आत्महत्याको कारण र त्यसपछाडिको रहस्य खुलेको छैन।