दसै अर्थात विजया दशमी नजिकिँदै छ । विजया दसैको वरपर पारेर घुमफिरमा निस्कने धेरै नेपालीहरुको सस्कार बसेको छ । नेपालीहरुमा बढदै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ ।
नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । धेरैको रोजाइका गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, इलाम, भेडेटार, लुम्बिनी, शुक्लाफाँटा, खप्तड आदि स्थलहरु पर्दछन् । तपाई दसैमा कहाँ जान रुचाउनु हुन्छ ? घुमफिरको लागि उद्देश्य सहितको गन्तब्य भयो भने धेरै कुरा अध्ययन गर्न सकिन्छ । तपाईंसँग घुमफिरको लागि लामो समय छ र आर्थिक जोहो गर्न सक्नुहुन्छ भने गण्डकी प्रदेश भित्रका धार्मिक, ऐतिहासिक र प्राकृतिक रमणिय स्थलहरुमा घुमफिर गर्न सक्नुहुन्छ ।
मुक्तिनाथ
प्रकृति प्रेमीहरुका लागि मुस्ताङको जोमसोम र त्यस वरिपरिको क्षेत्र विश्वमा नै प्रसिद्ध छ, भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ । केहि वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीहरुको रोजाइमा पनि पर्न थालेको छ । यसको प्रमुख कारण पोखराबाट जोमसोम–मुक्तिनाथका लागि यातायात उपलब्ध हुनु हो । एकल यात्राका लागि जोमसोम–मुक्तिनाथ केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरुले दसै बिदाको लागि जारी गरेको प्याकेज निकै सस्तो पर्दछ ।
मुक्तिनाथ पुगेपछि लोमान्थाङ पुग्नसके घुमघामले सार्थकता अझ पाउछ । लोमान्थाङमा विशेष गरी विदेशीहरु घुम्न पुग्ने गर्छन । तर नेपालीहरु पनि मुक्तिनाथको दर्शन गरेपछि लोमान्थाङ पुग्दछन् । मुस्ताड तल्लो र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ । माथिल्लो मुस्ताङमा सडकको पहुच पुगेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । मुक्तिनाथ देखि लोमान्थाङ जानलाई पैदल यात्रामा तीन दिनमा र जोमसोमदेखि जिपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ । खान र बासका लागि केही मंहगो भए पनि सुविधा सम्पन्न होटलहरु भेटन सकिन्छ ।
पोखरा
पोखरा तालै तालको उपत्यका हो । चाडबाड र फुर्सदमा परिवार तथा साथीहरुसँग घुम्नका लागि धेरैको रोजाइ पोखरा नै हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिनहरु वितेको पत्तै हुदैन । प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, आथित्य सत्कार यहाँको पहिचान हो । पोखराको नाइट लाइफ उस्तै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को डान्स, गजल– दोहोरीले पनि पर्यटकलाई भुलाउने गर्छ । तालहरुमा रमाउन मात्र नभइ साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटले बसाइ लम्ब्याउन सकिन्छ । बासका लागि लेकसाइट, बसपार्क आसपास सस्तो सुविधा सम्पन्न होटलहरु छन । थकाली खाना पोखराको आकर्षण हो भने विहानीको समयमा विन्ध्यबासिनी र तालबाराहीको दर्शनले मन शुद्धी गराउछ । हिमाली दृश्यको प्रतिच्छाँयामा लमतन्न सुतेको फेवाताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट जस्ता थुप्रै स्थलहरुले जो कोहीको मन सजिलै लोभ्याउछ । धौलागिरी, अन्ननपूर्ण र मनास्लु श्रृंखला लगायत ८ हजार मिटर भन्दा अग्ला हिमालहरु यहाँवाट देख्न सकिन्छ । फेवाताल पोखराको मुख्य आकर्षण हो । फेवातालमा माछापुच्छ«े हिमालको प्रतिविम्व देखिन्छ ।
सिरुवारी
पोखरा घुमघाम गरेपछि पुग्नै पर्ने अर्को स्थान हो सिरुवारी । स्याङजाको पञ्चमुलमा पर्ने सिरुबारी ’होमस्टे’ का रुपमा प्रख्यात छ । गुरुङ जातीहरुको संस्कृती भएको गाउँले परिवेशको सिरुबारीमा आन्तरिक पर्यटकहरुबो भिड लागि रहन्छ । सिरुबार पुग्ने पर्यटकहरुलाई बुढापाकाले छोरा–नाती जस्तै माया र सत्कार गर्छन । सिरुबारमा पाहुना सत्कार गर्ने राम्रो शैली छ । हिँडेर आउनेलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा उनीहरु स्वागत गर्छन । पञ्चै बाजा बजाउँदै गुरुङ पहिरनमा सजिएका महिला र पुरुषले फूलमाला लगाइदिन्छन । पाहुनालाई सुरुमा गाउँको गुम्बा पु¥याउँछन । त्यसपछि खान खुवाउने र नाचगानमा रमाउन पाइन्छ । सिरुबारी पोखराबाट ६४ किलोटिर बसको यात्रामा पुग्न सकिन्छ ।
मनाङ
तपाई युवा उमेरको हुनुहुन्छ र साथीभाइसँग दसैको बिदामा रमाइलो घुमघाम गर्ने योजनामा हुनुहुन्छ भने, मनाङ जानुहोस । गण्डकी प्रदेशमाको मनाङ एकचोटि टेक्नैपर्ने स्थान हो । यहाँ भौगोलिक, जातीय र सांस्कृतिक विविधता छ । विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणले अन्नपूर्ण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नै पर्ने विश्वका उत्कृष्ट १० गन्तव्यका रुपमा राखेको छ । पर्यटकीय दृष्टिले पिसाङ, भ्राखा, खाडसागर, टंकिमनाङ, नार र फू, थोन्चे, तिलिचो ताल महत्वपूर्ण मानिन्छ । अन्नपूर्ण पदयात्रा मार्गको बाटोवाटोमा रहेका घरमा होमस्टेको सुविधा छ ।
घलेगाउँ
गुरुङ जातिको आदिम थलो क्व्होलासोँथर हो । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमश्रृखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि ढुङगा बिछायका गाउँका बाटाहरु । बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । यो हो लमजुङ जिल्लाको घलेगाउँको परिचय हो । सार्क राष्ट्रकै नमुना गाउँको उपाधि पाएको यो पर्यटकीय गाउँ त्यस्तो गन्तव्य बनेको छ, जहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन । घले गाउँ लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा पर्दछ । क्व्होलासोथारको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो ।
पर्यटकहरुलाई घलेगाउँमा पुग्दा हिमालको मनोरम दृष्यले लोभ्याउछ । पर्यटक आँखा अगाडिको हिमालको दृष्यमा फोटो खिच्न मन पराउँछन् । मनोरम दृष्यका फोटो र भिडियोहरु मोबाइल र क्यामारामा कैद गर्नका लागि पर्यटक घलेगाउँ जाने गर्दछन् । त्यसमा पनि संस्कार, संस्कृति र स्थानीय उत्पादन पर्यटकको रोजाइ बनेको छ । घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । घलेगाउँबाट टाढासम्म दृष्यावलोकन र सूर्योदयको अवलोकन गर्न सकिन्छ । आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ । गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ । घलेगाउँमा गुरुङ र घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत अवलोकन गर्न पाइन्छ ।
बन्दीपुर
बन्दीपुर तनहुँ जिल्लामा पर्दछ । बन्दीपुर राणा शासनको समयमा पश्चिम ३ नं.को गौडा थियो । पन्चायती ब्यवस्थामा २०२५ सालसम्म तनहू जिल्लाको सदरमुकाम भयो । २०६९ मा नगरपालिका थपिंदा बन्दीपुर नगरपालिका भयो । अहिले नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दीपुर नगरपालिका बन्दीपुर गाउँपालिका भएको छ । बन्दीपुर कुनैबेला मुख्य व्यापारीक नाकाको रुपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाको ब्यापारी केन्द्र र चितवनबाट सामान ल्याउने र पठाउने बजारको रुपमा विकास भएको थियो । तनहुँ जिल्लाको सदरमुकाम विसं २०२५ सालमा दमौली सारिए पछि बन्दीपुर पर्यटनको गन्तब्य बन्यो ।
बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । नेवार जातीको रहनसहन, सस्कृति र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो । बजारबाट दश मिनेटको दुरीमा रहेको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहू, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन् । बन्दीपुरबाट जुगल हिमाल देखिन्छ । त्यसैगरी लाङटाङ, गणेश हिमाल, मनास्लु, हिमचुली तथा बौद्धसहित, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल देखिन्छ । हिमाल र मस्र्याङदी नदीले बनाएका उपत्यका हेर्दा बन्दीपुर पुग्ने जो कोहि पनि आनन्द महसुस गर्दछ । सुविधासम्पन्न रिसोर्ट मात्र होइन पुराना नेवारी घरहरुलाई पनि मध्यमस्तरको होटल र होमस्टेका रुपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरुमा खाना र बिहानको खाजा खाने गरी स–शुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ ।
बारपाक
गोरखाको वारपाक केन्द्र बिन्दु बनाएर विनाशकारी भूकम्प गएको चार बर्ष पूरा भएको छ । चार बर्षलाई फर्केर हेर्दा भुकम्पले क्षती पु¥याएको वारपाक गाउँमा पुननिर्माणको काम धेरै सकिएको छ । विनाशकारी भूकम्प जानुभन्दा अगाडी वारपाक गएको कुनै पर्यटक आजभोली गाउँमा पुग्यो भने एक्कैछिन अचम्म मान्दछ । वारपाक गाउँ हो की हैन ? उ आफैमा दोबिधा पर्दछ । उसले देखेको वारपाक गाउँको ढुंगाले छाएका एकनासका घर, ढुंगाले नै छापेर बनाइएको बाटो, सबै आँगनमा ढुंगा छापिएको मात्र होइन वारपाक गाउँका गल्लीहरु पनि ढुंगा छापिएको उसले देख्न पाउदैन । अब भने वारपाक पहिलाको संरचना छैनन् । अहिले बारपाकमा परमपरागत बनेका समान खालका घर छैनन् । परम्परागत शैलीमा निर्माण भएका घरहरुको सट्टा अहिले बारपाकमा भूकम्प प्रतिरोधात्मक घर बनेका छन् । नीला जस्तापाताले छाएका र चिटिक्क परेका घरले गाउँको मुहार नै परिवर्तन गरिदिएको छ । घर बनेसँगै बारपाकका बासिन्दाको मुहारमा खुसी छाएको छ ।
वारपाक अब पुरानै अवस्थामा फर्कन लागेको छ । बारपाक एउटा प्राकृतिक सुन्दरताको गाउँ हो । बारपाकमा गाउँमा धेरै पर्यटकीय ऐतिहासिक सम्पदाहरु छन् । वारपाक गाउँ विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजेघलेको गाउँ पनि हो । बुद्ध हिमालको काखमा रहेको वारपाकबाट नजिकै (पुचु डाँडार कङ) मनास्लु हिमालको श्रृंखला दृष्यावलोकन गर्न सकिन्छ । वारपाकमा अन्य जिल्लाको मात्र होइन गोरखा जिल्लाको पनि वारपाक बाहेक अन्य गाउँका मानिसले घर जग्गा किन्न पाउदैनन् । मानिसद्धारा हलो जोति (गोरुले झै) मकै छर्ने काम पनि वारपाकमा गरिन्छ । हङकङ, बु्रनाई, बेलायत बस्ने किन नहोस केटा वा केटी विवाह गर्ने समयमा गाउँकै केटा वा केटीसँग बिहे गर्नुपर्ने चलन वारपाकमा छ । भेडाको मासु बाहेक अरु जनावर र पशुपंक्षिको मासु घरबाहिर पकाउनु पर्ने परम्परा छ । राती १० बजेपछि हल्लाखल्ला र गाउने बजाउने कार्य निषेध गरिएको छ । पाहुनालाई अगेनो भन्दा अघि बढन र बस्न नदिने परम्परा छ । होमस्टेमा बस्दा १–२ गिलास भन्दा बढि रक्सी सेवन नगराउने जस्ता कडा आचारसंहित वारपाकमा रहेको छ ।
पुनहिल
राउण्ड अन्नपूर्णको प्रमुख आकर्षक गन्तव्य गण्डकी प्रदेशको म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका पर्ने घोडेपानी र पुनहिलमा आजभोली पर्यटकको रोजाइमा पर्ने गर्दछ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी अर्थात पुनहिलबाट हिमश्रृखला र सूर्योदयको मनोरम दृष्यावलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन । पुनहिलमा भ्युटावर निर्माण भएको छ । गाउँका विभिन्न नाकामा प्रवेशद्वार बनाएका छन् । पर्यटकलाई आकर्षित गर्न पुन मगरहरुको ऐतिहासिक र साँस्कृतिक पहिचान झल्काउने मगर संग्रहालय पनि सन्चालनमा ल्याएका छन् । समुन्द्री सतहबाट ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा शरद ऋतुको सुरुवातसँगै पर्यटकहरको भिड लाग्ने गर्दछ । अन्नपूर्ण संरक्षण क्षेत्रको गुराँसे जंगलमा १६ प्रजातीका गुराँस पाइन्छ । घोरेपानीदेखि एक घन्टाको पैदल दूरीमा उकालो हिँडे पनि पुगिने पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो । पर्यटक आउने क्रम बढन थालेपछि २०२१ सालमा डाँडालाई पुनहिल नामकरण गरेका हुन । पुनहिलमा उभिदा हात अघि बढाए छोइएलाझैं लाग्ने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालको सौन्दर्य हिमाललाई हेर्नका लागि संसारका लाखौं पर्यटकहरु घोडेपानी अर्थात पुनहिल पुग्ने गर्दछन । हिमाल र गुराँसकै कारण घोडेपानी अर्थात पुनहिल संसारभरी चिनिएको छ ।
अग्लो झोलुङेपुल
पर्वत जिल्लामा भएका झोलुङे पुल आजभोली पर्यटकहरुको लागि गन्तब्य बनेको छ । पोखराबाट मोटर मार्ग भएर मुक्तिनाथ पुग्ने पर्यटकहरु पर्वत जिल्लाको कुश्मा वरपर रहेका झोलुङ पुल अवलोकन गरि आनन्द लिने गर्दछन । अहिले पर्वत जिल्ला झोलुङे हेर्न र रमाउन पर्यटनको गन्तब्य बनेको छ । पर्वतमा कुश्मा–ज्ञादी, बडागाँउ–कैँया, देविस्थान–कुर्घा र बडागाँउ–मुडीकुवा जोडने अग्ला र लामा पुलहरु निर्माण भएका छन । यी मध्ये पर्वतको कुश्मा बडागाँउ देखी बाग्लुङको बलेवा कैया जोड्ने कालीगण्डकी माथी बनेको पुल नेपालको सर्वाधिक अग्लो पुल मानिन्छ । यो पुल १ सय ६६ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । कुश्मामा निर्माण भएका अग्ला र लामा पुलहरु हेर्न अहिले ग्रामीण पर्यटक, शैक्षिक भ्रमणका बिद्यार्थी एवं बाह्य पर्यटकको घुईचो नै लाग्ने गर्दछ । कुश्मामा पर्यटकहरुलाई नै लक्षित गरी बन्जीजम्प पुल समेत निर्माण हुन लागेको छ । यो बाहेक कुश्माको खरैया–ज्ञादी जोडने मोदीखोलामा समेत अग्लो पुल निर्माण हुन लागेको छ ।
ढोरपाटन
बाग्लुङ, म्याग्दी र रुकुमको भूगोलमा ढोरपाटन पर्दछ । ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको छ । फागुन महिनामा ढोरपाटन क्षेत्र लालीगुरासको फुलले सजिएको हुन्छ । प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु सिकारको रोमाञ्च अनुभुति लिन चाहने पर्यटकको लागि ढोरपाटन आनन्दको स्थल मानिन्छ । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनको अर्को नाम हो बादलपारीको गाँउ । वरीपरी हिमालि दृष्य हिमालको काखमा राता डाँडा त्यस मुनि हरीयो जङगल, जङगल मुनि मैदानि भाग अनि बस्ति र कञ्चन पानीका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, र पुर्वी रुकुमका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल,माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ ।