गुल्मी। चर्को शुल्कले थुप्रै क्याम्पसहरु गरिब तथा विपन्न विद्यार्थीको पहुँचमा छैनन् । बसाईसराईले गाउँका कैयन क्याम्पस चलाउनै मुस्किल परेको छ । छोराछोरीको शहर पढ्ने रहरले थुप्रै बा–आमा आर्थिक चपेटामा परिरहेका छन् । सदरमुकाममा बसेर क्याम्पस पढेपनि अहिलेको महङ्गी अनुसारको खानपान, कोठाभाडा र क्याम्पस शुल्कका कारण मासिक न्यूनतम पाँचदेखि सात हजारले पुग्दैन ।
तर गुल्मीको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसले गाउँमै २५ सयमा चार बर्षे स्नातक पढ्न पाउने व्यवस्था गरेपछि विद्यार्थीहरु गाउँमै रोकिन थालेका छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष कृष्ण प्रसाद भण्डारीका अनुसार क्याम्पसमा पहिलो वर्ष भर्ना भएको २५ सय रुपैयाँ तिरे पुग्छ । त्यस बाहेक मासिक वा अन्य कुनै शुल्क चार बर्ष तिर्नु पर्दैन ।
क्याम्पसका शिक्षा र मानविकी संकाय अन्तरगत अंग्रेजी, अर्थशास्त्र र नेपाली मुल बिषय लिएर स्नातक गर्ने व्यवस्था रहेको भण्डारीले बताए । उनले पैसाको कारण उच्च शिक्षा पढ्न बिद्यार्थीले गाउँ छोड्नुपर्ने बाध्यताको अन्त्यका लागि संचालक समितिले २५ सयमा चार बर्षे स्नातक र निशुल्क आभासको व्यावस्था गरिएको बताए ।
विपन्नमा उच्च शिक्षाको आशा
मालिका गाउँपालिका ३ ह्वाङ्गदीकी बिष्णु र बहिनी कमला घिमिरे कक्षा १२ उतिर्ण भएपछि दुई बर्षसम्म आर्थिक अभावका कारण स्नातक पढ्न सदरमुकाम जान सकेनन् ।
अहिले दाजुबहिनीनै धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा भर्ना भएका छन् । अत्यन्तै कम शुल्कमा अध्ययन र निशुल्क आवास पाएकोमा खुसी छन् । पढ्न नसकेका बिष्णु बिदेश जाने योजनामा थिए । तर सहुलियतमा स्नातक अध्ययन र कोठाभाडा समेत जोगिने भएपछि विकट मालिका गाउँपालिकाबाट आएर क्याम्पस भर्ना भएको उनी बताउँछन् ।
गुल्मीको धुुर्कोट गाउँपालिका ४ की पुष्पा पोखरेल बुटवल बहुमुखी क्याम्समा स्नातक प्रथम बर्षमा अध्ययन गर्थिन् । सहुलियतको खबरले पोख्रेल अहिले गाउँमै फर्किन् । अहिले धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्समा भर्ना भएकी छन् ।
‘शहरमा पढ्दा खर्च थेग्न मुस्कील पर्यो, अहिले मासिक शुल्क समेत तिर्न नपरेपछि पढ्न निकै सजिलो भएको छ,’उनले भनिन,‘पहिलो बर्ष २५ सय तिरे चार बर्षलाई पुग्यो ।’
धुर्कोट गाउँपालिका ५ वस्तु बाँसटारीकी हेमा बिकले पनि आर्थिक अवस्था कम्जोर भएका कारण स्नातक पढेकी थिइनन् । क्याम्पसको नयाँ निर्णयले विक पनि स्थानतक भर्ना भएकी छन् । क्याम्पस पढ्ने सपना त्यागी सकेका बेला पुन क्याम्पस पढ्ने मेरो सपना पुरा भएको बताइन् ।
नयाँ आकर्षण नि:शुल्क आवास
०६५ सालमा स्थापना भएको क्याम्पसमा पहिलो बर्ष ३५ जना मात्रै भर्ना भए । त्यसपछि पनि सख्या बढेन । बरु घट्नै जान थाल्यो । संचालक समितिले २५ सयमा स्नातक शिक्षा अध्ययन र निशुल्क आभासको निर्णय गरेपछि यो बर्ष बिद्यार्थीको संख्या दोब्ब बढि भएको छ । अहिलेसम्म प्रथम बर्षमा मात्रै ८७ जना भर्ना भएका छन् ।
क्याम्पसमा एक सय ३० जना बिद्यार्थीले अध्ययन गर्दै आएको क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले बताए । उनले अर्को वर्षदेखि बिद्यार्थीको संख्या अझै धेरै हुने अनुमान गरिएको बताए । अहिले १५ जना बिद्यार्थीहरुले निशुल्क आभासको सुविधा लिएका छन् । बिद्यालयले नि:शुल्क कम्प्युटर र पुस्तकालयको व्यावस्था समेत गरेको क्याम्पसप प्रमुख भण्डारीले बताए ।
मनकारी भण्डारी परिवार
स्वर्गीय परमानन्द भण्डारी बस्तुका समाजसेवी थिए । समाजसेवी भण्डारीले शिक्षा क्षेत्रको विकासमा ठुलो योगदान पुराएका छन् । उनले वस्तुमा धुर्कोट बहुमुखी क्याम्पस संचालन गर्न चौरासी पुजाको खर्च कटाएर १० लाख प्रदान गरेका थिए ।
भण्डारी परिवाले तत्कालिन समयदेखि अहिलेसम्म जिल्लाका विभिन्न बिद्यालय र क्याम्पसमा छात्रवृति प्रदान गर्दै आएका छन् । जिल्लाको सवैभन्दा पुरानो रेसुंगा बहुमुखी क्याम्पस, धुर्कोटको हिमालय मावि, पाञ्चायन मावि र इन्दिरा माविमा अक्षयकोष स्थापना गरेर अधिकांश दलित र बिपन्न बिद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छोरा कृष्ण प्रसाद भण्डारीले बताए । उनको ०६६ असार २३ गते मृत्यु भयो ।
त्यसपछि छोराहरुले ५१ लाख प्रदान गरेर क्याम्पसकै नाम धुर्कोट परमानन्द बहुमुखी क्याम्पस नामकरण गरेका छन् । सोमबार १० औ क्याम्पस सभामा परमानन्द भण्डारीकी पत्नी पार्वतीदेवि भण्डारीले पनि चौरासी बर्षको अवसरमा दान र खर्च कटाएर क्याम्पसलाई १५ लाख प्रदान गरेकी छन् ।
वस्तुमा अहिले यो परिवार बस्दैन् । तर योगदान दिइरहेको छ । घर खाली भएकाले पढ्न आउने बिद्यार्थीलाई दिएका छन् । अहिले दुई जना बिद्यार्थी छन् । १० जनासम्मलाई घरमा राखेर सवै खर्च आफुले व्यहोर्ने समेत छोरा कृष्ण प्रसाद भण्डारीले बताए । उनले बस्दै, पढ्दै र बारीमा कृषि काम गर्ने भएपनि निशुल्क जग्गा बिद्यार्थीलाई दिने घोषणा गरे ।

सहयोगबाटै क्याम्पस सञ्चालन
धुर्कोट परमानन्द बहुमुखी क्याम्पस सञ्चालनमा भण्डारी परिवारसहित थुप्रै व्यक्तिहरुको सहयोगमा सञ्चालन भएको छ । स्वर्गीय रुद्रमणी शर्मा भण्डारी, टोमलाल पाण्डेय तथा पुर्व सांसद टंक पोख्रेल, पुर्व क्याम्पस प्रमुख डाक्टर नातिमैया शर्मा भण्डारीले आर्थिक एवं नैतिक रुपमा ठुलो योगदान दिएको क्याम्पस संचालक समिति सदस्य युवराज भण्डारीले बताए ।
त्यस्तै क्याम्पस संचालनमा तीनवटै सरकारले सहयोग पुराएका छन् । भवन निर्माणका लागि ढुण्डिराज शर्मा भण्डारी, युवराज पाण्डे, मुक्तिराम भण्डारी लगायतका परिवारले क्याम्पस निर्माणको लागि निशुल्क जग्गा दिए । क्याम्पसको लागि कतिपय उपप्राध्यापकहरुले निशुल्क समेत पढाउने गरेका छन् । त्यस्तै युके समाजले ३ लाख, वस्तु कोरिया सम्पर्क समाजले २५ हजार क्याम्पसलाई सहयोग गरेका छन् ।
साथै धुर्कोटमा विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा अहिले एक करोड ४५ लाख रुपैयाँ बैंकको मुद्धती खातामा बचत गरेर त्यसको ब्याजबाट क्याम्पस संचालन गरेको भण्डारीले बताए ।
अहिले थप पाँच लाख रकम थपिएको छ । १० औ क्याम्पस सभा उद्घाटनको लागि पुगेका जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यो जिल्लाको नमुना शिक्षालय भएको बताए । ‘अहिले क्याम्पसहरुमा शुल्कको लडाइँ चलेको छ, गाउँमा रकम अभावमा कति जनाले पढाई खुम्चाएका छन,’उनले भने,‘बिपन्न बिद्यार्थीको शिक्षाको ज्योति यो क्याम्पस हो ।’