काठमाडौको नेपाल ल क्याम्पसमा पढ्दा नेपाल विद्यार्थी संघमा क्रियाशील थिएँ। त्यसबेला चक्र बास्तोला र जयप्रकाश गुप्ताहरुसँग मेरो भेटघाट भइरहन्थ्यो। उहाँहरु गिरिजाप्रसाद कोइरालासँगै रहेर काम गर्नुहुन्थ्यो। ‘मलाई एकजना सेक्रेटरी चाहियो’ भनेर गिरिजाबाबुले चक्र बास्तोला र जयप्रकाशसँग भन्नुभएको रहेछ। त्यसै क्रममा उहाँले मलाई गिरिजाबाबुकोमा पुर्याउनुभयो।
‘ए मैले त यिनलाई चिन्छु, ल भोलिबाट आएर काम गर’ भनेर गिरिजाबाबुले भन्नुभयो। ‘मेरो बीएल तेस्रो वर्षको परिक्षा चलिरहेको छ। परिक्षा सकेपछि आउँछु’ भने। ‘अहिलेलाई बिहान एकछिन–एकछिन आउँदै गर, जाँच सकेपछि नियमित आउ’ भनेर उहाँले भन्नुभयो। यसरी २०४७ साउनबाट मैले गिरिजाबाबुको स्वकिय सचिव भएर काम गर्न थालें।
दृढ स्वभाव पछाडि नफर्कने
गिरिजाबाबु फिलोसोफर त होइन एउटा कुशल संगठनकर्ता हुनुहुन्थ्यो। प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको निम्ति अनवरत रुपमा संघर्ष गरेको मान्छे हो। कुनै कुरा हासिल गर्नलाई डटेर लाग्ने र पछाडि नफर्कने उहाँको स्वभाव थियो। उहाँले अन्य पार्टीका नेताहरुसँग पनि सल्लाह लिइरहनुहुन्थ्यो। सूर्यबहादुर थापा, विश्वनाथ उपाध्याय, रविन्द्रनाथ शर्मा, लगायत सँग पनि भेट गर्नुहुन्थ्यो। कुनै जटिल परिस्थिति आयो भने त्यो अवस्थामा म कसरी अघि बढ्ने भनेर राय सल्लाह लिनुहुन्थ्यो।
तर निर्णय लिएपछि भने पछि फर्कनुहुन्थेन। किसुनजी, गणेशमानजीले विदेशीसँग हजुरले नै डिल गर्नुहोस् भनेर गिरिजाबाबुलाई जिम्मा दिनुभएको थियो। उहाँले रामशरण महत, चक्र बास्तोला, हरि शर्मालाई लिएर विदेशीहरुलाई सम्बाद गर्ने, समर्थन र सहयोग जुटाउने काम गर्नुहुन्थ्यो।प्रजातन्त्र पुनस्र्थापना र लोकतन्त्र स्थापनाको साथै मुलुकको आर्थिक विकासमा पनि उहाँको ठूलो योगदान छ।
गिरिजाबाबुले समाजवादसँगै आर्थिक उदारवादको कुरालाई पनि अघि बढाउनुभयो। रामशरण महत, महेश आचार्य जस्ता अर्थशास्त्रीहरुले ‘नेपालमा समाजवाद त चाहिन्छ साथै उदारवाद नभई विदेशीहरुले हामीलाई आर्थिक तथा डिप्लोमेटिक रुपमा सहयोग गर्न गाह्रो मान्छन्।’ भन्ने सुझाव दिनुभयो। गिरिजाप्रसाद कोइरालाले त्यसैलाई ग्रहण गरेर नै २०४८ सालपछि ७–८ वर्ष आर्थिक वृद्धि भएको थियो। त्यही आर्थिक बृद्धि र विकासका कारण मुलुक यहाँसम्म आएको हो।
कार्यकर्तासँगको सम्बन्ध
उहाँले कार्यकर्तालाई आफ्नो परिवार जस्तो व्यवहार गर्नुहुन्थ्यो। कसैको दुख देख्न नसक्ने। भेट हुँदा तिम्रो समस्या के छ भन भन्नुहुन्थ्यो। समाधानको पहल गरिदिनुहुन्थ्यो। त्यसकै कारण पनि उहाँले लामो समयसम्म यो उचाइ हासिल गर्नुभएको थियो।
गिरिजाबाबुको अर्को एउटा बानी थियो होटलमा कहिले नबस्ने। जहाँ जाँदा पनि कार्यकर्ताको घरमा बस्ने। बुटवल आउँदा संधैजसो सूर्यप्रसाद प्रधानको घरमा बस्नुहुन्थ्यो। भैरहवामा रामकृष्ण ताम्राकारकोमा बास हुन्थ्यो।
पाल्पामा भागवत ज्ञवाली र दाङमा खुमबहादुर खड्काकोमा बस्नुहुन्थ्यो। ‘म होटलमा किन बस्ने टुरिष्ट हो र, नेता हुंँ कार्यकर्ताको मै बसेर दुःखसुख बुझ्ने हो’ भन्नुहुन्थ्यो। ‘पार्टीका कार्यकर्ता निम्न वर्गका पनि हुन्छन् होटलसम्म पुग्न नपाउलान तर म आफ्नो कार्यकर्ता कहाँ बस्दा सबैलाई खुल्ला हुन्छ। उनीहरुको कुरा सुन्ने मौका पाउँछु। उनीहरुसँग केही सिक्ने मौका पाउँछु।’ भनेर भन्नुहुन्थ्यो। कतै जाँदा पनि उहाँ होटलमा बसेको मलाई थाहा छैन।
दिल्लीमा आँखा छलेर प्रचण्डलाई भेट्नुपर्यो
मुलुकमा भएको दश वर्षे द्वन्द्व अन्त्यको लागि माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन उहाँले ठूलो जोखिम मोल्नुभयो। दिल्ली जाँदा आउँदा म उहाँको साथमै रहन्थे। चक्र बास्तोला, शेखर कोइराला, कृष्ण सिटौलाले माओवादी नेताहरुसँगको भेटको समन्वय गर्नुभयो।
गिरिजाबाबुसँग हामी पटकपटक दिल्ली गयौं। माओवादी नेतासँगको वार्तामा उहाँले आफ्नो अडान राख्नुहुन्थ्यो। ‘पहिले संविधान सभाको निर्णय गरौं। राजा फाल्ने विषय पार्लियामेन्ट (संसद) ले गर्छ। तपाइँ हामीले गर्न सकिँदैन। जहिले पार्लियामेन्ट बन्छ, त्यतिबेला प्रश्न उठाउँला। अहिले जब संसद नै छैन तपाईले र मैले फालेर राजा फालिँदैन। यो प्राक्टकिल कुरा हो प्रचण्डजी।’ भनेर गिरिजाबाबुले सम्झाउनुभयो।
‘म एक्लै गिरिजाप्रसादले राजा फाल्ने होइन। माननीय गिरिजाप्रसाद समेत रहेको संसदलाई राजा फाल्दा वैधानिक अधिकार हुन्छ। संसद र राजाबीच झगडा हुँदा संसारमा संसदले जितेको छ।
तर व्यक्ति र राजाबीचको झगडामा राजाले जित्छन्। यो अनप्राक्टिकल काम नगरौं’ भनेर उहाँले प्रचण्डलाई कन्भिन्स गराउनुभयो। जसका कारण दलहरु र माओबादीबीच समझदारी भएको हो। माओवादीका नेताहरु भेट्न दिल्ली जाँदा भारतीय सरकारलाई पनि आँखा छल्नुपर्ने। नेपालका सरकारी मान्छेहरुहरु पनि पछि लाग्थे उनीहरुसँग पनि जोगिनुपर्ने थियो। राज्यले माओवादीलाई आतंककारी घोषणा गरेको अवस्थामा लुकेर छिपेर भेट्नुपर्दथ्यो।
राजा र गिरिजाप्रसाद
प्रधानमन्त्रीको रुपमा गिरिजाबाबुले तत्कालीन राजा ज्ञानेन्द्रसँग त छोटो समय मात्र काम गर्नुभयो। त्यसअघिका राजा वीरेन्द्रसँग सामिप्यता राम्रो थियो। साप्ताहिक रुपमा दर्शनभेटमा जाँदा राजासँग धेरै राम्रा संवादहरु भएको बताउनुहुन्थ्यो। ‘कांग्रेस कमजोर हुन हुन्न। कांग्रेस भनेको लोकतन्त्रको जननी संस्था हो। मेरो हजुरबुबा त्रिभुवन पनि कांग्रेसकै कारण राणाबाट मुक्त हुनुभएको हो। त्यो गुन राजसंस्थाले पनि बिर्सदैन’ भनेर राजा वीरेन्द्रले भन्नुभएको कुरा हामीलाई पटकपटक उहाँले सुनाउनुहुन्थ्यो। संवैधानिक संवादका क्रममा कुनै दिन गिरिजाबाबु र वीरेन्द्रको ठासठूस परेको आभास मैले पाइन।
अन्त्यमा,
गुल्मी जन्मेर विद्यालयको पढाइपछि उच्च शिक्षाको लागि म काठमाडौ गएँ। काम विशेषले काठमाडौमा भएपनि स्थायी बसोबास बुटवलको सुख्खानगर हो। राजनीतिक यात्राको दौरानमा संयोगले नेपाली राजनीतिक आन्दोलनका एक शिखरपूरुषको स्वकिय सचिव बन्ने अवसर मिल्यो। नेपाली राजनीतिमा गिरिजाबाबु जस्ता व्यक्तित्वको अभाव छ। उहाँको राजनीतिक मार्गलाई आत्मसाथ गरेर अब कांग्रेस अघि बढ्नुपर्छ। स्मृति दिवसको अवसरमा स्वर्गीय गिरिजाबाबुप्रति श्रद्धासुमन व्यक्त गर्दछु।
लुम्बिनी टाइम्सका लागि सुदीप भण्डारीले गरेको कुराकानीमा आधारित