बुटवल– प्रदेश नम्बर ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ बुटवलका अनुसार असोज १२ गते देखि २४ गते सम्म प्रदेश ५ का १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको हो ।
सवारी दुर्घटना र मृत्यु हुनेको संख्या अघिल्लो बर्षको दसैंको समयमा भन्दा अहिले केही बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी राम प्रकाश शाहले बताए ।
सवारी दुर्घटनामा परी रुपन्देही र पश्चिम नवलपरासीमा ४/४ जनाको, कपिलबस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३/३ जनाको , बाँकेमा २ तथा दाङ र बर्दियामा १/१ जनाको मृत्यु भएको शाहले जनाए ।
दुर्घटनामा परी ६२ जना गम्भिर घाईते र ५८ जना सामान्य घाईते भएका थिए । सबैभन्दा दुखद दुर्घटना अर्घाखाँचीमा भएका थियो । दशैंको २ दिन अघि भएको सो जीप दुर्घटना हुदा छोरीहरु सहित दसैैं मनाउन जादै गरेका दम्पत्ती सहित ३ जनाको मृत्यु भएको थियो ।
दशैंको अवधिमा ८५ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
दुर्घटनामा सबैभन्दा बढी ४१ वटा मोटरसाईकल दुर्घटनामा परेका थिए । जिल्लागत तहमा सबैभन्दा बढी बाँकेमा १२ वटा दुर्घटना भएका थिए । रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दाङमा ८/८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३/३, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १/१ दुर्घटना भएका थिए । पूर्वी रुकुममा भने सो अवधिमा कुनै दुर्घटना भएनन् ।
ट्राफिक कार्यालयको विश्लेषण अनुसार ती दुर्घटनाहरु मध्ये धेरै तिब्र गति र चालकका गल्तीका कारण भएका छन् । २५ दुर्घटना तिब्र गति र चालकको लापरबाहीले २२ घटना भएका छन् । त्यसै गरी ओभरटेक गर्ने क्रममा ४, मादक पदार्थ सेबन गरी सवारी हाक्दा ३, यान्त्रिक गढबढी ३, ओभर लोड र यात्रुको गल्तीका कारण एक एक दुर्घटना भएको शाहले बताए ।
सबै भन्दा बढी दुर्घटना दिउसो १२ बजे देखि बेलुका ६ बजेको समयमा भएका छन् । सो समय भित्र २५ वटा दुर्घटना भएका थिए । त्यसै गरी बेलुका ६ देखि राती १२ बजे सम्म २१ वटा, राती १२ देखि बिहान ६ बजे सम्म २ वटा तथा बिहान ६ देखि दिउसो १२ बजे बिचमा १२ वटा दुर्घटना भएका थिए ।
अघिल्लो बर्षको दशैंको समयमा ५५ दुर्घटना हुदा १४ पुरुष, ७ महिला र २ बालक गरी २३ जनाको मृत्यु भएको थियो ।
६७६३ साधनलाई कारबाही
यस बर्षको दशैंको समयमा असोज १२ देखि असोज २४ गते सम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरीएको सूचना अधिकारी शाहले जानकारी दिए ।
उक्त कारबाही बाट ४० लाख ६० हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । सबैभन्दा बढी कारबाही मोटरसाईकल चालकहरु परेका छन् । २३ सय ३९ वटा मोटरसाईकल स्कुटर चालकलाई कारबाही भएको थियो । जसबाट १४ लाख ५३ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो । त्यसै गरी सो अबधिमा १ हजार ५२ बस, १२ सय ७७ जिप कार, टेम्पो २सय२३, ट्रक १४ सय ४९, टेक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।