बुटवलः तिनाउ पुलको पूर्वीद्वारबाट हाटबजार जान एउटा सिंढी झर्नु पर्छ । सिंढीको छेवैमा एउटा सानो टहरो छ । टहरोमा बस्न त मिल्छ तर उठ्दा टाउको ठोकिन्छ । चारतिर बाँसका खम्बा गाडेर माथिबाट जुटको बोरा र 'प्लाइवुड' छाइएको छ । टहरो सानो छ तर, ५८ बर्षकी लीलु बुढामगर र ६२ बर्षकी उनकी दिदि तिलु बुढामगरका लागि यदी यो टहरो नहुँदो हो त ! उनीहरु सोच्न पनि सक्दैनन् ।
काम नगरी खानै नपाइने शहर हो बुटवल । यहाँ आफ्नै वुतामा प्रौढ जीवन धान्न बाध्य परिरहेछन् यी दुई बहिनी । उनीहरुसँग त्यो सानो टहरो छ जहाँ बसेर बिहान साँझ मकै पोलेर बेच्छन्, र जीविका ‘किन्छन्’ । काम भन्नुहोस् या माम, स्रोत त्यहीँ टहरो हो ।
यी दिदि बहिनी लुम्बिनी प्रदेशको कान्छो जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगाको तकसेरामा जन्मिएका हुन् । सहज जीविका खोज्दै तराईतिर रुमलिदाँ उनीहरु बुटवलमा टुङ्गिए । अहिले बुटवल–५ शान्तिपथको एउटा सानो डेरामा दिदी बहिनीसहित तीन जनाको परिवार बस्छ । सबैको जीवन मकै पोलेरै धानिएको छ ।
२०४० सालमा रुकुमबाट पतीको साथ लागेर बुटवल आएकी हुन्, लिलु । पतीले केही बर्ष बुटवल उपमहानगरपालिकामा फोहोर उठाउने जागिर गरे । त्यतीन्जेल हातमुख जोर्न उतिविघ्न समस्या हुन्थेन रे । तर, पती रक्सीको लतमा लागेपछि घरमा पैसा आउन छाड्यो । सकस बढ्न थाल्यो । अलि अलि जोडेको सम्पत्ति त स्वाहाः नै भयो । समयको नियती रोकिने कुरै थिएन, लिलुका दम्पति बुढेसकालतिर हुत्तिरहेका थिए ।
‘दिनभर रक्सी खाएर घरमै सुत्थे । कि त छटपटाएर कतै हिड्थे । के खाने कसरी खाने थाहै थिएन,’ लिलुले ती दिनहरु सम्झन्छिन्,‘कति रातहरु नखाई सुतेर वितेका छन् ।’
जति दिनहरु वित्दै थिए, उनीसँग बाँच्ने उपायहरु सकिंदै थिए । फेरि पहाडतिर जाने कि शहरमा भोकै मर्ने ?– उनका अगाडि नै प्रश्न थियो । उनले शहर रोजिन् । ‘बुढालाई लिएर फेरि पहाड जानुपर्ने ! त्यहाँपनि काम नगरी त कहाँ बाँच्न पाइन्थ्यो र,’ उनी भन्छिन्–‘बरु आफै केही काम गर्न सक्छु कि भन्ने सोचेर पहाडतिर गइन ।’
उनका लागि शहरमै बसेर जीवन कहानीका धूमिल पानाहरु फेर्ने साहसिक निर्णय थियो त्यो । आज संघर्षका भूमरीभित्र टल्किरहेको उनको स्वाधीन जीवन हेर्दा जो कोहीलाई पनि त्यस्तै लाग्छ ।
बाँच्ने अठोट के लिएकी थिइन्, तरिका आफै फेला पारिन् । एक दिन विहानै नेपालगंजरोडमा रहेको प्रतिक्षालयको विपरित दिशामा रहेको सिंढी नजिकै चार वटा साना–साना बाँसका खम्बा गाडीन् । चार वटा खम्बाको माथितिरबाट जुटको बोरा काटेर छाइन् । ठूलो पानी ओत्न नसकेपनि घामका तिखा किरणहरु छेक्न सक्ने सानो टहरो तयार भयो । जीवनको ओत पनि त थियो नि यो !
पहिलो दिन त्यही टहरोमै बसेर सब्जिमण्डीबाट ल्याएका ८ वटा मकै पोलिन् । ६ वटा विक्री भए । ‘विजनेश’को सुरुवात भईसकेको थियो । दोस्रो दिन १० मकै विक्री भए । त्यस पछि कति विक्रि भए त्यो त उनलाई याद छैन तर, त्यस दिन देखि उनलाई रातीमा भोकै बस्नु परेन ।
पहिलो महिना वित्दासम्म दैनिक औषत ३० वटाको दरले मकै विक्री हुन थालेको थियो । प्रतिगोटा २५ रुपैंयामा बेच्दा उनलाई दैनिक ७ सय ५० रुपैंयाका दरले आम्दानी हुन्थ्यो । ‘पहिलो महिनामा १३ हजार रुपैंया कमाई भएको थियो ।’ सम्झदैं भनिन् लिलुले ।
उता रुकुममा लिलुकी दिदि तिलु अर्काको घरमा मजदुरी गर्दै बसेकी थिइन् । अविवाहिता भएकाले माइतीमा बस्न त्यती सहज थिएन । समाजका प्रश्न चिह्नित आँखाहरु झेल्न कठिन मानिरहेकी थिइन् । लिलुले उनलाई दिदिलाई शहरतिरै बोलाइन् । काममा पनि सजिलो हुने, दिदिको पनि उद्धार हुने !
अब दिदि बहिनीका दिनहरु तिनाउ पुलको मुखमा रहेको टहरामा वित्न लागे । ‘मकै विजनेश’ उनीहरुको बाँच्ने आधार बन्यो । ग्राहकहरुसँग आमा र हजुरआमाका साइनाले जोडिन लागे । गुजारा धीर–धीर चल्यो ।
वृद्ध उमेरमा आत्मनिर्भरतातर्फको यात्रा कठिन भएपनि भोकै पेट सुत्नु नपर्दाको आनन्द लिलुको बोलीमा पनि झल्कन्छ । ‘गाह्रो त छ नि, विहानै उठ्नु पर्छ मकै लिन । ह्या ! आज ज्यान दुख्यो भनेर जान्न भन्न मिल्दैन,’ उनले भन्छिन्–‘काम गरेर खान पनि दुख मानेर त कहाँ हुन्छ र !’
प्रधानमन्त्री ओलीको आगमन, टहरोको ‘बहिर्गमन’
लिलुको जीवनमा कठिनताहरुको ठेली नै भएपनि केही संघर्ष यस्ता छन् जसलाई उनले जीवनभर भुल्न सक्दिनन् । तीमध्ये एक रहेछ– प्रधानमन्त्री केपी शर्मा ओलीको बुटवल आगमन ।
दुई बर्ष अघिको बैशाख ७ गते प्रधानमन्त्री ओली बुटवल आउने तय भएको थियो । जितगढी किल्लामा नेपाली फौजको विजयोत्सवलाई सम्बोधन गर्न उनी बुटवल आउने भएपछि ‘भीआईपी’ सवारीका लागि बुटवल उपमहानगरपालिकाले ‘बाटो खाली’ गर्न लाग्यो ।
त्यसदिन लिलु विहानैदेखि नेपालगंजरोडमा रहेको एउटा सानो टहरोमा मकै पोलिरहेकी थिईन् । ९ बजेतिर उपमहानगपालिकाका कर्मचारीहरुले असुरक्षाको कारण देखाउदै टहरो फाल्न निर्देशन दिए । उनले मानिनन् ।
‘दिनभर घाममा मकै पोल्न सकिन्न । यती टहरो जोगाइदिनुहोस् भन्दा पनि मानेनन् । टहरो भत्काइछाडे,’ उनी भन्छीन् । सधैं साँझको ७ बजेसम्म मकै पोल्ने लिलु त्यसदिन ११ बजे नै दिदिलाई लिएर डेरा फर्किएकि थिइन् रे !
उपमहानगरपालिकाका कर्मचारीले ठूलो छाता दिने भन्दै उनको टहरो भत्काउन फकाएका थिए । तर, त्यो आश्वासनमा मात्रै सिमित भयो । ‘मन्त्री(प्रधानमन्त्री) किन आए थाहा छैन । तर मैले दुख गरेर बनाएको टहरा भत्काउँदा ५ दिन सम्म काम रोक्नु पर्यो । सुरुमा त छाता देलान् भन्ने लागेको थियो तर पछि हामीले आफै बनायौं,’ उनले भनिन् ।
त्यसो भएको पनि दुई बर्ष वितिसकेछ । दुई बहिनीले अहिले आफैले फेरि ठड्याएको टहरोमा मकै पोल्ने काम गरिरहेका छन् । दैनिक ४५ देखि ५० वटासम्म मकै बेच्छन् ।