बुटवल -वि.स. २०७७ सालमा लुम्बिनी प्रदेशमा पनि केही महत्वपूर्ण घट्नाक्रमहरु भए। कोरोना महामारीको असरले लुम्बिनीमा पनि धेरैको ज्यान गयो। उता मुलुकको राजनीतिक घट्नाक्रमको छिटा प्रदेशमा पनि पर्यो । त्यस्तै केही विपद र सामाजिक घट्नाका समाचार पनि सार्वजनिक भए ।
कोभिड - १९ संक्रमण : २८ हजार बढी संक्रमित ४२० ले गुमाए ज्यान
वि सं. २०७७ साल सुरु हुँदा मुलुकमा लकडाउन भएको २० दिन पुगीसकेको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन भएको थियो। त्यसैले यो सालको पहिलो दिन अधिकांस घर भित्रै सिमित थिए। नयाँवर्ष उत्सव सामाजिका सञ्जालमा मात्र सिमित थियो।
नेपालभरमा केहीलाई कोरोना संक्रमण पुष्टी भएपनि २०७७ साल सुरु हुँदा लुम्बिनी प्रदेशमा भने संक्रमण देखिइसकेको थिएन। बैशाख १९ गते रुपन्देही र बाँकेमा एकै दिन संक्रमित फेला परे। यो नै लुम्बिनी प्रदेशमा संक्रमणको सुरुवात थियो। त्यसको पर्सिपल्ट बैशाख २१ मा बाँकेमा एकै पटक १५ जनामा कोरोना संक्रमण देखियो। त्यसपछि प्रदेशका सबै जसो जिल्लामा कोरोना संक्रमण फैलियो । प्रदेशमा दिनमा सयौं संक्रिमित थपिँदै गए।
जेठ ४ गते लुम्बिनी प्रदशमै पहिलो संक्रमितको मृत्यु भएको थियो । बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका २५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी भएको थियो। त्यसपछि लगातार जसो मृत्युका खबरहरु सार्वजनिक भइरहे। असार महिनामा लकडाउन केही खुकुलो भएको थियो । त्यतिबेलासम्म बाहिरबाट आएका मानिसमा मात्र कोरोना संक्रमण देखीएको थियो। संक्रमण दरमा पनि कमि आएको थियो ।
साउनको अन्तिम हप्ता कोरोना संक्रमण समुदाय तहमै देखियो। जताततै फैलियो। दिन प्रतिदिन संक्रमितहरु थपिँदै गए। असोज र कात्र्तिकमा संक्रमण दर ह्वात्तै बढ्यो। कात्र्तिकको पहिलो हप्ता मात्र लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या झण्डै ५ हजार थियो । यति बेला दैनिक ४ सयको हाराहारीमा संक्रमित थपिने गरेका थिए।
लकडाउनले व्यपार व्यवसाय ठप्प भएपछि सबै क्षेत्र प्रभावित भएको थियो । संक्रमण बढेपनि कात्र्तिक महिनाबाट लकडाउन खुकुलो भयो । लकडाउनसँग जुधेरै अघि बढ्ने भनेर व्यवपार व्यवसायहरु सञ्चालनमा आए। पहिले संक्रमितको सम्पर्कमा आएका सबैजसोको पिसिआर परिक्षण हुने गरेपछि पछि लक्षण देखिएका व्यक्तीमा मात्र पिसिआर परिक्षण गर्न थालियो। त्यसले दैनिक रुपमा कोरोना संक्रमणको पुष्टी हुने दरमा कमि आयो।
मंसिर पछि जनजिवन सामान्य तर्फ हुन थाल्यो। सार्वजनिक यातायातहरु चल्न थाले, विद्यालयहरु पनि सुचारु भए। भेला गोष्टी सभाहरु हुन थाले । कोरोन संक्रमणबाट मृत्यु दरमा पनि कमी आएको थियो ।
तर २०७७ साल सकिँदै गर्दा कोरोना संक्रमणले फेरी देश हल्लाएको छ। फेरी संक्रमण दर बढेको छ । मृत्युका घट्ना पनि पहिले जस्तै बाहिर आइरहेका छन्। सोमबार मात्र लुम्बिनी प्रदेशमा ९७ जना संक्रमित थपिएका छन्। ३ जनाको एउटै अस्पतालमा मृत्यु भएको छ। कोरोना संक्रमणको त्रास फेरी बढेको छ। हाल सम्म प्रदेशमा कोरोना संक्रमणबाट २८ हजार बढी संक्रमित भएका छन्। त्यस मध्ये सोमबार बेलुका सम्म ४ सय २० जनाको मृत्यु भएको छ। अहिले मात्र ४ सय ५० जना आइसोलेसनमा रहेका छन्।
पायो प्रदेशले नाम र राजधानी
प्रदेश सरकार स्थापना भएको साढे २ वर्ष हुँदा पनि नाम र राजधानी टुंगो लगाउन नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको थियो । असोज १६ गते एकाएक प्रदेश सभामा राजधानी र नामाकरणको प्रस्ताव पेश भयो। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केशीले प्रदेशको नाम लुम्बिनी राख्ने र दाङको देउखुरीलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए।
नामको विषयमा मतभेद नभएपनि राजधानीको विषयलाई लिएर आन्दोलन भयो । सडक र सदन दुबै ताते । यहाँका व्यवसायीक संघ संस्था, विपक्षी नेपाली कांग्रेसले बुटवलबाट राजधानी सार्न नहुने भन्दै आन्दोलन गरे।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सस्थागत रुपमा विरोध नगरेपनि पार्टी निकट जनप्रतिनिधी र व्यवसायीहरु आन्दोलनमा उत्रीएका थिए। दाङलाई राजधानी बनाउने प्रस्ताव पारित हुने भएपछि नेकपा निकट ठूलो संख्याका व्यवसायीहरुले पार्टी त्यागेको घोषणा गरेका थिए। तर पछि भने उनीहरु पार्टीमै आबद्ध भए।
राजधानी सार्ने प्रस्तावको विरोधमा सदनमा पनि तनाव भयो । नेपाली कांग्रेसका तीन जना सांसदले कुर्शी नै तोडफोड गरे। आन्दोलनकै क्रममा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा बुटवलको राजमार्ग चौराहमा ढुंगा प्रहार भयो । असोज २० गते प्रदेशको नाम लुम्बिनी राख्ने र राप्ती उपत्यका देउखुरीलाई राजधानी बनाउने प्रस्तावल प्रदेश सभाबाट पारीत भयो । यसरी प्रदेश सरकार गठन भएको झण्डै डेढ बर्षपछि प्रदेशले नाम र राजधानी पाएको थियो।
केन्द्रको राजनीतिको असर प्रदेशमा
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मुलुकको त्यसको पक्ष र विपक्षमा राजनीति कित्ताकाट भयो। सत्तारुढ नेकपामा प्रचण्ड र माधव नेपाल पक्ष विघटनको विरुद्धमा सडकमै आयो। कांग्रेस लगायतका अन्य विपक्षी दलले पनि विरोध गरे। उता विघटनको पक्षमा केपी ओली पक्षले पनि सडक प्रदर्शन गर्यो। बुटवलमा पनि दुबै पक्षका प्रदर्शन भए। माग १५ गते प्रतिनिधि सभा विघटन विरुद्धको सभामा अस्पताललाइनमा माधव नेपाल र पुष्पकमल दाहाल जनप्रदर्शन सहित सम्बोधन गरे।
प्रदेशका अरु जिल्लामा पनि प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा प्रदर्शन भए।
त्यस्तै फागुन १ गते ओली पक्षले पनि बुटवलमा शक्ती प्रदर्शन गर्यो। सिद्धेश्वर मैदानमा विशाल सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए। फागुन १३ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुन स्थापना भयो ।
फागनु २३ गते सर्वोच्च अदालतको अर्को फैसलाबाट सत्तारुढ नेकपाको एकता खारेज भइ एमाले र माओवादी केन्द्र ब्युँतिए। दुई पार्टी ब्युँतिएपछि लुम्बिनी प्रदेशमा सत्ता समिकरणको खेल पनि सुरु भएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको सरकार ढाल्न हस्ताक्षर संकलन पनि गरेको छ ।
तर जनता समाजबादी पार्टी दुइ कित्तामा बाँडीदा सरकार ढाल्ने प्रक्रिया सफल हुन सकेको छैन। माओवादी केन्द्रका संसदीय दलका नेता तथा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशीले छिट्टै लुम्बिनी प्रदेशको सरकार परिवर्तन हुने दाबी गरेका छन्।
विपतले आपत
लुम्बिनी प्रदशमा यस वर्ष पनि विभिन्न विपतका घट्नाहरु सार्वजनिक भए। साउन १५ गते राती पहिरोले पुर्दा गुल्मीको रुरु गाउँपालिका ५ आँपटारीमा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । गुल्मीकै इश्मामा पहिरोमा दुइ जनाको ज्यान गएको थियो ।
उता पाल्पाको तान्सेन हार्थोक सडकमा पहिरोले गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो । साउन, भदौ, असोजमा बाढी पहिरोले प्रदेशका ठाउँ ठाउँमा क्षतिका खबर आएका थिए। पहिरोले गर्दा सिद्धार्थ राजमार्गको शिद्धबाबा, दोभान, झुम्सा, गौडेपुल लगायतका ठाउँमा पहिरो जाँदा पटक पटक सडक अवरुद्ध भए। विभिन्न ठाउँमा गएको पहिरोले थुप्रै घर परिवार विस्थापित भए।
अपराधिक घट्ना उस्तै
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवामा जेठ २६ गते राती एकै ठाउँमा ५ जनाको हत्या भयो । स्थानिय कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत कामदारको हत्या भएको थियो। हत्याको आरोपमा सुर्खेतका झसेन्द्र सिञ्जाली पक्राउ परेका थिए।
रुपन्देहीकै देबदह नगरपालिकामा अंगिरा पासीको बलात्कार पछिको हत्या काण्ड पनि राष्ट्रिय रुपमा ध्यान खिच्यो । जेठ ९ गते जबरजस्ती करणी भएको अवस्थामा स्थानियले फेला पारेका थिए। आफूलाई जबरजस्ती गरेको केटालाई उनको जिम्मा लगाइएको थियो । केटाको परिवारले अछुत जातीलाई विहे गरेको भनेर उनलाई स्वीकारेको थिएन। पछि रोहिणी नदिको किनारमा अंगिराको सव झुण्डीएको अवस्थामा फेला परेको थियो । अंगिराको परिवारले हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको थियो। यस्तै विभिन्न जिल्लामा हत्याका घट्नाहरु भए।
पर्यटनमा पलाएको आशा फेरि म¥यो
लामो लकडाउनले लुम्बिनी प्रदेशका पर्यटकिय स्थलहरु पनि सुनसान भए। कात्र्तिक पछि लकडाउन खुकुलो भएपछि बुद्धस्थल लुम्बिनी लगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थाल्यो । तर व्यवसायीलाई राहत पुग्ने गरी बास बस्ने पर्यटक भने आएनन्। भारतीय र आन्तरिक पर्यटक आएपनि लुम्बिनी बास बस्ने गरी आएनन्।
यस्तै पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी, लगयतका स्थानमा लकडाउन खुकुलो भएपछि चहल पहल बढेको थियो । केही पर्यटकिय पूर्वाधारका काम पनि सुरु भएका छन् । बुटवलमा पर्यटकलाई आकर्षण गर्न नुवाकोट र बसन्तपुर सम्म जाने छुट्टा छुट्टै केवल कार निर्माणको काम पनि सुरु भएको छ। भैरहवा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालन हुने भनिएपनि कोरोनाका कारण चिनबाट प्राविधिक जनसक्ती नआउँदा ढिलाई भएको छ ।
थलिएको पर्यटन क्षेत्रले बामे सर्न थाले पनि तर केही हप्ता यता पुन फैलिएको कोरोना संक्रमणले निराश बनाएको छ।