काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै शैया भएका मेडिकल कलेज र ठूला अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने बताएका छन्। सोमबार दिउसो देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकारले पनि आफ्नो प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा संचालन गर्ने बताए।
सम्बोधनको क्रममा उनले अव सरकारी र निजी सबै अस्पतालले दैनिक रुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेका शैयाको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने उल्लेख गरे । “सबै सरकारी तथा निजी अस्पतालले आफूसँग खाली भएका तथा प्रयोग भएका बेडको दैनिक अध्यावधिक गर्ने र त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने छ,” ओलीले भने, “नपठाउनेलाई कारवाही हुने छ ।”
ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए ।नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए । कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।