बुटवल–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विकास र सहकार्यका लागि बिआरआई सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनको छेन्दु पुगेका छन् ।
सम्मेलनको उद्घाटन समारोहको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नयाँ उचाईमा पुगेको बताएका छन् ।
उनले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए ।
नेपाल र चीन बीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास उनले व्यक्त गरे ।
‘दुई मुलुकबीच भाइ–भाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौं–उनले भने–हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।’
उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको बिआरआई अवधारणाप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बिआरआई महत्वपूर्ण रहेको बताए ।
सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भव स्थल लुम्बिनी भ्रमणको लागि अनुरोध गरे ।
सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए । सिचुवान र प्रदेश ५ बीच तीन महिना अघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।