बुटवल । प्रसंग ०७६ जेठको हो । लुम्बिनी प्रदेशमा कोरोना महामारीको पहिलो लहरसँगै कपिलवस्तुका सीमा नाकामार्फत भारतबाट स्वदेश फर्किनेको भिड थियो । भारतको लकडाउन छिचोल्दै सीमासम्म आइपुगेका स्वदेशी नागरिकहरुले संक्रमण ल्याउने प्रवल संभावना थियो भने जिल्लाका सबै स्थानीय सरकारको आंकलन पनि त्यस्तै थियोे । त्यसैले स्थानीय सरकारहरुले त्यसरी फर्किएका व्यक्तिहरुले क्वारेन्टाइन बस्नुपर्नेदेखी महामारी नियन्त्रणका लागि अन्य तयारीहरु सक्रियतापुर्वक अघि बढाए ।
भारतबाट सीमानाका हुँदै आएका, अन्य मुलुकबाट फर्किएका र स्वदेशकै पनि अन्य जिल्लाबाट गाउँ फिरेकाहरु सिधैं घर जान पाउँदैनथे, स्थानीय सरकारले तयार पारेका क्वारेन्टिनमा कम्तिमा १४ दिन बस्नैपथ्र्यो । त्यसपछि पीसीआर परिक्षणमा नेगेटिभ आएपछि मात्रै घर जान पाउँथे । सीमानाकाबाट क्वारेन्टिनसम्म ल्याउन जिल्ला प्रशासन र स्थानीय सरकारले समन्वय एवं तालमेल मिलाएका थिए ।
भारतीय सिमासँग जोडिएका विजयजगर गाउँपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकासहित जिल्लाका १० वटै स्थानीय सरकारले १० हजार शय्या भएका एक सय ९ वटा क्वारेन्टिन बनाएका थिए । जेठसम्ममा गाउँ फिरेका ९ हजार जनालाई ती क्वारेन्टिनमा राखेर घर पठाइएको थियो ।
सीमासँग जोडिएकामध्ये सबैभन्दा ठूलो विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरको भनाईमा त्यतिबेला स्थानीय सरकारले बनाएका क्वारेन्टिनहरुले संक्रमणलाई समूदायमा जानबाट रोक्न महत्वपूर्ण भूमिका खेले । थापाको गाउँपालिकामा घरमै क्वारेन्टिन बसेका व्यक्तिहरुको घरमा रातो चिन्ह लगाइएको थियो ताकि उनीहरुको नियमित स्वास्थ्य निरिक्षण गर्न सहज होस् । घरमै रहेका संक्रमितहरुको निरिक्षण गर्न गाउँपालिकाले ६७ जना स्वयंमसेविका खटाएको थियो । ‘त्यतिबेला क्वारेन्टिनमा केही समस्याहरु थिए । तर, आज हेर्दा त्यो प्रभावकारी रहेछ भन्ने लाग्छ,’ थापाले भने, ‘संक्रमणलाई समूदायमा जान नदिनु नै ठूलो कुरा थियो ।’
विजयनगरले जस्तै लुम्बिनी प्रदेशका सबै स्थानीय सरकारले संघीय मन्त्रिपरिषद्ले जारी गरेको क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड–२०७६ अनुसार क्वारेन्टिन तयार गरेका थिए । गएको जेठमा प्रदेशका १२ वटा जिल्लामा ८ सय ४१ वटा क्वारेन्टिन सञ्चालनमा थिए । विद्यालय, सामुदायिक भवन र अतिथि गृहमा समेत बनाइएका यस्ता क्वारेन्टिनमा १९ हजार जनालाई राखिएको थियो (हेर्नुहोस् तालिका) । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकका अनुसार सीमामा परिक्षण हुनु, क्वारेन्टिनमा राखेर मात्रै घर पठाइनुले संक्रमणको पहिलो लहरमा महामारी छिट्टै ओरालो लागेको हो ।
संक्रमणको पहिलो लहर जसरी आएको थियो, त्यसैगरी दोस्रो लहर पनि आयो । माघ अन्तिम सातातिर भारतमा संक्रमितहरु ह्वात्तै बढेपछि सीमानाका हुँदै स्वदेशीहरु फिर्ने क्रम बढ्यो । तर, यसपटक उनीहरुका लागि न क्वारेन्टिन बनाइएको थियो, न त सीमानाकामा कुनै स्वास्थ्य परीक्षणको व्यवस्था नै । माघदेखि नै कृष्णनगर नाका, चौराहा र मर्यादपुर नाका हुँदै स्वदेश फिरेका हजारौं नागरिक निर्वाध रुपमा गाउँ प्रवेश गरिसकेका थिए । प्रदेशका अन्य सबै स्थानीय सरकारको हालत पनि उस्तै थियो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले दिएको तथ्याङ्कअनुसार पुस मसान्तअगावै रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाहेक प्रदेशका अन्य कुनै पनि स्थानीय सरकारसँग क्वारेन्टिन थिएनन् । बुटवलमा १० शय्याको एउटा क्वारेण्टिन सञ्चालन भएपनि त्यहाँ एक जनालाई पनि राखिएको थिएन ।
अघिल्लो वर्ष सञ्चालन गरिएका त्यति धेरै क्वारेन्टिन दोस्रो लहरको बेला किन बन्द थिए ? गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘अघिल्लोपटक क्वारेन्टिन सञ्चालनमा भएको खर्च स्थानीय सरकारले धान्नसक्ने किसिमको थिएन । कति गाउँपालिकाले त्यसको शोधभर्ना गर्न अझै पाएका छैनन् । अहिले फेरि त्यसैगरि क्वारेन्टिन सञ्चालन गर्न सकिदैनथ्यो ।’ उनका अनुसार त्यसबाहेक जनशक्तिको अभाव र अघिल्लो पटकको महामारीमा जस्तो माथिल्ला सरकारले दोस्रो लहरका लागि मार्गदर्शन गर्न नसक्नुले क्वारेन्टिन सञ्चालन हुन पाएनन् । ‘जतिबेला रोक्न सकिन्थ्यो, त्यतिबेला बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्न नसक्दा महामारी छिटो फैलिएको हो । यसमा हामी चुकेका हौं । तर, अब भाइरस गाउँ–गाउँ पुगिसकेको छ । अब क्वारेन्टिनको बहस निरर्थक बनेको छ,’ श्रेष्ठले भने ।
सीमामा नाममात्रैका हेल्थडेस्क
भारतमा माघ अन्तिम सातातिरबाट दोस्रो लहर सुरु भइसकेको थियो । लुम्बिनी प्रदेशका सीमा नाकामा भने चैत १२ गतेबाट मात्रै ‘हेल्थडेस्क’ राखेर आउने÷जानेहरुको ‘स्क्रिनिङ’ गर्न सुरु गरियो । त्यतिन्जेल भारतबाट निर्वाध आवागमन भइरहेको थियो ।
प्रदेश सरकारको क्षेत्राधिकारमा रहेको यो कामबारे उसलाई थाहा नभएको होइन । प्रदेश स्वास्थ्य मन्त्रालयले ‘भारतसँग जोडिएका कम्तिमा दशवटा नाका खोलेर त्यहाँ हेल्थ डेस्क स्थापना गर्ने र भारतबाट आउने नागरिकलाई यसअघि जस्तै स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनमा अनिवार्य रुपमा राख्नुपर्ने’ निर्णय गर्दै फागुुनमा नै प्रदेशमा कोरोना महामारीसँग जुध्न बनाइएको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई पत्र पठाएको थियो । तर, सीसीएमसीको बैठकै बसेन ।
यता सीमानाकामा स्क्रिनिङको काम भने निकै ढिला मात्रै सुरु भयो । चैत ११ गतेदेखी प्रदेशका विभिन्न नाकाहरुबाट एक लाख ५० हजार जनाको स्क्रिनिङ गरिएको छ तर उनीहरुमध्ये जम्मा तीन हजार तीन सय ७३ जनाको मात्र एन्टिजेन परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये १० प्रतिशतलाई पोजिटिभ देखिएको छ ।
यसरी निकै ढिलो गरी सुरु गरिएको स्क्रिनिङप्रति जनस्वास्थ्यविद्हरु नै सन्तुष्ट छैनन् । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले नाकामा गरिएका स्क्रिनिङले संक्रमण रोक्न ठूलो भूमिका खेल्न नसकेको बताउँछन् । उनले स्क्रिनिङ गरिएकामध्ये निकै थोरैको मात्र एण्टिजेन परिक्षण गरिएको र तापक्रम नापकै भरमा सिधै घर पठाइएकाले प्रभावकारी हुन नसकेको बताए ।
बैशाखको पहिलो हप्ता प्रदेशको स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएका पूर्व स्वास्थ्यमन्त्री सुदर्शन बरालको भनाईमा सीसीएमसीको बैठक निकै पहिले बस्नुपथ्र्यो । ‘सीमा नाकामा प्रभावकारी ढंगले नेपाल भित्रने नागरिकहरुको ‘स्क्रिनिङ’ गरेर आवश्यक परेकालाई क्वारेण्टाइनमा राख्न सक्ने गरी व्यवस्था मिलाउनु पथ्र्यो । जिल्ला र स्थानीय तहलाई सक्रिय बनाइराख्नुपथ्र्यो’, बरालले भने ।
त्यसो त २०७६ चैत २१ गते मुख्यमन्त्री अध्यक्ष रहने गरी गठन भएको प्रदेशको सीसीएमसी संक्रमणको पहिलो लहरमा जति सक्रिय रह्यो, दोस्रो लहरमा त्यति भएन । दोस्रो लहर फैलनुभन्दा अगाडि नै संक्रमणलाई सीमामै रोक्नका लागि सीसीएमसीले विज्ञको सुझावअनुसार ठूला निर्णय लिन नसकेर संघीय सरकारको निर्णय ताकेर बसेका कारण सक्रियतामा कमी आएको हो । सीसीएमसीका सदस्य सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव डा. खगेन्द्र संग्रौलाले भने, ‘माथि केन्द्रको निर्णयअनुसार प्रदेशले योेजनाहरु बनाउनुपर्ने भएकाले त्यहाँको निर्णय कुर्नुपर्ने थियो, त्यहाँ बस्नासाथ प्रदेशको सीसीएमसीको बैठक पनि बसेको छ ।’
शून्य कन्ट्याक्ट ट्रेसिङ
रुपन्देहीको सियारी–३ का २९ बर्षीय मनोज सुवेदीलाई बैशाख १८ गतेदेखि ज्वरो आयो । स्वाब परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भयो । उनी होम आइसोलेसनमा बसे । त्यसको केही दिनपछि उनकी श्रीमतीको ज्यान दुख्न थाल्यो, ज्वरो पनि आयो । तर, उनी परिक्षण गराउन गईनन् । घरमा रहेका अन्य पाँच जना सदस्य पनि परीक्षण गराउन गएनन् । घरमा लक्षणसहितका संक्रमित भएपनि घरका सदस्यहरु समाजमा उत्तिकै घुलमिल भइरहेका थिए । सबैभन्दा पहिले संक्रमण पुष्टि भएका २९ बर्षीय मनोजको जेठ ३ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयुमा उपचारकै क्रममा ज्यान गयो । त्यतीञ्जेलसम्म पनि घरका अन्य सदस्यहरुको पीसीआर परिक्षण भएन । न त परिक्षण गर्न नै उनीहरु गए ।
कपिलवस्तुका नगरपालिका–६ का मानबहादुर पुन दैनिक ज्यालादारी मजदुर हुन् । उनी दैनिक निर्माणजन्य कामका लागि रुपन्देहीसम्म आइपुग्छन् । बैशाख २६ गते कामबाट फर्केपछि उनलाई ज्वरो आयो । उनले नजिकैको मेडिकलमा गएर स्वास्थ्य जाँच गराए । मेडिकलले टाइफाइड भएको भन्दै औषधी चलाउन भन्यो । पीसीआर परिक्षणलाई भुलेर उनी औषधी खाएरै काममा गइरहेका छन् । ‘घरमा बुढीलाई पनि ज्वरो आइरहेको छ । साँझ छिट्टै फर्कनुपर्ने छ,’ घर निर्माणका लागि रुपन्देहीको सैनामैना आएका उनले भने,‘कहाँ गएर परीक्षण गर्ने भन्ने पनि थाहा छैन, विहान काममा आउनैपर्यो ।’
सैनामैना–१ का ४३ बर्षीय रमेशकुमार श्रेष्ठले लगातार १० दिनदेखी ज्वरो आएपछि बैशाख १० गते पीसीआर परिक्षण गराए । त्यसको सात दिनपछि उनी निको भए तर परिक्षणको रिपोर्ट त्यतिखेरसम्म पनि आएन । निको भएको अर्को हप्ता बल्ल पोजिटिभ भएको रिपोर्ट आयो । ‘मलाई केही समस्या देखिएको भए, नतिजा कुर्दा कुर्दा अस्पताल भर्ना नै हुन नपाउने रहेछु,’ श्रेष्ठले भने ।
१५ दिनदेखि दैनिक करिब १७ सय जना कोरोना संक्रमित थपिइरहेको लुम्बिनी प्रदेशमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र कोरोना परिक्षणमा निकै हेलचक्राई भएको माथिका तथ्यले नै प्रष्ट पार्छ । रुपन्देहीको निकै प्रभावित स्थानीय तहमध्येको एक सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की भन्छन्, ‘संक्रमण यति फैलियो कि कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव नै भएन ।’ त्यसरी सम्भव नभएपनि नगरपालिकाले सूचना जारी गरेर लक्षण देखिएकाहरुलाई परीक्षणको लागि आह्वान गर्यो । तर, पुरै नगरपालिकामा त्यसरी परिक्षण गर्न जम्मा पाँच सय जना व्यक्ति मात्रै आए ।
त्यसो त लक्षण देखिएका व्यक्ति आफै अस्पताल गएर परिक्षण गराएबेगर अहिले समूदायमा पुगेर कोरोना परिक्षण गरिएको छैन । स्थानीय तह र स्वास्थ्य कार्यालयले समुदायमा पुगेर शंका लागेका व्यक्तिको स्वाब संकलन गरेका छैनन् जसले गर्दा कोरोना परीक्षणमा कमी आएको हो । बैशाख अन्तिम सातामा औषत दैनिक २५ सय जनाको स्वाब संकलन भएको थियो तर जेठ पहिलो साता आउँदा औषत १५ सयमा पुगेको छ । यसरी परीक्षण नगराएका कारण प्रदेशमा संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । तर, गाउँगाउँको अवस्था भने स्वास्थ्य मन्त्रालयले जारी गर्ने दैनिक तथ्याङ्कभन्दा फरक छ ।
आकस्मिक अवस्था, अन्य जटिल रोगका बिरामी र घरमा मानिसको मृत्यु भएको अवस्थामाबाहेक परिक्षणमा स्थानीय सरकारले ध्यान दिएका छैनन् । यता चिकित्सक भने कोरोनाले समूदायमा कुन गति छोपिरहेको छ भन्ने थाहा नहुँदासम्म संक्रमण नियन्त्रणमा निकै चुनौती हुने बताउँछन् । उनीहरुका अनुसार कन्ट्याक्ट ट्रेसिङ नगर्दासम्म त्यसो गर्न सम्भव छैन । ‘समुदायमा संक्रमणको वास्तविक चित्र थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ निकै अनिवार्य छ,’ भेरी अस्पतालका डा. राजन पाण्डेले भने ।
महामारीको रापमा फसेको रुपन्देहीमा जेठको पहिलो साता आइपुग्दा पीसीआर परिक्षण आधा घटेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङ्कअनुसार बैशाख अन्तिम साता दैनिक औषत १२ सय जनाको कोरोना परिक्षण भइरहेको थियो । तर, त्यो संख्या जेठ पहिलो सातामा आइपुग्दा दैनिक औषत ६ सयमा झरेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन नभएका कारण परिक्षणमा कमी आएको हो ।
संक्रमित कम भएका केही स्थानीय तहमा परिक्षणका लागि एन्टिजेन किट नभएकाले परिक्षण रोक्नुपरेको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा एन्टिजेन किट सकिएको एक हप्ता वितिसकेको छ । रुपन्देही दक्षिणका रोहिणी गाउँपालिका, मर्चवार क्षेत्र, लुम्बिनी सांस्कृतिक नगरपालिकामा दोस्रो लहर सुरु भएदेखि नै स्वाब संकलन रोकिएको छ । महामारीको अघिल्लो लहरमा स्वास्थ्य कार्यालयको सहयोगमा स्थानीय सरकारले कन्ट्याक्ट ट्रेसिङको काम गरेका थिए । तर, यसपटक त्यसो भएन ।
गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठको भनाईमा स्थानीय सरकारले आफ्नो ध्यान स्वाब परिक्षणबाट संक्रमितको ज्यान जोगाउनतिर मोड्नुपर्ने बाध्यता भएकाले पनि कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी नभएको हो । ‘एउटा जिल्लामा सयौंको संख्यामा संक्रमित भेटिएका छन् । र, लक्षण देखिदामात्र परिक्षण गर्ने परिपाटीले परिक्षण गरेकामध्ये धेरैलाई अस्पताल आवश्यक छ । त्यसैले उनीहरुलाई बेड र अक्सिजनको व्यवस्थापनमा नै स्थानीय सरकार लाग्नुपरेको छ,’ श्रेष्ठले भने, ‘कति स्थानीय सरकारलाई अस्पताल बनाउनुपरेको छ, कतिले अक्सिजन प्लान्ट बनाउनुपरेको छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापालाई पनि त्यस्तै लाग्छ । उनी भन्छिन्,‘संक्रमितको अवस्था यति भयावह भयो कि हामीले लक्षण नदेखिएकाहरुको परिक्षण गर्ने र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने मौका नै पाएनौं । लक्षण देखिएकाहरुलाई अक्सिजनको जोहो गर्नमा नै व्यस्त भयौं ।’
तालिका: पहिलो र दोस्रो लहरमा क्वारेन्टिन र त्यहाँ बस्नेहरुको अवस्था
क्रस |
जिल्ला |
२०७७ जेठ ७ को अवस्था |
२०७७ पुस ७ को अवस्था |
२०७८ जेठ ७ को अवस्था |
|
|
क्वारेन्टिन संख्या |
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या |
क्वारेन्टिन संख्या |
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या |
क्वारेन्टिन संख्या |
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या |
१ |
बाँके |
३० |
१७०९ |
० |
० |
० |
० |
२ |
बर्दिया |
५७ |
१०६७ |
० |
० |
० |
० |
३ |
कपिलवस्तु |
१९९ |
८६८२ |
० |
० |
० |
० |
४ |
अर्घाखाँची |
५१ |
४८९ |
० |
० |
० |
० |
५ |
रुपन्देही |
६५ |
३९८२ |
१० |
० |
० |
० |
६ |
पाल्पा |
६८ |
११० |
० |
० |
० |
० |
७ |
गुल्मी |
९९ |
१०३ |
० |
० |
० |
० |
८ |
नवलपरासी |
१८ |
८३८ |
० |
० |
० |
० |
९ |
दाङ |
७७ |
१२३० |
० |
० |
० |
० |
१० |
रोल्पा |
७० |
३४५ |
० |
० |
० |
० |
११ |
रुकुम पूर्व |
९ |
३२ |
० |
० |
० |
० |
१२ |
प्यूठान |
९८ |
५५० |
० |
० |
० |
० |
|
जम्मा |
८४१ |
१९१३७ |
१० |
० |
० |
० |
स्रोत: स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश