बुटवल–तिनाउ पारीको बजार गुलजार हुँदा देखि नै बटौली बजारमा पहाडबाट घिउ आउने गर्दथ्यो । पहाडबाट आउनेहरुले घिउ ल्याएर यहाँका व्यापारीलाई बेच्ने र नुन, तेल लुगाफाटो किनेर लैजान्थे । बटौलीमा आएको घिउ भारत निकासी हुन्थ्यो । बनारसमा नेपालको घिउ नामी थियो । यो क्रम पछि सम्मै चल्यो । २०३५ सालतिर घिउलाई प्रशोधन गर्ने उद्योग बुटवलमा स्थापना भयो ।
वेदप्रकाश लोहनी (पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीका पिता) बुटवलमा आए । उनले घिउ प्रशोधनको उद्योग स्थापना गरे । बुटवलका व्यापारीहरु पहाडबाट आएको घिउ कराइमा तताएर सिधै प्याकिङ गरेर बेच्ने गर्दथे । उद्योग खुलेपछि घिउ जति प्रशोधित हुन कारखानामा जाने भयो । उद्योगी र व्यापारीबीच द्वन्द्व पैदा भयो ।
‘यहाँ व्यापारीको मात्र वातावरण थियो उद्योगीको थिएन । लोहनीले उद्योगमा पहिले रिफाइन गरौं र त्यसपछि तपाइँहरुले रिफाइन गर्नुहोस् भनेर व्यापारीसँग भन्नुभयो ।’–उद्योग संघका संस्थापक कोषाध्यक्ष तथा पूर्व उपाध्यक्ष कद्दरबहादुर रायमाझी सम्झन्छन्–‘हामीले कराइमा तताएरै बेच्छौ भन्दै उहाँहरुले मान्नुभएन । त्यसपछि उद्योगी र व्यापारीको द्वन्द भयो । ’
बुटवलमा यो उद्योग हुनु हुँदैन पहाडबाट आएको घिउ सिधै भारत पठाउन पाउनुपर्छ भनेर व्यापारीहरुले विरोध गर्न थाले । आफूहरुलाई मर्का पर्यो भनेर व्यापारीहरुले त्यतिखेर जुलुस समेत निकाले । त्यो बेला व्यापारीहरुको संस्था बुटवल व्यापार संघ (हालको उद्योग वाणिज्य संघ) थियो । पछि सरकारबाट आदेश लिएर आएपछि घिउ प्रशोधन उद्योग सञ्चालनमा आयो । ‘उद्योगीहरुको संस्था थिएन । वेदप्रकाश लोहनीको पक्षमा बोलिदिने कोही पनि भएनन् । त्यसपछि उद्योगीहरुको संगठनको पनि आवश्यकता महसुस भयो’–संघका संस्थापक सदस्य तथा पूर्वमहासचिव राजेन्द्रसिंह गुरुङ भन्छन्–‘बुटवलमा केही उद्योगहरु भने स्थापना भइसकेको थिए, बुटवल औद्योगिक क्षेत्र पनि स्थापना भइसकेको थियो । उद्योगीहरुको पनि संगठन बनाऊँ भनेर एउटा सोँच आयो ।’
कद्दरबहादुर रायमाझी, राजेन्द्रसिंह गुरुङ, चन्द्रकुमार शाही, कालीप्रसाद चौधरी, चन्द्रमान श्रेष्ठलगायत सुरुमा ८–१० जना उद्योगी बसे । पहिलो बैठकमा यी सबै कुरा उठेपछि तदर्थ समिति बनाएर संघ दर्ता प्रक्रियामा जाने निर्णय भयो । बैठकपछि उनीहरुले रणबहादुर शाह (रुपन्देही उद्योग संघका संस्थापक अध्यक्ष) लाई भेटे ।
उनले भैरहवामा डिस्टिलरी चलाएका थिए । अर्को बैठकले रणबहादुर शाहको अध्यक्षतामा ९ जनाको एउटा तदर्थ समिति गठन गर्यो । जसमा वेदप्रकाश लोहनी महासचिव, कद्दरबहादुर रायमाझी कोषाध्यक्ष तथा राजेन्द्रसिंह गुरुङ, बलराम प्रधान, चन्द्रकुमार शाही, श्री बहादुर कार्कीलगायत सदस्य रहे । २०३६ सालमा उद्योग संघ दर्ता पनि भयो । संघ दर्ता गर्न सुरुमा निकै गाह्रो भएको कद्दरबहादुर रायमाझी सम्झन्छन् । ‘जिल्ला प्रशासनले हामीलाई फर्काइदिएपछि राजा विरेन्द्रकहाँ यो कुरा पेश गर्यौं । राजा विरेन्द्रले खोल्न दिनु भन्ने हुकुम दिएपछि २०३५ सालमा हामीले उद्योग संघ स्थापना गर्यौं’– उनले भने ।
संस्थापक अध्यक्ष रणबहादुर शाहपछि बलराम प्रधान, प्रधुम्नलाल श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, नारायणभक्त प्रधान, डम्बरदेब अर्याल, बेनुराम प्रधान, श्यामबहादुर पाठकले संघको नेतृत्व गरिसकेका छन् ।
महेन्द्रनारायण श्रेष्ठ, परमानन्द खरेल, शतिषचन्द्र कसौधन, एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, दिनेशराज रेग्मी र गणेशप्रसाद अधिकारीले संघको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । जारी २१ औं अधिवेसनबाट आगामी कार्याकालका लागी बाबुराम बोहोरा अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् ।