काठमाडौँ – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने चुनावका लागि आयोगले कात्तिक २१ गते मनोनयन गर्नुपर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता सहप्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २१ गते दिउसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ।
त्यस्तै २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरिएको छ।
आयोगले २४ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ।
मंसिर १४ गते प्रतिनिधिसभा सदस्य एक स्थानमा, प्रदेश सभा सदस्य तीन स्थानमा र स्थानीय तहका ४८ वटा पदमा चुनाव हुनेछ।
कहाँ कहाँ हुँदैछ उपचुनाव?
प्रतिनिधि सभा सदस्यतर्फ: कास्की–२
प्रदेश सभा सदस्यतर्फः भक्तपुर–१ अन्तरतगत प्रदेश सभा निर्वाचन क्षेत्र–१, बाग्लुङ्ग–२ अन्तरगतको प्रदेश सभा क्षेत्र–२ र
दाङ–३ अन्तरगतको प्रदेशसभा निर्वाचन क्षेत्र– २
स्थानीय तहतर्फः सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख, पाचँथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाहरूको अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका वडाहरुका वडा अध्यक्ष ४३ पदमा चुनाव हुनेछ।