यहीँ माघ १४ गते बुटवल १३ बेलबासमा संविधानमा ‘छुवाछुत तथा भेदभाव विरुद्धको हक’मा केन्द्रित रहेर जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ विषयमा व्यापक छलफल भयो । उक्त वडाको दलित समुदायबाट प्रतिनिधित्व गर्नु भएकी वडा सदस्य सरस्वती परियारको प्रस्तावमा सम्बन्धित वडाबाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा गोमा आचार्य, नारायणप्रसाद पुन, विष्णुकुमारी शर्मा, सरस्वती परियार, वेदप्रसद गैरे, राजेन्द्र गहतराज, लक्ष्मी पहाडी, मीना दर्जी, गंगा सुनार, मोहन गौडेल, विष्णुबहादुर रानालगायतले विभेद विरुद्ध आआफ्ना धारणा राखेका थिए ।
उक्त कार्यक्रममा झण्डै दुई सय दलित तथा गैर दलित समुदायका मानिस उपस्थिति थियो । यसमा दोहोरो संवाद भएको थियो । एकले अर्काका समस्या बुझ्न सजिलो भएको थियो । कार्यक्रममा श्रोत व्यक्तिको रुपमा अधिवक्ता हेमा न्यौपाने र बाबुराम पाण्डेले सहजीकरण गरेका थिए । संविधानको भाग ३ मौलिक हक र कर्तव्यको धारा २४ को उपधारा १ अन्तरगत रहेको छुवाछुत तथा भेदभाव विरुद्धको हकमा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय, शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत भेदभाव गरिने छैन भन्ने लेखिएको छ । कार्यक्रममा यही धाराको भावनामा टेकेर जातीय भेदभाव तथा छुवाछुत (कसुर ऐन) २०६८ को विषयमा बहस चलाइएको थियो ।
व्यक्तिगत स्वतन्त्रताको हवाला दिएर दलित समुदायलाई विभेद गरिरहने प्रवृत्ति हटाउनका लागि यो कार्यक्रमले राम्रो प्रभाव पार्यो ।
नेपालको संविधान २०४७ मा सार्वजनिक स्थानमा मात्र छुवाछुत गर्न नपाइने भनेको छ । यसले घरमा वा निजी क्षेत्रमा हुने विभेदपरक व्यवहार गर्ने विषयमा संबोधन गरेको थिएन । यसलाई संबोधन गर्नका लागि नेपालको संविधान २०७२ को छुवाछ्त तथा भेदभाव विरुद्धको हकमा निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनेको छ । यस धारालाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजायं ऐन २०६८ को दफा नम्बर १० मा कसैले जात वा जातिका आधारमा परिवारका कुनै सदस्य वहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गर्न वा गराउन हुँदैन भनेको छ । त्यसैले अब घरमा पनि निजी स्वतन्त्रताका सवालहरु उठाएर कसैले छोएको नखान पनि सकिन्छ भन्दै कुम मच्याउँदै हिंड्ने अधिकार छैन । अब यो विभेद निजी सार्वजनिक सबैतिरबाट लखेटिदैंछ ।
एकथरी व्यक्तिहरु अहिले पनि छुवाछुतलाई व्यक्तिगत स्वतन्त्रतासँग दाँजेर कसैले छोएको खान्न भनी घरभित्र आउन नदिनु उसको स्वतन्त्रताको कुरा हो भन्ने अर्थमा व्यापक मात्रामा प्रचार गर्छन् । सार्वजनिक स्थानमा त अलि अलि सुधार भयो तर निजगत क्षेत्रमा सुुधार भएको छैन । दलित समुदायका साथीहरुलाई चूल्होमै सँगै राखेर खाने काम अहिले पनि धेरै गैरदलितले गर्दैनन् । अब यसलाई समानताको हक अनुसार उपचार गर्नुपर्छ । अब कसैलाई घरमा पनि स्वतन्त्रताका कुरा उठाएर विभेद गर्नु हुँदैन । यसै विषयमा अधिवक्ता हेमा न्यौपाने भन्छिन् -“हाम्रो संविधान अनुसार समाजमा विभेद गर्ने स्वतन्त्रता कसैलाई पनि छैन । स्वतन्त्रता निरपेक्ष हुँदैन । स्वतन्त्रता समाज सापेक्ष हुन्छ ।”
विशेष गरी गैरदलित समुदायबाट “दलित” शब्द हटाउनु पर्ने भन्ने आवाज निरन्तर आई रह्यो । दलितहरुबाट “दलित” शब्द हैन, दलित शब्दलाई नराम्रो ठान्ने सोंच बदल भन्ने कुरा आइरह्यो । आखिर किन गैर दलित समुदायबाट दलित शब्दमाथि प्रहार भइरहन्छ ? यो विषय महत्वपूर्ण छ । यो मनोविज्ञान पनि डरलाग्दो छ । यस विषयमा संविधान सभाका सभासद विनोद पहाडी भन्छन्— ‘दलित भन्ने शब्द हाम्रो अभियानको फर्फराउँदो झण्डा हो । यो हाम्रो विभेद विरुद्धको आन्दोलनको प्रतीक हो । यो हाम्रो समानताको लागि शान्तिपूर्ण लडाईंको सशक्त ब्यानर हो । यो शब्द समानताको प्राप्तिसँगै आफै स्वतः हट्छ ।’
उनी अगाडि भन्छन्–‘दलित शब्द नराम्रो देख्ने समाजले सोंच बदल्न जरुरी छ । भोलि यो शब्द बदल्यौं र मानौं अर्को “हरिजन” शब्द राख्यौं भने पनि उक्त सुन्दर शब्दलाई हेर्ने सोंचमा परिवर्तन आउने छैन । उहाँहरुको दिमागबाट दलित भनेको नछुने जात हो भन्ने सोंच र त्यो सोंच अनुसार बनेको मानसिक धारणा, धारणा दिगो बनाउन सहयोग पु¥याउने बिम्ब पूरै हट्नु पर्छ । समानताको मनोविज्ञान बन्नु पर्छ । दलित शब्द हटाएर उक्त स्थानमा अर्को शब्द फर्दैमा गैर दलित समुदायमा सोंचमा परिवर्तन आउँदैन ।’
गैर दलितहरु आफ्नो छोरो वा छोरीले दलितसँग विवाह गरिहाल्यो भने घरमा बस्न नदिने बहिष्कार गर्ने प्रचलन छ । यस्तो अमानवीय र क्रूर प्रचलन हटाएर छोरी ज्वाईलाई घरमा बोलाएर सम्मान गर्न सक्ने वातावरण बनाउन कसरी सकिन्छ भन्दै प्रश्नहरु आइरहे । यस विषयमा अधिकार कर्मी तथा अधिवक्ता बाबुराम पाण्डे भन्छन्–“यो विषयमा हामी सबैमा मानवतावादी भावना हुनु पर्छ । संविधान ऐन कानुन बनाएर मात्र हुँदैन मन, वचन र कर्ममा नै परिवर्तन आउनु पर्छ । सबैले परिवर्तन हुन संकल्प गर्नुपर्छ । दलितलाई हेप्ने सामाजिक आडम्बर यति डरलाग्दो छ कि गैर दलितको छोरीले दलितको छोरासँग विवाह गरिन् भने उसको बाबुले समाजमा रहेको परम्परागत इज्जत र आडम्बर देखाउँदै सबै दाजुभाइका सामु मेरो एउटा अण्डा फुट्यो । ऊ मेरो लागि मरी भन्दै छोरी ज्वाईंलाई आफ्नो घरमा पस्न र बस्न नदिने स्वाङ्ग देखाउँछ । तर उक्त मान्छे भित्रभित्रै छोरीको विछोडबाट अत्यन्त मर्माहत भएको हुन्छ । उसको सम्झनाले अत्यन्त दुःखी हुन्छ । रुदै दुब्लाउँछ । यो परम्परागत सँस्कृतिले खडा गरेको विब्ल्याटो हो । यो जटिल मनोविज्ञान हो । चेतन मन र अवचेतना मनमा देखिने फरकपन हो ।’
कार्यक्रममा खास गरी सामाजिक साँस्कृतिक मामिलामा विवाह, पास्नी, व्रतबन्धलगायत अन्य पूजाआजाहरुमा टोलमा एक्लो महशुस हुनु पर्छ । सबै गैर दलितहरुलाई निमन्त्रणा आउँछ तर दलित भएकै आधारमा एक दुईघरमा निमन्त्रणा आउँदैन । समाजमा सधैभरि एक्लाउँछन् । यस्तो अवस्थामा मलाई किन बोलाइनस् भन्न पनि नहुने, सहभागी हुन पनि नपाइने । यो विषयले दलित समुदायमा हीनताबोध तथा अपमानबोध जगाएको छ । उनीहरुको आत्म सम्मानमा चोट पुगेको छ । उपस्थित हुन निषेध गर्ने, बहिष्कार गर्ने जस्तो काम भएको छ । यो कार्यक्रममा यस्तो कुसंस्कार हटाउन कसरी सकिन्छ भन्दै प्रश्नहरु आइरहे । यो विषयमा दलित आन्दोलनकी एक जना सशक्त अभियन्ता बुटवल १३ को वडा सदस्य सरस्वती परियार भन्छिन् —“यस्तो विषयमा हरेक टोलहरुमा सहभोज र सहकार्य लगायतका विभिन्न अन्तरघुलन कार्यक्रम राख्ने र घरघरमा परिवर्तन ल्याउन टोल समितिमार्फत जानुपर्छ ।
अहिले पनि मठ मन्दिरहरुमा दलितहरुको फूल प्रसाद चढ्दैन । नचिनेको अवस्थामा त चढ्ला तर चिनेको दलित व्यक्तिले चढाएको फुल प्रसाद पुजारीले हाँसेर ग्रहण गर्दैनन् । स्थानीय जनप्रतिनिधि, सभासद र निकै धनाढ्य दलितहरुलाई त कमसेकम अलि सम्मान गरिन्छ तर साधारण गरिब दलितहरुलाई सहज प्रवेश अहिले पनि छैन । दलितलाई मानसिक रुपमा उपेक्षा गर्नेहरुको अनुहार हेरेमा थाह लाग्छ । उनीहरुको हाउभाउ, कटाक्ष, भावभङगीमा आदिबाट प्रष्ट देखिन्छ कि पुजारीले दलितलाई मन्दिर प्रवेशमा अनिच्छा जाहेर गरिरहेको छ । तर कानुनका कारण डराई रहेको छ । कानुनको कारण डराउनु पनि एउटा उपलब्धि हो । बुटवल उपमहानगरपालिकाकी सदस्य विष्णुकुमारी शर्मा भन्छिन्—“यसबाट मुक्ति पाउन जागरण र अन्तरघुलन नै आवश्यक छ । मानिसलाई मानवताको शिक्षा दिएर जातीय संकीर्णता हटाउँदै दिल र दिमागलाई चौडा बनाएर मात्र समस्यामा सुधार आउँछ । यसको लागि वर्षको एक पटक काम गरेर हुँदैन । निरन्तर लागि रहनु पर्छ ।”
पहिलाको तुलनामा अहिले विभेद चर्को छैन । विभेद सामन्तवादमा हुन्छ तर औद्योगिक पूँजीवादमा हुँदैन । यसलाई पूँजी बजारले विस्तारै हटाउँछ । यो उद्योग बजार अर्थतन्त्रको कारण आफैमा कमजोर बन्दैछ । यो विस्तारै कमजोर बन्दै जान्छ । विशेषतः मूलतःयसलाई बजारले हटाउँछ । अनि संविधान र कानुनका प्रावधानले पनि हटाउन सहयोग गर्छ ।
समाजशास्त्री झपेन्द्र जिसी भन्छन्-“पसलहरु, होटल, रेष्टुरेन्टहरुमा जात हेरिदैन, पैसा हेरिन्छ । राज्य निर्माणको क्रमसँगै बनिरहेका सेना, प्रहरी, प्रशासनका कर्मचारी, अदालतका न्यायाधीश वकिलमा पनि सहकार्य र अन्तरघुलनका कारण यो विभेदको तुँवालो हट्दैछ । विद्यालय क्याम्पसका शिक्षकहरु र विद्यार्थीहरुमा आपसी अन्तरघुलन हुन्छ । उद्योग कारखानाका र विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा काम गर्ने मजदुरहरुमा पनि अन्तरघुलन हुन्छ । यातायातका साधनहरुमा पनि अन्तरघुलन हुन्छ । यसले विभेद हटाउँछ । उद्योग बजार अर्थतन्त्रको विकाससँगै यो क्रमशः हट्दै जान्छ ।”
कार्यक्रममा प्रमुख अतिथि गोमा आचार्यले भनिन्-“हामीले हाम्रै पालामा बुटवल उपमहानगरपालिकाबाट छुवाछुत तथा सबै प्रकारका विभेदहरु हटाउनु पर्छ । यसको लागि हामी संघर्षरत छौं । बुटवललाई विभेदरहित सहर बनाउन सबै जनाले आत्मसंकल्प गर्नुपर्छ ।”
अध्यक्ष नारायणप्रसाद पुनले थपे-“हामी विभेदका सीमा रखाहरु मेट्न र सबैलाई एउटै मूलधारमा आत्म सम्मानपूर्वक समेट्न भरमग्दूर प्रयाशरत छौं । विस्तारै यो कम पनि भएकै छ ।” सहभागी वडा सदस्य वेदप्रसाद गैरेले भने —“यो प्रथा ओह्रालो लागेको छ । अब ओह्रालो लागेको मृगलाई लखेट्न सामान्य बल भए पनि सकिएला । हामी आत्म संकल्पका साथ लाग्छौं ।” वडा सदस्य खुमानन्नद पौडेलले भने—“ हामी अलग अलग रुपमा एक्लाएक्लै कार्यक्रम गर्दा एकले अर्काका कुरा सुन्न पाएनाैं । यस्ता कार्यक्रमले दोहोरो संवाद भयो । दोहोरो संवादले हामीलाई सच्याउन सहयोग मिल्छ ।”
अन्त्यमा भूगोल तलमाथि हुन्छ तर मानिसलाई तलमाथि भन्न मिल्दैन । वस्तु सानो ठूलो हुन्छ मानिस सानो ठूलो हुँदैन । समानताको अनभूति नै समाजवाद हो । यस्तो समाजवाद हामीले हाम्रै मिहिनेत र पहलमा ल्याउन सक्छौं । त्यसैले हामी सबै विभेद विरुद्धको आन्दोलनमा लागौं ।
–समाजमा जातका आधारमा भइरहेका भेदभावलाई लुम्बिनी टाइम्सले विमर्शका रुपमा अगाडि सार्दै आएको छ । यसअघिका लेखहरुः
धर्मपरिवर्तनः हिन्दू वर्ण व्यवस्थाविरुद्ध भइरहेको एउटा चुपचाप आन्दोलन
डोरबहादुरका पानाबाटः ‘नेपालमा जात प्रथाले कसरी जरा गाड्यो ?’
दलित हत्या, हिंसाको पराकाष्ठा