वाग्मती : मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा रु ६ करोड ५७ लाखका लागतमा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ ।
पन्ध्र शैयाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिए ।
अस्पताल बनाउन स्थानीयवासी नरबहादुर स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाइले जानकारी दिए ।
अस्पताल नहुँदा उपचारका लागि हेटाैँडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले सुत्केरी भत्ताबापत रु पाँच हजार प्रदान गर्दै आएको छ ।
सङ्घीय सरकारले सुत्केरी भत्ताबापत रु दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर रु पाँच हजार कायम गरेको अध्यक्ष हुमागाइले जानकारी दिए । गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ । रासस