बुटवल–बुटवलको कोरोना अस्थायी अस्पतालमा २८ जना संक्रमित रहेका छन् । जसमध्ये रुपन्देहीका ७ र कपिलवस्तुका २१ जनालाई राखिएको छ ।
२ जिल्लाका संक्रमितहरुलाई बुटवल धागो कारखानामा भवनमा रहेको कोरोना अस्थायी अस्पतालमा राखिएको छ । रुपन्देही र कपिलवस्तुमा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेका छन् ।
कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा ३६ र आइसियुतर्फ थप ८ वटा बेड रहेका छन् । मंगलबार दिउसो रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना गरी १७ संक्रमित थपिएका छन् ।
थपिएका सबै बिरामी राख्न समस्या हुने कोरोना अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले बताए । ‘देखिएका नयाँ संक्रमित जति सबै बिरामी राख्न सम्भव छैन । भैरहवा तिरको अस्पताललाई पनि सुचारु गर्नुपर्ने हुन सक्छ–उनले भने ।
नयाँ संक्रमित १७ छन् भने अब कोरोना अस्पतालमा आइसोलेसन तर्फ ८ वटा बेड मात्र बाँकी छ । आइसियुमा अहिलेसम्म कसैलाई भर्ना गरिएको छैन । तर गम्भीर बिरामीलाई भर्ना गर्नुपर्ने हुँदा खाली राख्नुपर्ने हुन्छ ।
मंगलबार अपरान्हसम्म नयाँ संक्रमितलाई आइसोलेसनमा ल्याइएको छैन । भैरहवामा भिम अस्पतालमा कोरोना संक्रमण देखिएका विरामीलाई राख्न २२ वटा आइसोलेसन बेड रहेको छ । थप ५ वटा आइसियु छ ।
नयाँ संक्रमितलाई राख्नको लागि निर्देशन नआएको तर अनौपचारिक तयारी गरिएको भीम अस्पताल आइसोलेसनका चिकित्सक डा. सुमित प्रजापतिले बताए । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले धागो कारखानामा रहेको कोरोना अस्पतालमा छिट्टै सैया बढाएर २ सय पु¥याउने तयारी भइरहेको जानकारी दिए ।
कोरोना अस्पतालमा अहिले ४० जना जनशक्ति परिचालित छ । संक्रमित बढ्दै गए जनशक्ति पनि अभाव हुने कोरोना अस्पतालका कन्सल्टेण्ट डा सुदर्शन थापाले बताए ।